RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/३/१५ गते
६७० पटक

काठमाडौं । एक महिना भयो, सर्लाही गढाटोलका ५० वर्षीय भगौर माझी थला परेको । गत जेठमा काममा निस्कने तयारी गर्दैगर्दा बेहोस भएर उनी लडेका थिए, ब्युँझँदा देब्रे हर नचल्ने भइसकेको थियो । परिवारका सदस्यले पैसा जोहो गरेर नजिकैको क्लिनिकमा पुर्‍याए । तर स्वास्थ्यकर्मीले ‘पक्षाघात भएजस्तो छ, अलि ठूलो अस्पताल जानू’ भनेपछि उनीहरू घरै फर्किए ।

ज्यालामजदुरी गरेर परिवार पाल्दै आएका भगौरलाई अचानक त्यस्तो कसरी भयो, परिवारका सदस्यले मेसो पाएकै थिएनन् । चार दिनपछि अर्को घटना भयो । ४८ वर्षीय भाइ ब्रह्मदेव पनि उसैगरी ढले । होसमा आउँदा समस्या भगौरकै जस्तो देखियो । उनको पनि दाहिने हर नचल्ने र बोली अस्पष्ट भइसकेको थियो ।

केही दिनपछि परिवारले ऋण खोजेर दुवै भाइलाई सीमावर्ती भारतीय बजार रिगाको एक अस्पतालमा लगे । तर सुधार हुन सकेन । फर्केपछि उनीहरू दुवै ओछ्यान छन्, गुजारा गर्ने पैसा र स्याहार गर्ने मान्छेको अभावमा उनीहरू ‘असहाय’ भएका छन् ।

माझी बन्धु मात्र यसरी थला परेको भए संयोग मात्र हुन सक्थ्यो, तर यो अवस्था मधेसका सबैजसो दलित बस्तीमा छ । मधेसमा दलितका यस्ता टोल भेटिँदैनन्, जहाँ पक्षाघातका बिरामी नभेटिऊन् । कान्तिपुर संवाददाताहरू सर्लाही, सिरहा र मोरङका ५९ दलित बस्ती घुम्दा पक्षाघातका १ सय ९ बिरामी फेला परे । तीमध्ये १ सय २ जना पुरुष र सात महिला छन् ।

पक्षाघात भएका अधिकांशको कथामा एउटै समानता छ- आर्थिक विपन्नता, ज्यालामजदुरी, दिनभर कठोर परिश्रम र साँझ गुणस्तरहीन मदिरा । भेटिएका सबैजसो बिरामीले कडा शारीरिक परिश्रम गरेको र थकाइ मार्न घरेलु मदिरा खाने गरेको बताएका छन् । पक्षाघात भएकामध्ये धेरैले अघिल्लो साँझ मदिरा पिएर सुतेको र बिहान उठ्दा एक हर नचल्ने भएको बताएका छन्, केहीले भने काम गर्दागर्दै ढलेको सुनाएका छन् ।

पक्षाघात हुने केहीले ज्वरो र जन्डिस भएकै बखत मदिरा सेवन गरेको पनि पाइएको छ । तर, यसको कारणबारे उनीहरूलाई अहिले पनि चेतना छैन, त्यस्तै आर्थिक र राजनीतिक पहुँचको अभावमा उपचारको सुविधा छैन । पक्षाघातलाई धेरैजसोले ‘हावा लागेको’ ठानेका छन्, भूतप्रेतका कारण त्यस्तो भएको अनुमान पनि उनीहरूको छ ।

सर्लाहीका ५१ दलित बस्तीमा मात्र पक्षाघातका ७० बिरामी भेटिए । चन्द्रनगर–२ र ४ मा मात्रै पक्षाघातका १४ बिरामी फेला परे । जसमध्ये २० वर्षमुनिका नै ३ जना छन् भने अन्य ६७ जना ४० कटेका । सर्लाहीका दलित बस्तीमा भेटिएका बिरामीमध्ये ६६ जना मुसहर समुदायका छन् भने २ जना चमार, १/१ जना नुनिया र खत्वे समुदायका छन् ।

