RaraNews

प्रकाशित : २०७८/८/२२ गते
३६८ पटक

संविधानमा मानव अधिकार लेख्दैमा मानव अधिकारको सुनिश्चितता हुदैन ।

१३ औ मानव अधिकार राष्ट्रिय महाभेला कार्यक्रमको उद्घाटन समारोह सम्पन्न

नेपाल सरकारका उपराष्ट्रपति नन्द बहादुर पुनले नेपालमा मानव अधिकार उल्लङ्घन र यसका विभिन्न मुद्दाहरूबारे सबै जना गम्भिर भएर यसको सम्बोधन गर्न आह्वान गर्नुभयो ।

७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजित १३ औ मानव अधिकार राष्ट्रिय महाभेला कार्यक्रमको उद्घाटन समारोहमा उपराष्ट्रपति नन्द वहादुर पुनले मुलुकमा मानव बेचबिखन, बोक्सी लैगिंक विभेद, छुवाछूत जस्ता सामाजिक कुप्रथाहरू अझै विद्यमान रहेकाकाले यसको अन्त्यका लागि सबै लाग्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
महाभेलाको उद्घाटन समारोहमा प्रमुख अतिथि रहनुभएका उपराष्ट्रपति पुनले शिक्षा, स्वास्थ्य र सरसफाई जस्ता आधारभूत आवश्यकताबाट अझै पनि आम सर्वसाधारण नागरिकहरु वञ्चितकरमा परेकाले यस्ता समस्यालाई सरकारले सम्बोधन गर्ने वातावरणका लागि सबैले सामूहिक प्रयास गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले मानवअधिकारकर्मी, सरोकारवाला र स्वयं सरकार समेत आफ्नो भूमिका र जिम्वेवारीबाट उम्किन नमिल्ने बताउनुभयो । उहाँले अन्त्यमा यस्तो कार्यक्रम आयोजना गर्न पहल गरेको भन्दै सम्पूर्ण मानव अधिकारकर्मी तथा आयोजक पक्षलाई बधाई तथा शुभकामना पनि दिनुभयो ।

उद्घाटन समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानव अधिकारको अन्तवस्तु भनेकै कसैको पनि मानव अधिकार उल्लंघन नभएको अवस्था रहेको कुरामा जोड दिनुभयो । मानव अधिकारको उपभोगको सन्दर्भमा देखिएका समस्या र चुनौतीको समाधानका लागि सबैको आवश्यकता अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले महाभेलाले सबैको मानव अधिकार सुनिश्चित गर्न र मानव अधिकारको प्रर्वद्धन गर्न मानव अधिकार आयोग सबैको साथ सहयोग लिएर अगाडी बढ्ने बताउनुभयो । साथै मानव अधिकारकार दिवसलाई स्थानीय तह, प्रदेश र केन्दमा मानव अधिकार सम्वन्धि विभिन्न कार्यक्रमहरु गरी महाभेलालाई सम्पन्न गर्न समेत आग्रह गर्नुभयो ।

पुर्व सभामुख तथा मानव अधिकारकर्मी दमननाथ ढंगानाले मानव अधिकार सुनिश्चिताको कार्यान्वयन पक्ष निकै कमजोर भएकाले यसको नीतिगत पक्षको कार्यान्वयनमा जोड दिन आग्रह गर्नुभयो । उहाँले मानव अधिकार भाषणमा मात्रै सीमित नभई काम गरेर मात्रै आम सर्वसाधारण नागरिकको मानव अधिकारको सुनिश्चितता हुने उल्लेख गर्नुभयो । उहाँले राजनीतिक परिवर्तन, राज्य पुर्नंसंरचनाको परिवर्तन गुणात्मक परिवर्तन भएपनि आम नागरिकको जीवन शैली र मानव अधिकारको प्रत्याभुती हुन नसकेको बताउनुभयो । संविधानमा मानव अधिकार लेख्दैमा मानव अधिकारको सुनिश्चितता नहुने धारणा राख्दै, यसको अन्तर्वस्तु भनेको व्यक्तिको मानव अधिकार सुनिश्चित हुने कुरा ठूलो हो, उहाँले भन्नुभयो । उहाँले स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र राज्य नागरीकको मानव अधिकारप्रति संवेदनशील र उत्तरदायी हुनुपर्ने कुरामा जोड दिनुभयो । “अहिलेको मानव अधिकार अस्थिपञ्जर मात्रै भएकोले हामीलाई आत्मा सहितको चेतना भएको मानव अधिकार चाहिएको छ, ” उहाँले भन्नुभयो ।
उहाँले आत्मा भरिएको मानव अधिकार सुनिश्चितताको लागि, अर्थपूर्ण परिवर्तनका लागि र मानव अधिकार लोकतन्त्र र शान्ति प्रकृया स्थापनाका लागि लोकतान्त्रिक परिवर्तनको आन्दोलन गरिएको, बताउनुभयो ।

