RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/४/६ गते
४६१ पटक

नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिकाका चार जना अनाथ बालबालिकाले आश्रय पाएका छन् । आमाबुबाविहीन खजुरा–६ का चार जना अनाथ बालबालिकाहरुलाई विभिन्न संस्था तथा स्थानीय सरकारको सहयोगमा आश्रय दिइएको हो । उनीहरु लामो समयदेखि बेवारिसे अवस्थामा जीवनयापन गरिरहेको समाचार कान्तिपुरमा प्रकाशित भएको थियो ।

दलित महिला संघ बाँकेका अध्यक्ष निर्मला सुनारका अनुसार लामो समयदेखि अभिभावकविहीन उनीहरुलाई पालनपोषण र अध्ययनका लागि दलित महिला उत्थान केन्द्र काठमाडौंमा पठाइएको छ । उनले संस्थामा उनीहरुको विषयमा जानकारी प्राप्त भएपछि समन्वय गरेर काठमाडौं पठाइएको जानकारी दिइन् ।

उनीहरुको उद्धारका साथै लागि पालनपोषण, अध्ययनका लागि दलित महिला संघ, पूर्वसांसद कमला विश्वकर्मा, वडा नम्बर ६ की दलित महिला सदस्य यमुना परियार तथा गाउँपालिकाले समेत सहयोग गरेका थिए ।‘आमाबुबाले छोडेपछि उनीहरुको बिचल्ली भएको थियो । खानेकुरा र बस्ने तथा उनीहरुको हेरचाह गर्ने कोही पनि थिएन । सबै सरोकारवालाहरुको सहयोगमा काठमाडौं पठाउन सफल भएका छौं,’ अध्यक्ष सुनारले भनिन्, ‘काठमाडौं जान उनीहरुको गाडी भाडाको व्यवस्थापन खजुरा गाउँपालिकाले गरेको हो ।’

एक परिवारका ६ देखि १२ वर्ष उमेरका चार बालबालिका आमाबुबाले छाडेपछि अलपत्र अवस्थामा थिए । पतिको यातना सहन नसकेर आमाले दोस्रो विवाह गरेर घर छाडेपछि उनीहरुको बिचल्ली भएको थियो । पछि बाबुले पनि दोस्रो विवाह गरेर सम्पर्कविहीन भएका थिए । अभिभावकले अलपत्र पारेपछि आफन्त राममाया सुनारले खजुरास्थित आफ्नै घरमा ल्याएर पालनपोषण गरिरहेकी थिइन् । खजुरा–६, सिमलघारीका ती अभिभावकविहीन बालबालिका सहाराको खोजीमा थिए । विभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोग र समन्वयमा उनीहरुलाई काठमाडौं पठाइए पनि उनीहरूका आमाबाबु कहाँ छन्, कसैलाई जानकारी छैन । जेठी बालिका १२, माइली ९, कान्छी ८ वर्षकी र बालक ६ वर्षका छन् ।

ईकान्तिपुरबाट

प्रतिकृया दिनुहोस्