RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/११/१ गते
२९० पटक

लहान । मुसहर समुदायका बालबालिकालाई नियमित विद्यालयमा अध्ययन गराउन सहज गराउन विभिन्न शैक्षिक कार्यक्रमहरू आवश्यक रहेको बताइएको छ ।

तीन सयभन्दा बढी घरपरिवार रहेको लहान–१ र २ मा बसोबास गर्ने बालबालिकाहरू विद्यालयमा  नगएकाले विभिन्न शैक्षिक तथा जनचेतनामूलक कार्यक्रमहरूमा ध्यान दिन आवश्यक रहेको बताइएको हो ।

तिनीहरूको शिक्षाप्रति चासो जगाउन र रोजगारीको सुनिश्चितता हुने गरी तीनै तहको सरकारले संविधानमा रहेको शिक्षा, स्वास्थ्य, आवास र खाद्यान्नको व्यवस्था सम्बन्धी मौलिक हकहरू कार्यान्वयन हुनेगरी कार्यक्रम ल्याउनुपर्ने मानव अधिकारवादी अगुवा राजकुमार राउत बताउनुहुन्छ ।

‘‘दलित समुदायका पासवान(दुसाध), राम (चमार), मण्डल(खत्वे)हरुको शिक्षा र चेतनास्तर बढिरहेको छ, ९९ प्रतिशत मुसहर समुदाय सुकुम्वासी रहेकाले शिक्षाप्रति चासो लिन सक्दैनन् ।’’ अभियानकर्मी विनोद बिसुन्के बताउनुहुन्छ ।

स्थानीय शुकदेव सदायका अनुसार गरिबी र अभावमा जीवन बिताउँदै आइरहेको यस समुदायले भविष्यभन्दा पनि वर्तमानको आवश्यकता महसुस गर्ने भएकाले दैनिक छार्क तार्नकै लागि विद्यालयभन्दा कामलाई बढी महत्त्व दिने गर्दछन् ।

लहान–१ र २ नम्बर वडामा बालबालिका जुवातास खेल्ने, क्यारमबोर्डमा तासको पति राखेर खेल्ने, स्वास्थ्यलाई असर पार्ने गुट्का, मदिराको सेवन गर्ने जस्ता विकृतिको सिकार भइरहेको स्थानीय गेना सदायले बताउनुभयो ।

सिरहा जिल्लामा बसोबास गर्ने दुई लाख मुसहर समुदायको यस्तो समस्या भएको लहान–१ की दलित अभियानकर्मी सोनिया सदाय बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ ‘गाउँमै मुसहर बस्तीसँगै रहेको विद्यालयमा पाँच कक्षा, थोरै आठ सम्म पढ्छन् माध्यमिक र उच्च शिक्षा पढ्नेको सङ्ख्या अति नै न्यून छन् ।’

लहान–१ मा रहेको श्री जनता आधारभूत विद्यालयका प्रधानाध्यापक बद्री नारायण चौधरी भन्नुहुन्छ, ‘ छात्रवृत्ति र पाठ्यपुस्तक लिने बेलामा दुई चार दिन मात्रै आउँछन्, लहान नगरपालिकाको खाजा कार्यक्रम अन्तर्गत विद्यालयमा नै कक्षा ६ सम्म खाजा खुवाउन थालेपछि नियमित विद्यालय आउन थाले पनि पढाइप्रतिको चासो देखिएको छैन ।’

लहान नगरपालिकाको २४ वटै वडाहरूमा मुसहर समुदायको बसोबास रहेकाले यस समुदायलाई लक्षित गरी साँझ बिहान निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्न लागेको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी गराउनुभयो ।गोरखापत्र दैनिकबाट

 

प्रतिकृया दिनुहोस्