RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/४/२६ गते
२४७ पटक

नेपालगन्ज — महोत्तरी जलेश्वर–३ की २५ वर्षीया रीताकुमारी महराका आमाबुबाको एउटै पिरलो छ, हामी बितेपछि छोरीको देखभाल कसले गर्ला ? जन्मदै दुवै खुट्टा बांगो भएकी रीताको तीन वर्षअघि भिठ्ठामोड–३ का शिवोध महरासँग विवाह भयो । बाबु रामका अनुसार एउटा खाट र २० हजार दाइजो दिइएको थियो । तर, अपांगता भएकै कारण रीताले हेलाहोचो सहनुपरेको छ ।

शारीरिक अवस्थाका कारण घरको काम गर्न नसक्ने भएकैले उनले अनेक बात सुन्नुपर्‍यो । परम्पराअनुसार बिहेको तेस्रो दिन माइत जाने बेला सासूले उनलाई ‘अब फर्केर नआउनू’ भनेको रीता सुनाउँछिन् । ‘आफ्नो काम समेत आफै गर्न नसक्नेलाई हामी राख्न सक्दैनौं उतै बस्नु भनिन् । अहिले पनि मलाई रुन आउँछ,’ उनले भनिन् । त्यो दिनपछि रीताका निम्ति घरको ढोका बन्द भयो । न उनी फर्केर गइन् न त शिवोध नै लिन आए । छोरीको दुःख देखेर राम ज्वाइँको घरमै पुगे । परिवारले कामले भारत गएको र सम्पर्क नभएको बताएर फर्काइदिए ।

ग्रामीण भेगमा रिता जस्ता बिहे गर्ने उमेर पुगेका धेरैजना छन्, जसलाई अपांगताका कारण मानसिक भार पनि परेको छ । धेरैले बिहे गर्नकै लागि दाइजोको भार बोकेका छन्, कतिपय दाइजोसहित बिहे गरेर गएपछि पनि हिंसा भोग्न बाध्य छन् ।

महोत्तरी पटिहानीकी रेनु मण्डलको जीवन पनि कम दुःखदायी छैन । शारिरीक अशक्त भएकाले छोरीले दुःख नपाओस् भनेर बाबुले भनेजति दाइजो दिएर बिहे गराइदिए । देब्रे खुट्टा छोटो भएकै कारण घरको काम गर्न सकिन भनेर उनले परिवारका सदस्यबाट मानसिक र शारिरक हिंसा भोगिन् । श्रीमान् सूर्यशेखर मण्डल कुरा बुझ्ने थिए र उनी घरबाटै निकालिनु परेन । सूर्य हाल वैदेशिक रोजगारीमा बाहिर छन् । ‘श्रीमान्ले मात्रै साथ नदिनुभएको भए मेरो सम्बन्ध टिक्नेवाला थिएन,’ रेनुले भनिन् ।

पोलियोका कारण जन्मँदै दायाँ खुट्टा नचल्ने समस्या भएकी जलेश्वर–१ महादेव चोककी मधु महतो २६ वर्षकी भइन् । विवाह भएपछि पनि अपांगता भएकै कारण केटाले छोड्ने वा परिवारसँग सम्बन्ध राम्रो नहुने समस्या उनले देखेसुनेकी छन् । त्यसैले उनलाई अहिल्यै बिहे गर्न मन छैन । जनकपुरको राजर्षि जनक क्याम्पसबाट स्नातक सकेर लोकसेवाको तयारी गरिरहेकी उनले अपांगता भएकै कारण विवाहपछि महिलाले भोग्ने समस्या अन्य महिलाको भन्दा दोब्बर हुने गरेको बताइन् ।

