RaraNews

प्रकाशित : २०७८/४/९ गते
६६६ पटक

काठमाडौँ, साउन ९ गते । जातीय भेदभाव तथा छुवाछूतका बिषयलाई प्राथमिकताका साथ प्रकाशन प्रसारण गर्न सम्पादकहरुको ११ बुँदे नगरकोट प्रतिवद्धता पत्र जारी गरेका छन । जागरण मिडिया सेन्टरद्धारा शक्रवार र शनिवार आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रमको समापनमा सम्पादकहरुले समावेशी मिडिया निर्माणका लागि प्रतिवद्धता पत्र जारी गरेका हुन ।

प्रतिवद्धता पत्रमा भनिएको छ, जातीय भेदभाव तथा छुवाछूतका बिषयवस्तुलाई प्राथमिकताका साथ मिडियामा प्रकाशन प्रसारण गर्न गराउन हामी प्रतिवद्ध छौँ । सरकारी तथा निजी मिडियामा संविधान र समावेशीकरणको भावना अनुरुप दलित समुदायको समानुपातिक सहभागिताको सुनिश्चितताका लागि आफुहरु प्रतिवद्ध रहेको सम्पादकहरुको भनाई छ ।

मिडिया हाउसको सम्पादकीय नीतिमा जातीय भेदभाव तथा छुवाछूत, लैङ्गिक लगायत सबै प्रकारका विभेदका बिषयलाई प्राथमिकता दिन, दलित तथा सामाजिक विट निर्माणमा सम्पादकहरुले प्रतिवद्धता गरेका छन । राष्टिय आमसञ्चार नीतिलाई समसामयिक बनाउदै यसका प्रावधानलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा प्रतिवद्धता जनाइएको छ ।

सरकारी सञ्चारमाध्यमहरु गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति लगायतका संस्थानहरुको सञ्चालक समितिमा हुने नियुक्ति समावेशी सिद्धान्तको आधारमा र सम्पादकीय समुहमा दलित समुदायको सहभागीता सुनिश्चित गर्न गराउने र समावेशी मिडियाका लागि सम्पादकहरु प्रतिबद्ध रहेका छन ।

२०६९ सालमा गठित सञ्चार माध्ययमलाई समावेशीकरण गर्ने सम्बन्धि उच्चस्तरीय आयोगको प्रतिवेदन र त्यसभन्दा अघि गठन भएको उच्चस्तीय समावेशी मिडिया आयोगको प्रतिवेदन पूर्ण कार्यान्वयन गर्न गराउने पैरवी गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

सोही अवसरमा अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारीले आफू सम्बद्ध मिडिया हाउसलाई सबै हिसावले समावेशी बनाउनका लागि सक्दो प्रयास गर्ने बताउनुभयो ।

गोरखापत्र दैनिकका कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्लेले मुलधारका मिडियामा दलित समुदायको सहभागिता र विषयवस्तु सम्वोधनका लागि नीतिगत व्यवस्था गर्न जोड दिनुभयो ।

सेन्टरका अध्यक्ष कमला विश्वकर्माले सेन्टरले विगत लामो समयदेखि दलित समुदायको विषयमा लेख्न सक्ने पत्रकार उत्पादनमा जोड दिँदै आएको बताउनुभयो । संस्थाका संस्थापक तथा कार्यकारी निर्देशक रेम विश्वकर्माले समय परिवेष अनुकुल उक्त मुद्धामा पत्रकारहरुको लागि विषगत क्षमता अभिवृद्धि र लेखनवृतिका सम्वन्धमा थप काम अघि बढाउने बताउनुभयो ।

कार्यक्रममा नागरिक खबरका सम्पादक डण्ड गुरुङ, हरेक पल अनलाइनका सम्पादक प्रकाश थापा द हिमालय टाइम्सका व्यूरो प्रमुख राजकुमार कामत, सहित २५ जना पत्रकारको सहभागीता थियो ।

प्रतिकृया दिनुहोस्