RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/४/३१ गते
२९२ पटक

प्रजिअ प्याकुरेल भन्छन् : निवेदन च्यातेको होइन, सजिलो होस् भनेर अर्को नाम राख्न सुझाव दिएको हुँ
श्रावण ३१, २०७९

काठमाडौँ — सत्तारुढ दलका सांसदहरूले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । दैलेखबाट प्रतिनिधित्व गर्ने नेकपा एकीकृत समाजवादीकी सांसद पार्वती विशुन्केले नागरिकतामा ‘ठगे कामी’ नाम रहेका कर्णबहादुर विश्वकर्मा जिल्ला प्रशासन कार्यालयमा पुग्दा प्रजिअ प्याकुरेलले विश्वकर्माको निवेदनसमेत च्यातिदिएको र नागरिकताको फारमसमेत काम नलाग्ने गरी केरमेट गरी दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरिन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विशुन्केले गृह मन्त्रालयले अपमानजनक नाम, थर सच्याउन निर्देशन दिइसकेको भए पनि सीडीओले जातीय विभेदलाई प्रश्रय दिने गरी थप अपमानपूर्ण व्यवहार गरिरहेको बताएकी हुन् ।

‘गृह मन्त्रालयले नाम/थर सच्याउन निर्देशन नै दिइसकेको छ । तर, अपमानजनक नाम भएका व्यक्तिहरू जिल्ला प्रशासन कार्यालय पुग्दा प्रजिअले सहयोग गरेका छैनन्, बरू थप अपमान गरेर पठाएका छन्,’ सांसद् विशुन्केले भनिन्, ‘नागरिकतामा अपमानजनक ‘कुकुर कामी’ नाम लेखिएपछि कालापहाड जान बाध्य पारिएका कविराम कामीले साउन २४ मै नाम सच्याउन निवेदन दिनुभएको छ, आजसम्म सच्चिएको प्रमाण पत्र पाउनुभएको छैन ।’
सांसद् विशुन्केले गृह मन्त्रालयको निर्देशनबिपरीत पदमा बसेर जातीय भेदभावलाई प्रश्रय दिने कार्य गर्ने प्रजिअ प्याकुरेललाई काबाही हुनुपर्ने माग गरेकी छिन् । ‘सार्वजनिक पदमा बसेर जातीय भेदभावलाई प्रसय दिने, र दिन लगाउने, दलित समुदायलाई जातकै आधारमा अपमान गर्ने गैरजिम्मेवार प्रशासकलाई कुन कानुनअनुसार कारबाही गर्ने हो ?,’ उनले प्रश्न गर्दै भनेकी छिन्, ‘म सरकारको ध्यानाकर्षण गराउँछु, यस्ता प्रशासकलाई कारबाही हुनुपर्छ ।’

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भने आफूले निवेदन नच्यातेको दाबी गरे । इकान्तिपुरसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूले नाम सच्याउन सजिलो होस् भनेर ‘ठ’ बाटै केही नाम छान्न अनुरोध गरेको बताए । ‘उहाँले प्रशासकीय अधिकृतलाई तोक लगाएर कर्णबहादुर नाम राखियोस् भनेर निवेदन दिनु भएको रहेछ । मैले ‘ठ’ बाटै केही नाम राख्न सुझाएको मात्र हो उहाँलाई सजिलो होस् भनेर । मैले निवेदन च्यातेको होइन । अनुसूची फारममा इन्टु(क्रस) लगाएको मात्र हुँ,’ उनले भने । प्रजिअ प्याकुरेलले कविरामको यही हप्ताभित्र नाम सच्चिएर नागरिकता आउने बताए ।

मंगलबारकै बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले पनि गृह मन्त्रालयको निर्देशनअनुसार नागरिकतामा आफ्नो अपमानजनक नाम/थर सच्याउन आउनेलाई दुव्यर्वहार गर्ने प्रजिअलाई कारबाही गर्नुपर्ने माग गरिन् । उनले कानुनभन्दा आफूलाई माथि राखि दलितमाथि दुर्व्यवहार गर्ने प्याकुरेलले गृहको निर्देशनसमेत नमानेर जातीय दम्भ देखाएको आरोप लगाएकी छिन् ।
नागरिकतामै अपमानजनक नाम उपयोग भएको विषयमा समाचार प्रकाशित भएपछि गृह मन्त्रालयले २३ साउनमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई त्यस्ता अपमानजनक नाम सच्याउने व्यवस्था गर्न निर्देशन गरेको थियो ।

ईकान्तिपुरबाट साभार

प्रतिकृया दिनुहोस्