RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/१०/१६ गते
११११ पटक

डोल्पा

डोल्पाका एक दलित दम्पती छोराको उपचारका लागि चन्दा संकलन गरिरहेका छन् । ठूलीभेरी नगरपालिका–९ मोतीपुरका मनराज नेपालीका १५ वर्षीय छोरा धनराज नेपालीको खुट्टाको उपचारका लागि उनका आमाबाबु चन्दा संकलनमा लागेका हुन् ।

धनराजको खुट्टामा समान्य समस्या देखियो उपचार गर्दा गर्दै झनै ठूलो समस्या उत्पन्न भएको नेपाली दम्पत्तीले बताए । उनीहरूका अनुसार जिल्ला अस्पताल डोल्पामा उपचारका लागि ल्याएका बालकको स्वास्थ्य परीक्षणपछि बायाँ खुट्टामा संक्रमण भएको जिल्ला अस्पतालले जनाएको छ ।

अस्पतालले सामान्य उपचारले नहुने बताएपछि थप उपचारका लागि सुविधाजनक अस्पतालमा लैजान सुझाव दिएको पीडितका बुबा मनराज नेपालीले बताए ।

‘आफूसँग रुपैयाँ छैन, सबैलाई सहयोग मागेर छोराको उपचार गर्न पाए ढुक्कसँग मर्ने थिएँ,’ नेपालीले भने ।

धनराजको तत्कालै राम्रोसँग उपचार गर्नुपर्ने र जिल्ला अस्पताल डोल्पामा सो उपचार सम्भव नहुने जिल्ला अस्पताल डोल्पाका डा. हिमविक्रम शाहीले बताए ।

उनका अनुसार तत्काल ठूला अस्पतालमा लगेर धनराजको बाँया खुट्टाको हड्डीको शल्यक्रिया नगरे झनै ठूलो समस्या आउने बताए । खुट्टामा संक्रमण बढ्दै गएकाले धनराजको बायाँ खुट्टाबाट रगत र पिप बग्ने गरेको छ ।

बिहान बेलुकाको छाक टार्ने कठिन नेपाली दम्पती छोराको उपचारमा धेरै पैसा खर्च लाग्ने हुँदा चिन्तित छन् । धनराजको उपचारका लागि लाखौ रुपैयाँ लाग्ने भएकाले रातदिन लागेर चन्दा मागेर भए पनि सास रहुन्जेलसम्म उपचारका लागि आस नमार्ने नेपाली दम्पतीले बताए ।

‘छोराको घाउ झनै गहिरो हुँदैछ तर खर्च जुटाउन सकेका छैनौं, सबैले सहयोग गरिदिए छोरो बचाउन सक्थ्यौं,’ सदरमुकाम दुनैका घरघर र कार्यालयहरूमा गुहार मागिरहेका उनले भने । दलित भएकै कारण पनि सहजता छैन राज्यको कुनै निकायले हाम्रो दुःख देख्दैन, धनराजले निराश मुद्रामा भने ।

निर्वाचनको बेलामा घरमा आएर ठूलाठूला सपना देखाउने जनप्रतिनिधिले अहिले आफूलाई दुःख पर्दा फर्केर पनि नहेरेको उनको गुनासो छ । स्थानीय तहको सरकारबाट केही पहल भए छोराको उपचारमा केही राहत पुग्ने आस गरेको भए पनि कसैले आफना दुःख नसुनिदिएको उनले बताए ।

साभार – राजधानी

प्रतिकृया दिनुहोस्