गत वैशाखमा उनलाई विवाहको कुरा आएको थियो । सबलांगको तुलनामा दोब्बर दाइजो खोजेपछि उनले विवाह नगर्ने अडान राखिन् । ‘सुनचाँदीको पसल चलाउने केटाबाट कुरा आएको थियो,’ उनले भनिन्, ‘दाइजो नै धेरै मागे, दाइजो दिएर पनि भोलि राम्रो हुन्छ भन्ने विश्वास नभएकाले विवाह गर्न मानिनँ ।’ उनका अनुसार केटा पक्षले २० लाख नगद, सुन, मोटरसाइकललगायत मागेको थियो । आत्मनिर्भर नभएका अपांगता महिलाले ठूलो समस्या खेपिरहेको उनको भनाइ छ । यही बुझेकी मधुले धेरै दाइजो दिएर आफ्नो बिहे नगरिदिन बरु दाइजो दिने सम्पत्ति आफूलाई दिन बाबुआमालाई भन्दै आएकी छन् ।

तिलोत्तमा नगरपालिका मंगलापुरकी मनीषा पराजुली (नाम परिवर्तन) कान कम सुन्छिन् । स्मरणशक्ति केही कम छ तर शारीरिक तन्दुरुस्त छिन् । भैरहवास्थित बहिरा विद्यालयबाट कक्षा १० उर्त्तीण गरेपछि गतवर्ष सिलाइकटाइ सिक्दै थिइन्, टोलमा बस्ने अर्घाखाँची सन्धिखर्कका रमेश श्रेष्ठले प्रेम प्रस्ताव राखे । बिहेको प्रलोभन देखाए अनि शारीरिक सम्बन्धको प्रस्ताव राखे । अस्वीकार गरेकी मनीषालाई एक दिन घरमै आएर जबर्जस्ती गरे । यो घटनापछि परिवारले रमेशविरुद्ध प्रहरीमा जबरजस्ती करणीको साटो दुर्व्यवहारको उजुरी दिए ।

माफीनामापछि प्रहरीले रमेशलाई पठाइदियो । इज्जत जाने भन्दै परिवारले उनीहरूबीच नै बिहे गराइदिए । छोरीको नाममा १० लाख रुपैयाँ दाइजो दिए । तर, मनीषाको विवाह सफल हुन सकेन । व्यवसाय गर्ने भन्दै रमेशले बिहे गरेको केही दिनमै बैंकबाट रकम निकाले । माइतीले दिएका गरगहना खोसे । त्यसपछि दुर्व्यवहार सुरु गरे । ‘तँसित यौन चाहना मात्रै पूरा गर्न खोजेको हो, बिहे होइन भनेर कुटपिट गर्न थाल्यो,’ मनीषाले दुखेसो पोखिन् । दुर्व्यवहार सहन नसकेपछि मनीषा माइतीघर आइन् । २०७८ पुसमा दुबई गएका उनका श्रीमान् त्यसपछि बेखबर छन् ।

अपांगता भएका महिलाहरू बिहेको नाममा यौन शोषणमा परेका छन् भने कतिपय आर्थिक रूपमा लुटिएका छन् । बुटवल देवीनगरकी अल्पदृष्टिविहीन सृष्टि केसीमाथि यी दुवै हिंसा भएको छ । ३३ वर्षकी उनलाई २०७७ वैशाखमा प्रेम प्रस्ताव आयो । घरजम गर्न रहर थियो । त्यसैले सामान्य चिनजानका काठमाडौं कंलकीका प्रकाश थापाको प्रस्ताव उनले स्विकारिन् । प्रकाश बेलाबेला घरमै आउन, बस्ने र शारीरिक सम्बन्ध राख्ने गर्न थाले । सेटल हुन भन्दै सृष्टिको नाममा माइतीले दिएको ५ लाख रुपैयाँ पनि लगे । तर, बिहे गरेनन् । बिहेको दबाब बढेपछि २०७८ जेठमा उनी भागे । परिवारले प्रहरीमा उजुरी दिए । प्रहरीले मान्छे त खोजी गरिदियो तर सृष्टिको बिहेको सपना पूरा भएन । ‘म ठगिएकी रहेछु,’ उनले सुनाइन्, ‘दुई सन्तान र पत्नीसहितको विवाहित रहेछ । मेरो अपांगताको फाइदा उठाएर यौन प्यास मेट्न र रकम धुत्न मात्रै जोडिएको रहेछ ।’