कार्यक्रममा पूर्व महान्यायधीवत्ता तथा नेकपा एमालेका नेता अग्नि खरेलले नेपालमा मानवअधिकार संरक्षणका लागि प्रचलित विद्यमान कानुन रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा मुस्कान खातुन र उहाँहरुकै सामूहिक प्रयासका कारण एसिड आक्रमण सम्बन्धी कानून ल्याउन सफल भएको उदाहरण प्रस्तुत गर्नुभयो । त्यसैगरी बलात्कार, यौन दुव्र्यबहार, वोक्सी जस्ता कुप्रथाहरु जस्ता जघन्य सामाजिक अपराधमा संलग्न अभियुक्त र पीडितको ध्यानाकर्षणका लागि समुदाय तहमा मानव अधिकार सम्वन्धि जनचेतना र जानकारीका कार्यक्रमहरु विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले यस्ता कुप्रथा र गलत अभ्यास आफैमा गैरकानूनी र मानव अधिकारका दृष्टिकोणले गम्भीर अपराध भएकाले यस्ता उल्लंघनजन्य घटनाको न्यूूनीकरणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन समेत आग्रह गर्नुभयो ।

नेकपा माओवादी केन्द्र, संसदीय दलका सचेतक देव गुरुङले मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि नेपालमा रहेका विभिन्न कानुनी व्यवस्थाका बारेमा सबै जानकार रहेको उल्लखे गर्नुभयो । उहाँले नेपालमा कानूनी शासन, लोकतन्त्र र मानवअधिकारको सुनिश्चितता र संरक्षणका लागि बनेको संवैधानिक प्रावधान तथा अन्य प्रचलित कानुनी व्यवस्थाको कार्यन्वयनका लागि जोड दिनुपर्ने बताउनुभयो । उहाँले शान्ति प्रक्रियाका अझै केही कामहरु टुंगोमा पुग्न नसकेको बताउदै, मानव अधिकारको प्रत्याभूति नभएसम्म संवैधानिकता सुनिश्चिताको कुनै अर्थ नरहने धारणा राख्नुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष जितराम लामाले नेपालको मानव अधिकार उल्लंघनका घटनाहरुको स्थितिको बारे चर्चा गर्दै मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि व्यक्तिगत प्रयास मात्रै संभव छैन भन्नुभयो । उहाँले प्रत्येक व्यक्ति, संस्था, सरकार सबै सरोकारवाला निकायले आ–आफ्नो तर्फबाट एकिकृत, संगठित र सबैको साझा प्रयास आवश्यक रहेको धारणा राख्नुभयो । साथै उहाँले मानवअधिकार सम्बन्धी शिक्षा÷चेतना घरबाटै सुरु गर्नुपर्ने बताउनुभयो ।
मानव अधिकारकर्मी चरण प्रसाईले नेपालमा आफूले पहिलो पटक मानव अधिकार राष्ट्रिय महाभेलाको अवधारणा ल्याएको उल्लेख गर्नुभयो । उहाँले मानव अधिकारको संरक्षण र प्रत्याभूति गर्न यो सबैका लागि सामूहिक प्लेटफर्म उपलब्ध गराउने आफ्नो दृष्टिकोणलाई सीमित नराखी यसको संस्कृतिको विकास गर्न र मानव अधिकार सम्बन्धि बनेका कानुन कार्यान्वयन गराउन सुरुवात गरेको बताउनुभयो ।