पक्षाघातका अधिकांश बिरामीहरूले परिवारबाटै उचित स्याहार पाउन सकेका छैनन, कारण उनीहरू सबै गुजाराका लागि बिहानैदेखि मजदुरीमा जान्छन् । जीउ नै नचल्ने भएका धेरैजसोले ओछ्यानमै दिसापिसाब गर्ने भएकाले घरबाहिरै पिँढीमा राख्ने गरिएको छ । यस्ता बिरामीहरूलाई सरसफाइ समस्या छ । यस्तै बिरामी ब्रह्मदेव भन्छन्, ‘ढेउवा नभेलासे बढिया डाक्टरके नदेखावे सकरहल छी, बालबच्चा भी देखेके छोडदेलकै, हमर सवके जीवन नरकतुल भेगेल हई । (पैसा नभएका कारण चिकित्सकलाई देखाउन सकिएको छैन । छोराछोरीले पनि हेर्न छाडे । हाम्रो जीवन नर्कतुल्य भएको छ) ।’

सर्लाहीकै बिर्ता बजारका ४५ वर्षीय शिवजी माझी पनि मजदुरी गर्दागर्दै अचानक ढले । एक छोरा र ४ छोरीसहितको परिवार पालिरहेका उनी ओछ्यान परेपछि श्रीमती अमृता आपत्मा छिन् । लोग्नेको हेरविचार गर्ने कि कमाउन जाने ? दोमनमा उनी छटपटिन्छिन् । खर्चको अभावमा श्रीमान्लाई राम्रो अस्पतालमा लैजान सक्ने अवस्था पनि छैन । भन्छिन्, ‘घरवाला ठीक होजतै त ऋण कर्जा लेके भी बोका चढवै, घरवलासे बड्का कर्जा नहई ।’(श्रीमान् निको भए ऋण लिएर भए पनि बोका चढाउँछु, श्रीमान्भन्दा ठूलो ऋण होइन) ।

उता पूर्वी तराईको मोरङको जहदा गाउँपालिकाको सन्थाल बस्तीमा ४० देखि ७० वर्ष उमेरका २० जना यस्तै बिरामी छन् । अधिकांश ज्यालामजदुरीको भरमा परिवार पाल्दै आएकाहरू छन् । कमजोर आर्थिक अवस्था भएकै कारण परिवारका सबै सदस्य कमाउन हिँड्नुपर्ने बाध्यताले पक्षाघातका बिरामी परित्यक्त देखिन्छन् । तर सरकारबाट भने उनीहरूलाई कुनै राहत छैन । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजकुमार दासले टोलमा यति धेरै पक्षाघातका बिरामी भएको बारे अनभिज्ञता प्रकट गरे ।

कटहरी–२ हरदबारी र वडा ५ जगुवाटोलका मुसहर बस्तीमा पक्षाघातका ३/३ जना बिरामी भेटिए । विराटनगर–१२ बखरीको मुसहरी टोलमा पनि तीन जना बिरामी छन् । कटहरी–१ सिंघिया खोलाको नदी उकास जग्गामा भएको दलित बस्तीमा भेटिएका ५५ वर्षीय विशाल मल्लिक पनि गत माघदेखि ओछ्यान परेका हुन् । विराटनगरको एउटा घरको सेफ्टी ट्यांकी सफा गरिरहेका बेला अचानक उनका हातखुट्टा झमझमाए । जसोतसो काम सकेर घर फर्कनेबेला बाटोमै पसलमा छिरेर सधैंझैं लोकल रक्सी आए । भन्छन्, ‘भोलिपल्ट उठ्ने बेला हातखुट्टै चलेन । पछि पो थाहा भयो प्यारालाइसिस भएछ ।’

विराटनगर–१२ बखरीको मुसहरी टोल ६२ वर्षीय पवन ऋषिदेव वैशाख २० को बिहान पिसाब फेर्न खेतमा निस्केका बेला बेहोस भएर लडे । परिवारका सदस्यले उठाएर घर त ल्याए तर उनी कैयन् दिनसम्म उठ्नै सकेनन् । लामो उपचारपछि उनी जेनतेन लौरो टेकेर हिँड्न सक्ने भए पनि ज्यालामजदुरीमा जान सकेका छैनन् । सोही टोलका ७० वर्षीय बलराम रजकको पनि यस्तै अवस्था छ । काम गर्दागर्दै ढलेका हुन्, उपचार खर्च अभावका कारण ओछ्यानमै लडिरहेका छन् ।