अपांगता भएका महिलालाई बिहेको नाममा मोलमोलाइ र हिंसा गर्ने घटना रूपन्देहीमा धेरै छन् । यस्तै पीडामा परेकी अर्की हुन्, ओमसतिया गाउँपालिका पट्खौलीकी सरिता राय । नगद ३ लाख, मोटरसाइकल, सुनको सिक्री र औंठी दाइजो दिने सर्तमा कोटहीमाईका गणेश यादवसँग २०७७ फागुनमा उनको बिहे भयो । बिहेपछि पनि श्रीमान्ले थप दाइजो माग गर्न थाले । सुरुमा व्यवसाय गर्न ५ लाख दिन दबाब दिए । माइतीले दिन नसकेपछि त्यसको रिस पत्नीमाथि पोख्न थाले । ‘पैसा नपाएपछि अनाहकमा गाली गर्ने, कुट्ने गर्न थाले । बिहेमा दिएका गहना पनि खोसे,’ उनले दुखेसो पोखिन्, ‘अपांगसित सम्बन्ध राख्न रुचि नहुने भन्दै विस्तारै यौटै कोठामा सुत्न पनि छाडे ।’ एउटा खुट्टा छोटो भएकी उनले १२ सम्म पढेकी छन् ।

गणेशलाई सम्झाइबुझाइ गर्न घरपक्ष र माइतीपक्षबीच छलफल भयो । उनले व्यवसाय गर्न पैसा दिनुपर्ने सर्त छाडेनन् । ०७८ फागुनमा माइती पक्षले कोटहीमाईको न्यायिक समितिमा उजुरी दिए । समितिले पैसा नमाग्ने र नकुट्ने सहमति गराएर छाडिदियो । प्रहरी कार्यालयमा पनि उजुरी गरे पनि गणेश सुध्रिएनन् । ‘दिनहुँ हुने कुटपिट सहन नसकेपछि गएको साउनदेखि माइतीघरमा छु,’ सरिताले भनिन् ।

शारीरिक र बौद्धिक अपांगता भएकी नेपालगंन्ज–२० रमेशपुरकी ज्ञानमति यादवले त बिहेको केही दिनमै माइती फर्किनुपर्‍यो । २४ वर्षकी उनको चार वर्षअघि राप्तीपारि बिहे भयो । तर परिवारले उनलाई माइतमै ल्याएर छाडिदिए । ‘आफैं केही गर्न सक्दिनँ, खाना पनि पकाएर दिनुपर्छ घर परिवारले कसरी राख्छन् त,’ भाउजू गीता यादवले भनिन्, ‘बिहे नगरिदिऊँ भन्दा कसैले मानेनन् । लाखौं पैसाको खर्च मात्र भयो ।’ हाल ज्ञानमति आमासँग बस्दै आएकी छन् । अपांगता भत्ता कार्डसमेत छैन । ‘बाउ छैनन्, म मरेँ भने कसले हेर्छ त्यसैले विवाह गरिदिएका थियौँ,’ आमा रुपाले भनिन्, ‘लगे तर राख्न मानेनन् ।’

अपांगता भएका महिलामाथि विवाहका नाममा भएका हिंसाका घटना लुकाइन्छन् । अधिकारकर्मी सावित्रा घिमिरे भन्छिन्, ‘अपांगता भएका महिलाको यौन तथा प्रजनन अधिकारमाथि भद्दा मजाक भइरहेको छ । धेरै अभिभावकमा अपांगता भएकी छोरीको पनि यौनिकता हुन्छ, यौन चाह हुन्छ । विवाह गरिदिनुपर्छ भन्ने बुझाइ छैन ।’ बिहे गर्न चाहनेले पनि दाइजो, सम्पत्ति माग्ने र अपांगताका नाममा हिंसा गर्ने क्रम देखिएको उनले बताइन् ।

रूपन्देही प्रहरी प्रमुख रवीन्द्र रेग्मी बिहेदेखि, संरक्षणसम्ममा समस्या भोगेको भन्दै अपांगता भएका महिला न्यायका लागि आउने क्रम बढेको बताउँछन् । ‘बिहे भनेर ठगिएको, घरेलु हिंसा भएको, बहुविवाहलगायतका उजुरी आएका छन्,’ उनले भने । कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया दिनुहोस्