RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/१०/१९ गते
१५९६ पटक

शुभ नारायण यादव
सप्तरी, माघ १९– सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –६ मा पर्ने कठौना बजारमा डोम समुदायलाई चिया किनेर खान पनि रोक लगाइएको छ ।

कठौना बजारमा विहान चिया खान जाँदा होटेल सञ्चालक विरेन्द्र साह, गणेश साह, बैजु साह, राजु साह, नारायण साह लगायतले चिया किन्न पनि नदिएको स्थानीय कपलेश्वर मरिक, जुगाई मरिक, प्रमेश्वर मरिक र डाकनेश्वरी नगरपालिकाका राजेन्द्र मरिकले बताएका छन् । होटवालाले पैसा तिर्छु भन्दा पनि तल्लो जातका मानिस भनेर आफूहरुलाई चिया नबेचिएको उनीहरुको भनाई छ ।

डोम उत्थान समिति सप्तरीका अध्यक्ष युक्तिलाल मरिकले देशमा गणतन्त्र स्थापना भएपनि छुवाछुत गरी डोम समुदायलाई चिया समेत खान नपाउने अवस्था कायमै रहनु राज्यकै लागि पनि लाजको विषय भएको बताउनुभयो ।

होटल सञ्चालकले चिया किनेर पनि खान नदिएपछि कठौना प्रहरी चौकीमा छुवाछुत सम्बन्धी निवेदन दर्ता गरेपनि अहिलेसम्म कार्वाही नभएको उहाँले बताउनुभयो । होटल सञ्चालकलाई कडा कारबाही गर्न डोम उत्थान समिति सप्तरीले माग गरेको छ ।

साभार –उज्यालो

प्रतिकृया दिनुहोस्