RaraNews

प्रकाशित : २०७८/६/९ गते
६०९ पटक

आश्विन ९ काठमाडौं- सामुदायिक आत्मनिर्भर सेवा केन्द्रलाई भुमि सम्बन्धी अध्ययन, अनुसन्धान गर्ने स्रोत केन्द्रको रुपमा विकास गर्नु पर्नेमा केन्द्रको १४ औं सामाजिक लेखाजोखा कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन ।

उनीहरुले लामो समय देखि केन्द्रले भुमि अधिकार,पैरवी,अध्ययन,अनुसन्धान गर्दै आएकाले पनि भुमि सम्बन्धी स्रोत केन्द्रको रुपमा विकास गर्न सुझाएका हुन । केन्द्रले संस्थागत पारर्दिशता र सुशासनको लागि शुक्रबार काठमाडौमा सामाजिक लेखाजोखा कार्यक्रममा मार्फत वार्षिक कार्यक्रम, उपलव्धि, आम्दानी,खर्च र भावी योजना सार्वजनिक गरेको हो ।

केन्द्रका अपरेशन संयोजक गीता पण्डितले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०७७÷०७८ मा कुल ७ करोड ५१ लाख ८५ हजार ४ सय ४४ रुपियाँ उपयोग गरेको जानकारी दिनु भयो ।
नौ ओटा साझेदार संस्थाहरुको सहयोगमा काम गर्दै आएको केन्द्रले १३ ओटा प्रकारका कार्यक्रम गर्दै आएको छ । केन्द्रका कार्यकारी निर्देशक कल्पना कार्कीले प्रगती प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको सहजीकरणमा ८१,७८० परिवारले ७,६८६ हेक्टर जमिनमा स्वामित्व कायम गरेको बताउनु भयो । त्यस्तै यस वर्ष ७ प्रदेशको १४ स्थानीय तहसँग सहकार्य गरी १७,३३८ भूमिहीन र ७४,१९९ अव्यवस्थित बसोबासीको लगत सङ्कलनमा सहयोग गरेको जानकारी दिनु भयो ।

यता निर्देशक कार्कीले सिन्धुपाल्चोकको हेलम्बुको तेम्बाथाङ र नोर्बुलिङ एकीकृत वस्तिका ४० परिवारको जीविकोपार्जनमा सहयोग, पाँचपोखरी थाङ्पाल र जुगल गाउँपालिमा भौगर्भिक अध्ययन गरि पहिचान भएका अति जोखिमयुक्त ३१ वटा बस्तीमा स्थानीय तहसँगको साझेदारीमा साना अल्पीकरणका कार्यक्रमहरू , जुगलको लिदी पहिरोबाट प्रभावित ३० परिवारलाई अस्थायी आवासमा सघाएको, मेलम्ची बाढी प्रभावित अति विपन्न २१० परिवारलाई खाद्यान्न उपलब्ध गराएको र हेलम्बुका बाढीबाट विस्थापित अति विपन्न २० घरपरिवारलाई अस्थायी घर निर्माणमा सघाएको प्रतिवेदनमा उल्लेख गर्नु भएको थियो । केन्द्रले कोरोना महामारीमा पनि कोरोना प्रभावित भुमि अधिकारकर्मी,स्थानिय तहहरुलाई पनि सहयोग गरेको जनाईएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेसी विश्लेषक सरिता कार्की, युएन–ह्याबिटाटका कार्यक्रम संयोजक राजाराम छतकुली, त्रिभुवन विश्वविद्यालयका मानवशास्त्र विभाग प्रमुख डा.डम्बर चेम्जोङ, शिक्षा अभियान्ता पुनम कुँइकेल, पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टाँसी लामा, जुगल गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङ, गैरसरकारी संस्था महासंघका अध्यक्ष जीताराम लामा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशी लगायतले आत्मानिर्भर केन्द्रले भूमि अधिकार अभियानको क्षेत्रमा गरेको काम उपलब्धिमूलक रहेको बताएका थिए ।

केन्द्रका अध्यक्ष गोपाल थापामगरले संस्थागत पारदर्शिता र जवाफदेहीता प्रवर्धन गर्न एवम् संस्थाको कामको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न वार्षिक रुपमा सामाजिक लेखाजोखा गर्दै आएकोे बताउनु भयो । कार्यक्रममा बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिले, भुमि अधिकारकर्मी,नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्