सिरहाका चार दलित बस्तीमा पक्षाघातले थलिएका १२ जना बिरामी भेटिए । ती सबैले जना ज्यालामजदुरीबाट गुजारा चलाउँदै आएका थिए । लहान–१४ मुसहरका ७० वर्षीय भुटाई सदाय मुसहर र ६१ वर्षीय चुल्हाई सदाय मुसहर एकाध दिनको अन्तरमा पक्षाघात भएर थलिए । ज्यालामजदुरी गर्ने दुवै जना अघिल्लो दिन कामबाट फर्केर राति मदिरा खाएर सुतेका थिए । तर बिहान ब्युँझँदा दुवैको एक हर नचल्ने भइसकेको थियो । भुटाईले भने, ‘दिनभरि साहुको खेतमा माटो काटें । राति घर फर्केर रक्सी पिएर सुतें । झिसमिसेमा पिसाब लागेर उठ्न खोज्दा उठ्नै सकिनँ ।’

हातखुट्टा नचल्ने र बोल्न नसक्ने भएपछि भुटाईका छोराहरू जुथरु र धुथरले धामी बोलाएर झारझुक गराए । सुधार नभएपछि छोराहरूले अस्पताल लगेर ५५ हजार रुपैयाँ खर्चिए । धुथरले सुनाए, ‘उपचारपछि शरीरको पाता त चल्ने भयो तर बोली अझै लटपटिएकै छ ।’ तर, उपचारमा लागेको ऋण तिर्न नसकेर छोराहरू साहुको दबाबमा छन्, छोराहरूको अवस्थाले भुटाई तनावमा छन् ।

यही बस्तीका ६१ वर्षीय चुल्हाई सदाय मुसहर पनि गत मंसिरमा मजदुरीको काम सकेर रक्सी खाएर आई घरैमा सुतेका थिए । बिहान उठ्न सकेनन् । जान्ने, बुझ्नेसँग सोध्दा पक्षाघात भएको थाहा भयो । ‘यस्तै रोग लागे पनि अरू त घिस्रेर हिँडेका छन् तर आफू भने ओछ्यानमै थला परियो, दिनरात ओछ्यानमै बित्छ,’ उनी भन्छन् ।

त्यसो त सरकारले मेरुदण्डको पक्षाघात (स्पाइनल प्यारालाइसिस) भएका बिरामीलाई औषधि उपचार खर्चबापत मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउँछ । ‘अपांगता परिचयपत्र भएका व्यक्तिले हरेक महिना ५ हजार पाउँछन्, यो रकम हरेक तीन महिनामा लाभग्राहीको बैंक खातामा जम्मा गर्ने प्रावधान छ,’ स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्र भन्छिन् । त्यस्तै गरिबी परिचयपत्र वितरण भएका जिल्लामा त्यही परिचयपत्रका आधारमा र अन्य जिल्लामा स्थानीय सरकारको सिफारिसका आधारमा उपचार खर्च दिने व्यवस्था पनि छ । तर, मधेसका धेरैजसो दलित सरकारी सहयोगबाट वञ्चित छन्, प्रमुख कारण के हो भने धेरैसँग घरजग्गा, लालपुर्जा र नागरिकता छैन, त्यसैले सरकारको नजरमा उनीहरूको अस्तित्व नै छैन ।

सरकारी अभिलेखमा नाम नभएका भूमिहीन, विपन्न र दलित बस्तीका बिरामीका बारेमा जिल्ला स्वास्थ्य कार्यालय अनविज्ञ छ । स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादव पनि जिल्लामा पक्षाघातका बिरामीको तथ्यांक यकिन नभएको बताउँछन् । दलित अगुवा पाचु भन्छन्, ‘स्वास्थ्य सेवा महँगो छ, विपन्न भूमिहीनले हिम्मत नै गर्न सक्दैनन्, त्यसैले समस्या जटिल बनेको हो ।’

प्रादेशिक अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट नवलकिशोर झा पनि विपन्न समुदायमा जागरण नभएकाले स्वास्थ्य संस्थामा सहजै पुग्न नसकेको बताउँछन् । भन्छन्, ‘मुख्यतः उच्च रक्तचापका कारण पक्षाघात हुने हो । यस्तो हुन सुरुवातमा शरीरमा विभिन्न लक्षण देखिन्छन् । ती सबैको बेवास्ता गर्दै पेनकिलर र रक्सीको भर पर्ने चलन छ, त्यसैले पक्षघातपीडित बढेका छन् ।’ कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया दिनुहोस्