मानव अधिकार महाभेलाको संस्थापक संयोजक समेत रहनुभएका मानवअधिकारकर्मी प्रसाईले यस किसिमको कार्यक्रमले मानव अधिकार संस्कृतिको विकास, नागरिक समाज र सरोकारवालालाई आफ्नो काम प्रभावकारी ढंगले गर्न प्रोत्साहित गर्ने उल्लेख गर्नुभयो ।

मानव अधिकार राष्ट्रिय महाभेला कार्यक्रमका संयोजक तथा शान्तिका लागि साझा अभियान कोक्यापका अध्यक्ष रोश्ना खड्काले यस्ता कार्यक्रम व्यक्तिगत प्रयासले भन्दा पनि सामुहिक प्रयासले मात्रै सम्भव हुने कुरा उल्लेख गर्नुभयो ।

महाभेलाको उद्घाटन समारोहका सभाअध्यक्ष समेत रहनुभएका कोक्यापका अध्यक्ष खड्काले महाभेलामा उपस्थित सम्पूर्ण अतिथिलाई धन्यवाद दिदै, महाभेलालाई सफल बनाउन सबै व्यत्ति तथा संघसंस्थालाई एकजुट भई सामूहिक रुपमा सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

महाभेलाको सहसंयोजन तथा शान्ति फाउण्डेसनका सञ्जमाया तामाङले – महाभेलाको उद्घाटन समारोहका अतिथिलाई स्वागत गर्दै मानव अधिकारको संरक्षणमा मानव संसाधन विकासले खेलेको भूमिका बारे चर्चा गर्नुभयो ।

उहाँले मानव बेचबिखन एचआईभी संक्रमणबाट प्रभावित समुदायको मानव अधिकारको सुनिश्चितताको लागि अझ धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।
महाभेला मुल आयोजक समितका सहसंयोजक तथा (फ्यान)का खगेन्द्र ओलीले महाभेलाको उदघाटन समारोह कार्यक्रमको सहजीकरण गर्नभएको थियो भने शान्ति फाउन्डेसनले समाजमा व्याप्त मानव बेचबिखनलाई प्रतिबिम्बित गर्ने सन्देशमुलक नृत्य प्रस्तुत गरेको गरेको थियो । नृत्यमा महिलाहरू बेचबिखन हुँदाका भावनात्मक, शारीरिक पीडा र संघर्षका कथाको चित्रण गरिएको थियो ।

कार्यक्रमको उदघाटन समारोहमा मानव अधिकारका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने विभिन्न व्यत्तित्वहरुलाई विभिन्न पुरस्कारहरुले सम्मान गरिएको छ । महाभेलाबाट कृष्ण प्रसाद भण्डारीलाई, मानव अधिकार राष्ट्रिय महाभेला कदर सम्मान २०७८, मानव अधिकार राष्ट्रिय महाभेला कदर सम्मान २०७७ बाट भद्रमान घले, पद्मरत्न तुलाधर राष्ट्रिय मानव अधिकार तथा शान्ति पुरस्कार २०७८ डा. रेणु अधिकारी, पद्मरत्न तुलाधर राष्ट्रिय मानव अधिकार तथा शान्ति पुरस्कार २०७७ डा. रेणु अधिकारी, शान्तालक्ष्मी महिला मानव अधिकार पुरस्कार २०७८ मुस्कान खातुन र शान्तालक्ष्मी महिला मानव अधिकार पुरस्कार २०७७ सपना रोका मगर सम्मानित हुनुभएको छ ।

मानव अधिकार दिवस १० डिसेम्वरको सन्दर्भमा यस वर्षको ७३ औ मानव अधिकार दिवस नेपालमा मानव अधिकार, शान्ति, लोकतन्त्र, सुसाशन र दिगो विकासका पक्षमा क्रियाशील नागरिक समाज, संघ संगठन, मानव अधिकार तथा सम्पूर्ण न्यायकर्मीहरु र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त पहलमा सन २००९ देखी प्रत्येक वर्ष आयोजना गरिदै आएको छ ।

यो मानव अधिकार राष्ट्रिउ महाभेलाको १३ औ संस्करण हो । यस वर्षको मानव अधिकार महाभेला कार्यक्रम आज ८ डिसेम्वर २०२१ देखी सुरु भएर १४ डिसेम्वर, २०२१ सम्म, विभिन्न कार्यक्रमहरु गरी मनाईदै छ ।

प्रतिकृया दिनुहोस्