RaraNews

प्रकाशित : २०७८/८/१८ गते
४६३ पटक

‘डेरा पाउन थर ढाँटेका दलित समुदायका व्यक्तिहरुले घरबेटीका अगाडि सही विवरण दिन सकेनन्’

मंसिर १८, २०७८प्रकृति दाहाल

काठमाडौँ — व्यक्तिगत विवरण फाराम भर्ने भन्दै जनगणनाको टोली उनको डेरामा आइपुग्यो । गणकले व्यक्तिगत र पारिवारिक विवरण खुलाउन चाहे । तर, थर खुल्ने डरले उनले वास्तविक पहिचान दिन सकेनन् । उनी दलित समुदायका हुन् । थर लुकाएर डेरामा बसेका उनलाई जनगणनाको विवरण टिपाउँदा पनि थर ढाँट्नुपर्‍यो । 

किन त ?

४१ वर्षीय उनी भन्छन्, ‘घरबेटीकै अगाडि थर खुलाउँदा कोठाबाट निकालिदिने डर छ । पहिले थर लुकाएरै डेरा पाएको हुँ ।’ उनले हामीसँग पनि नाम खुलाउन चाहेनन् । दलित समुदायका व्यक्तिले काठमाडौंलगायत सहरी क्षेत्रमा थर लुकाएर बस्नुपर्ने बाध्यता अझै रहेको उनी बताउँछन् । बानेश्वरमा ६ वर्षदेखि बस्दै आएका उनले घरबेटीको डरले झूटो विवरण टिपाए । उनका परिवारका पाँचै सदस्यले यसैगरी ढाँटेर विवरण दिए । घरभाडामा सुरक्षित बस्न र अपमानित हुनुपर्ने डरले दमाईं जातका उनी थर परिवर्तन गरेर सो घरमा बस्दै आएका रहेछन् । ‘साँचो भन्यो भने घरबेटीले निकाल्छ, त्यसैले झूटो बोल्नुपर्‍यो,’ उनले भने, ‘तथ्यांक दिनुभन्दा त सम्मानपूर्वक आवास पाउनु नै ठूलो कुरो रहेछ ।’

गणकहरूका अनुसार यस्ता घटना सहरी क्षेत्रमा बढी देखिएका छन् । ‘यद्यपि यसको असर भने सरकारी तथ्यांकमा देखिन्छ,’ एक गणकले भने, ‘नागरिकको वास्तविक पहिचान नखुल्दा राष्ट्रिय अभिलेखमै समस्या आउने भयो ।’

कीर्तिपुर बस्दै आएकी दलित समुदायकी सविता (नाम परिवर्तन) ले पनि आफू क्षत्रीका रूपमा चिनाएर घरभाडामा बस्दै आएकी छन् । विराटनगरकी उनी ६ वर्षदेखि काठमाडौंमा छिन् । घरबेटीलाई वास्तविक थर नखुलाएकी उनले गणकलाई पनि थर ढाँटिन् । ‘हामी चार जना बस्छौं,’ ४४ वर्षीया उनले भनिन्, ‘जात थर खुलाएको घरबेटीले थाहा पाए भने भोलि कहाँ जाने, कता बस्ने ?’ सानेपाकी कृष्णा (नाम परिवर्तन) ले त कोठाभित्रै गणकलाई बोलाएर गोपनीयतामा ख्याल राख्न सुझाइन् ।

जनगणना संकलन गर्न फिल्डमा खटिएका गणकले दलित समुदायका व्यक्तिले आफ्नो थर खुलाउन कठिन भएको महसुस गरेका छन् । वास्तविक थर खुलाउन आनाकानी गर्दा समुदायको पहिचानमा पनि असर पर्ने कलंकी क्षेत्रमा खटिएका गणक विकास खड्काले बताए । ‘दुई सयभन्दा धेरै घरमा गणना गर्दा दलितहरूले रिसाल, घिमिरे, शर्मा, सापकोटा जस्ता थर राखेको पाइयो,’ उनले भने, ‘निर्धक्क जात नखुलाउँदा विवरण संकलनमा केरमेट गर्नुपरेको छ ।’

उनका अनुसार कलंकीमा चार जनाको परिवारका घरमूलीले शर्मा लेख्ने गरे पनि गणकलाई तामाङ टिपाए । तर उनकी छोरीले ‘हामी त सुनार जाति हौं’ भनेकी थिइन् । ‘यसरी परिवारका सदस्यमै थरमा दुविधा हुँदा समस्या भयो,’ खड्का भन्छन्, ‘यो समस्या डेरामा बस्नेहरूमा मात्र छैन घरबेटीमा पनि देखियो ।’

