RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/१०/२३ गते
३०९ पटक

कपिलवस्तु  । बुद्धभूमि नगरपालिकाले थारू कला र संस्कृति जर्गेना गर्न सवा करोेड बढीको लगानीमा थारू संग्रहालय निर्माण सुरु गरेको छ। आदिवासी जनजाति थारूको कला, संस्कृति, भेषभूषा प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिका-४ को बुढ्ढीमा संग्रहालय निर्माण सुरु गरिएको मेयर केशवकुमार श्रेष्ठले बताए। बुद्धभूमि नगरपालिका-४ को हनुमानचोकमा आयोजित थारू संस्कृति संरक्षण केन्द्रको प्रथम साधारणसभा र अधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन्।

एक करोड ३२ लाखको लागतमा चालु आर्थिक वर्षभित्रै संग्रहालय निर्माण हुने मेयर श्रेष्ठले बताए। संग्रहालय किनारमै थारू होमस्टे समेत सञ्चालन गरिने उनले बताए। ‘थारू कला र संस्कृति जोगाउन कसरी काम गर्न सकिन्छ भन्नेतर्फ हामी अग्रसर भएका छौं’, उनले भने।

मेयर श्रेष्ठले थारू संस्कृति प्रोत्साहन गर्ने गरी आयआर्जनमूलक सीप विकास, पहिचान र रोजगार दिने अभियानमा आफूहरू लागेको बताए। उनले भने, ‘अहिले थारू समुदायले बनाएको कलात्मक ढकियाको माग अधिक भएकाले त्यसको समेत सीप विकासमा नगरपालिका लागेको छ। थारू समुदायकै प्रवद्र्धनका लागि बरकलपुर र बकुलीपुरमा थारू कोसेली घर निर्माण गरिएको र त्यहाँ होमस्टेसमेत सञ्चालन गरिने छ।’

मेयर श्रेष्ठले थारू कला र संस्कृतिको विकासमा थारू समुदाय नै सचेत भई एकबद्ध हुनुपर्ने बताए। उनले भने, ‘संस्कृति, रीतिरिवाज, खानपानलगायत छुट्टै पहिचान बाकेका थारूहरूको कला संरक्षण र संवद्र्धनमा नगरपालिका पहिल्यैदेखि लागिपरेको छ।’

सो अवसरमा नगरपालिकाले निकासा गरेको अढाई लाख रूपैयाँबाट खरिद गरिएका थारू सामग्री मेयर श्रेष्ठले केन्द्रका अध्यक्ष पवनकुमार चौधरीलाई हस्तान्तरण गरेका थिए। यस्तै केन्द्रले विगत एक महिनादेखि नगरपालिकामा रहेका थारू समुदायका घरघरमा गई संकलन गरेको थारू परम्परागत सामग्रीसमेत मेयर श्रेष्ठले चौधरीलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा थारू कल्याणकारी सभाका अध्यक्ष उमाशंकर चौधरी, कमला थारू, शिवानी थारू जहाहर थारू, वेदप्रकाश थारूले मन्तव्य दिएका थिए। कार्यक्रममा झर्रा, लाठी मयुर नाचहरू प्रदर्शन गरिएको थियो।

यसैगरी थारू संस्कृतिक संरक्षण केन्द्रको प्रथम साधारणसभा र अधिवेशनले पुनः पवनकुमार चौधरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा चन्द्रमान थारू, सचिवमा दिनेश चौधरी, सहसचिवमा शिव गुलाम चौधरी, कोषाध्यक्षमा शिव कुमारी थारू रहेका छन्।

यस्तै सदस्यहरूमा श्रीनिवास थारू, सन्तराम थारू, मनोजकुमार थारू, आशा थारू, राजेन्द्र थारू, चन्द्ररानी थारू, गौरीशंकर थारू र रिचा थारू रहेका छन्। सो अवसरमा अध्यक्ष पवनकुमार चौधरीले केन्द्रको संस्थागत विकास र थारू कला र संस्कृतिका साथै हकअधिकारका लागि आफू सदैव लागिपर्ने बताए। नागरिक दैनिकबाट

 

प्रतिकृया दिनुहोस्