RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/४/१३ गते
६०३ पटक

बुटवल, साउन १२ ।

शान्ति, न्याय र लोकतन्त्रको संरक्षणका लागि नागरिक समाजको भूमिका बढाउनुपर्नेमा जोड दिइएको छ । शान्तिका लागि साझा अभियान (कोक्याप) को आयोजनामा शुक्रबार रुपन्देहीको तिलोत्तमामा आयोजित शान्ति न्याय र सबल संस्थाका लागि नागरिक समाज बिषयक लुम्बिनी प्रदेशको अवस्था विश्लेषण कार्यक्रममा सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन ।

छलफलमा स्थानीय र प्रदेश सरकार तथा राज्यका अन्य संरचनाहरु अझै पनि अभिव्यक्ति स्वतन्त्रता, व्यक्तिगत सुरक्षा, संवाद र समावेशितालाई पालना गर्नमा कमजोर रहेको औल्याइएको हो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्यले नागरिक समाजले समुदायको आवाज बन्नुपर्ने बताए । उनले आफूहरुको कार्यालयमा अहिलेसम्म कुनै पनि खालको उजुरी नआएको बताउँदै नागरिक अधिकार उल्लघन भएको नदेखिएको बताए । उनले संविधानले राजनीतिक दलमा आबद्ध हुने अधिकार दिएको भएपनि नागरिक समाजको भूमिकामा रहदा त्यहि भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उच्च अदालत बार बुटवलका अध्यक्ष कैलाशचन्द्र ज्ञवालीले नागरिक समाजलाई छुट्टै ऐन बनाएर छाता संगठनका रुपमा अघि बढाउनुपर्ने सुझाव दिए । उनले लोकतन्त्र, संविधान र नागरिकहरुको अधिकार रक्षाका लागि नागरिक समाजको उपस्थिती बलियो हुनुपर्ने बताए ।

उक्त अवसरमा कोक्यापका कार्यक्रम व्यवस्थापक सरोज नेपालले कार्यपत्र प्रस्तुत गर्दै नागरिक समाज बलियो हुँदा मात्रै लोकतन्त्र सुदृढ हुने बताएका थिए । कार्यक्रममा शान्तिका लागि साझा अभियान (कोक्याप) का कोषाध्यक्ष अर्जुन ढकाल, राजेन्द्र बस्याल, नागरिक समाज रुपन्देहीका अध्यक्ष इश्वरी प्रसाद पाण्डे, पत्रकारकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डे, महासंघ रुपन्देहीका सचिव विनोद परियार, इन्सेक प्रतिनिधि रीमा बिसि, अधिवक्ता इन्दिरा आचार्य, कोम्कापका म्यापिङ संयोजक राजकुमार बुढा, लुम्बिनी प्रदेश संयोजक रोजी ज्ञवाली लगायतले बोल्दै नागरिक समाजले समेत आफ्नो भूमिका दोहोरो बनाउन नहुने बताएका थिए ।

प्रतिकृया दिनुहोस्