कुलेश्वर हाइटमा गणना गर्ने अर्की गणकले जात खुलाउने कि नखुलाउने दुविधाले धेरै समस्या झेल्नुपरेको अनुभव सुनाइन् । उनले कुलेश्वरमा २ सय ५० घरमा गणना गरेकी थिइन् । ‘दलित समुदायका करिब ९५ प्रतिशतलाई जात खुलाउनका लागि धेरै सम्झाएँ पनि तर जात किन भन्नुपर्‍यो भनेर उल्टै मलाई नै प्रश्न गरे,’ उनले भनिन्, ‘थर लेख्नुस्, जात नसोध्नु भन्दै अड्डी कस्ने पनि पाइयो । जात खुलाउँदा समाजले नराम्रो दृष्टिकोणले हेर्छन् भन्ने उनीहरूको जवाफ थियो ।’

२०६८ को जनगणनाअनुसार दलितहरूको संख्या १३.५ प्रतिशत छ । तर यस पटकको गणनामा दलितको संख्या घट्न सक्ने गणकहरू अनुमान गर्छन् । राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले गाउँमा उस्तो समस्या नभए पनि सहरमा दलितको संख्या घटेर आउन सक्ने अनुमान गरे । उनका अनुसार हालको जनगणनामा दलित समुदायका व्यक्तिहरू नामथर लेख्ने तर जातमा भने अन्य जात समावेश गर्ने पनि छन् । यसले सही तथ्यांक आउनेमा उनको शंका छ ।

‘सहरी क्षेत्रमा जात ढाँट्नुपर्ने बाध्यताका कारण सही विवरण आएको छैन,’ उनले भने । यसको समाधानका लागि केन्द्रीय तथ्यांक विभागसँग गणनाका क्रममा गोपनीयताको ख्याल गर्न वा त्यो पनि सम्भव नभए स्थानीय तहमार्फत गणना गराउन आग्रह गरिएको उनको भनाइ छ । ‘सहरका दलितहरूमा खुलेर जात भन्न नसक्ने डर भएकाले गोपनीयताको ख्याल गर्दिनुस् भनेर विभागसँग छलफल गरेका थियौं,’ पुर्कुटीले भने, ‘तर त्यो प्रभावकारी भएन ।’

दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष भक्त विश्वकर्माले विभागलाई आफूहरूले मुख्य तीन कुरामा ध्यानाकर्षण गराएको बताए । ‘थर लेख्न पाउनुपर्छ भनेर हामीले सुझावपत्र बुझाएका थियौं । जातको कोलममा विश्वकर्मा, मिजार, परियारलगायत राखेर सोहीअनुसार तथ्यांक संकलन गरिनुपर्छ भनेका थियौं । सहरमा बसेका दलित समुदायलाई गणनामा समस्या हुन्छ भनेर वडा कार्यालयमार्फत गणना गर्न पनि आग्रह गर्‍यौं,’ उनले भने, ‘यी सुझाव विभाग र राष्ट्रिय योजना आयोगमा पेस गरे पनि सुनुवाइ भएन ।’

जनगणनाका क्रममा ६ महिनाभन्दा बढी बसेको स्थानलाई नै सोही स्थानको बासिन्दा भनेर गणना गरिएको छ । तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछाने व्यक्तिले झूटो विवरण दिँदा तथ्यांकमा नै असर गर्ने बताउँछन् । ‘जनसंख्याका आधारमा विकास र समृद्धि हुने भएकाले ६ महिनाभन्दा बढी जहाँ बसेको छ, सोही स्थानको बासिन्दाका रूपमा गणना भएको छ । जात र थर फरक टिपाउँदा संख्याका आधारमा फरक नपरे पनि जातका आधारमा भने तथ्यांक तलमाथि पर्न सक्छ ।’

दलित समुदायका सरोकारवालाको सुझावअनुसार विवरण टिपाउँदा असहज महसुस भएमा गणकलाई छुट्टै बोलाएर टिपाउने, त्यो पनि सम्भव नभए विभागमा सम्पर्क गर्न सुझाव दिइएको लामिछानेको भनाइ छ । उनका अनुसार यो सुविधा उपत्यकामा मात्र नभई बाहिरी सहरका जिल्ला गणना कार्यलयमा पनि मिलाइएको थियो । यति सुविधा हुँदाहुँदै पनि जनगणनामा जातका कारण असहज महसुस भयो भनेर कुनै गुनासो नआएको उनले बताए । ‘सम्बन्धित निकायमा गुनासो नगर्ने अनि झूटो विवरण दिने व्यक्ति नै गैरजिम्मेवार बनेपछि के गर्ने ?’ उनले प्रश्न गरे ।

स्रोत ईकान्तिपुर

प्रतिकृया दिनुहोस्