RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/९/२३ गते
३०५ पटक

काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनमा अत्याधिक नाफा राखी कारोबार गरेकोप्रति सरोकारवालाले चासो देखाएका छन् । हवाई इन्धनतर्फ ४८.८१ रुपैया र बाह्यतर्फ ९९.५३ रुपैयाँ नाफा राखेर हवाई इन्धनको कारोबार गरिरहेको छ । हवाई इन्धनमा लिटरकै ९९।५३ रुपैयाँ नाफा इन्धनमा अत्यधिक नाफा राख्दा उपभोक्तालाई महँगो हवाई टिकटले नागरिकहरुले हैरानी भोग्नु परेको आर्थिक, सामाजिक तथा सांस्कृति अधिकार राष्ट्रिय सञ्जालको गम्भिर ध्यानार्कषण भएको जनाएको छ ।

नेपालको संविधानले उपभोक्ताको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा (३) उपदफा (१) मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने अधिकारको व्यवस्था गरेको छ ।
त्यसै गरी दफा (२)खण्ड (क) मा वस्तु वा सेवामा सहज पहुँचको अधिकार र खण्ड (ख) मा स्वच्छ प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय वस्तु वा सेवाको छनौट गर्न पाउने अधिकारको व्यवस्था गरेको छ ।

त्यसैगरी कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा (२) को उपदफा (१) मा सरकारले तोकेको मूल्य वा कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया २० प्रतिशत भन्दा बढी मुनाफा लिन नहुने व्यवस्था गरेको छ ।

तर, नेपाल आयल निगम आफैंले १४१ रुपैयाँ १९ पैसामा खरिद गरेको इन्धन आन्तरिक हवाई कम्पनीहरुलाई १९० रुपैयाँमा विक्री गरिरहेकोमा प्रतिलिटर ३४ दशमलव ६२ प्रतिशत नाफा लिई रहेको र त्यसै गरी ११७ रुपैयाँ ७१ पैसामा खरिद गरेको इन्धन अन्तराष्ट्रिय हवाई कम्पनीहरुलाई २१७ रुपैयाँ २४ पैसामा विक्रि गर्दा ८४ दशमलव ४७ प्रतिशत नाफा गरि विक्री गरिरहेको पाईएको सञ्जालका संयोजक श्यामलाल विश्वकर्माले बताउनुभयो ।

हवाई यातायातलाई विलासिताका साधनको रुपमा मात्र हेरिनु हुदैन । नेपाल भौगोलिक विकटताको देश जहाँ हुम्ला र जुम्लाबाट यातायातको विकल्पहरु नभएको विषयलाई पनि विर्सनु हुदैन । सञ्जालका संयोजक विश्वकर्माले भन्नुभयो, “नेपालका धेरै जसो सडकहरु निर्माणाधिन अवस्थामा रहेकाले नियमित हिड्डुल गर्न धेरै असहज भई रहेको विषय पनि यथावत नै रहेकाले कतिपय व्यक्तिको जीवन बचाउनका लागि वा अन्य विषेश परिस्थतीका लागि पनि हवाई माध्यम प्रयोग गर्नुपर्ने वाध्यता भई रहेका हुन्छन् । उक्त विषयलाई पनि मनन गरिनु पर्दछ ।”

हाल कायम रहेको हवाई पेट्रोलियम पदार्थमा रहेको अधिक नाफा लिने प्रवृतिको असर हरेक उपभोग्य सेवा र सामाग्रीको मूल्यमा परिरहेको छ । यसले प्रत्यक्ष रुपमा विशेष गरी आर्थिकरुपमा विपन्न तथा निम्न र मध्यमवर्गका उपभोक्ताको दैनिक जीवनयापन नकारात्मक असर पारिरहेको छ भने आम उपभोक्ता महंगीको मारमा परिरहेका छन् ।

यसले गर्दापनि नेपाल सरकारले अन्य पेट्रिलिम पदार्थमा दिई रहेको सम्पूर्ण सहुलियत हवाई इन्धनबाट मात्रै असुल गर्न खोजिरहेको जस्तो प्रवृत्ति प्रत्यक्ष रुपमा देखिन्छ । हवाई इन्धनमा चर्को मूल्य असुल गर्नुको सट्टा मूल्य समायोजन, सरकारलाई बुझाउने करको समीक्षा तथा उद्योगी तथा वितरक र ढुवानीमा रहेका मूल्यका छिद्रहरुको लागत मूल्यको न्यायिक आधारहरुको पूर्नसमीक्षा नगरी सिधै उपभोक्ताबाटै मूल्य असुल उपर गर्ने मनशाय र कार्यबाट सरकार उपभोक्तालाई महंगीको मारमा परेको अवस्थामा राहत दिनुको साटो पेट्रोलियम पदार्थ आयातकर्ताकोरुपमा मात्र भूमिका खेलेको देखिन्छ सञ्जालले औल्याएको छ ।

त्यसले उपभोक्ता मारमा परेको यस जटिल अवस्थामा नेपाल आयल निगमभित्रको आन्तरिक व्यवस्थापन चुस्त गर्ने, नेपाल सरकारलाई दिँदै आएको करको दरमा परिमार्जन गर्ने, निगमभित्र कर्मचारी तथा पदाधिकारीहरुलाई उपलव्ध गराइएको अतिरिक्त सेवा सुविधाको पुनः समीक्षा गर्नुपर्ने बताइएको छ ।

पेट्रोलियम पदार्थ वितरक तथा ढुवानीकर्ताका लागि तय गरिएको नाफा वा कमिसनको प्रतिशत कम गर्ने वा अन्य उपयुक्त विकल्पको खोजि गरी चर्कोरुपमा लिई रहेको मूल्य तत्काल संशोधन गरि न्यायोचित तथा सहुलियत दरमा पेट्रोलियम पदार्थको सहज उपलव्धताको व्यवस्था गरी उपभोक्तालाई राहत दिने व्यवस्था मिलाउन समग्र नागरिक समाजको तर्फबाट सञ्जालको अपिल छ ।

 

 

 

प्रतिकृया दिनुहोस्