RaraNews

प्रकाशित : २०७८/४/७ गते
७२७ पटक

जातीय बिभेद विरुद्धको अबको अभियान लेखनबाट थाल्नु पर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन । उनीहरुले वर्षै देखि जगडिएर रहेको जातीय विभेद सम्बन्धी सोच,कुसंस्कार,मान्यताको पर्खाल भत्काउन ज्ञान उत्पादन र संप्रेषण मार्फत सोचमा परिर्वतन ल्याउनु पर्ने बताएका हुन ।

जागरण मिडिया सेन्टरले बिहिबार काठमाडौंमा आयोजना गरेको नेपाली लेखनमा दलित सवाल बिषयक अन्र्तक्रिया कार्यक्रममा उनीहरुले सो कुरा बताएका हुन । कार्यक्रमका सहभागिले अबको आन्दोलन शशक्तरुपबाट कलम मार्फत लैजानु पर्ने बताउदै पाठ्यपुस्तक ,कला,साहित्य ,मिडियामा भैरहेका विकृति सुधार गर्नु पर्ने कुरामा जोड दिईएका छन । पछिल्लो समय मिडियामा जातीय बिभेद सम्बन्धी लेख,रचना,विचारले केही भए पनि स्थान पाए पनि त्यो ज्यादै कम र घटना बिशेषमा मात्रै स्थान पाएको बताईएको छ ।

कार्यक्रममा बोल्दै लेखक तथा साहित्यकार रणेन्द्र बराईलीले दलित समुदायका पुराना लेखकहरुले लेखेका ,लेख,रचना, पुस्तकहरु व्यवस्थित गरि नयाँ पुस्तामा ज्ञानको हस्तान्त्रण गर्नु पर्ने विचार व्यक्त गर्नु भयो । त्यस्तै नेपाल सरकारका पुर्व सचिव डा.मान बहादुर बिकेले जातीय बिभेदका सवालमा अखबारी लेखन बढे पनि खोजमुलक,अनुसन्धामुलक,ज्ञान बढाउने खालका लेखनको अभाव भएको बताउनु भयो । उहाँले दलितको समस्या राज्यकै समस्या भएकाले मिडियाहरुले पनि बिशेष स्थान दिनुपर्ने कुरामा जोड दिनु भयो । लेखक तथा अधिकारकर्मी गणेश बिकले दलित सवालमा राजनितीक दलहरु नै गम्भीर नभएको धारणा राख्नु भयो । उहाँले राज्यका हरेक निकायमा गैरदलितहरुकै बर्चस्व भएकाले त्यसको असर मिडियामा पनि परेको बताउनु भयो । लेखक डा.सञ्जीव उप्रेतीले साहित्य लेखनमा पनि अधिकांश एउटै वर्ग,जातबाट लेखिएको वास्तविकता सुनाउनु भयो । उहाँले दलित सवालमा अन्य समुदायले लेख्दा फरक दृष्टीकोण झल्कीदा झनै अन्याय हुने हुदा दलितले अगुवाई र अन्य समुदायले सहयोग गर्नु पर्ने बताउनु भयो ।

अर्का लेखक डा.तारालाल श्रेष्ठले दलित समुदायको विषय संवेदनशील बिषय भएकाले अन्य अभियानसंगै प्राज्ञिक अभियान पनि थाल्नु पर्ने भनाई राख्नु भयो । यो अभियानमा सबैको साझा अभियान भएकाले स्वःस्फुर्तरुपमा जोडिन आह्वान गर्नु भयो । लेखक तथा अभियान्ता जे.वी.विश्वकर्माले लेखन आफैमा आन्दोलन भएकाले दलित आन्दोलनको मुद्धा लेखन बन्नुपर्ने बताउनु भयो । उहाँले कतिपय लेखनहरु घटना बिशेष,मैसमी र सहानुभुतिका लागि लेखिएको र लेखनको माओल नै सृजना हनु नसकेको भन्दै दलितहरुको ईतिहास,संर्घष,जात व्यवस्था,मुक्तीका सवालहरु लेखिनु पर्ने सुझाव दिनु भयो । त्यस्तै कार्यक्रममा अभियान्ता सन्तोष परियारले राज्यको चरित्र अनुरुप मिडियाहरु भएकाले दलित सम्बन्धी लेखहरुलाई स्थान नदिएको गुनासो गर्नु भयो ।

कार्यक्रममा कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लेख तथा अधिकारकर्मी शुशिल बि.के.ले वि.सं. १९१० जंगबहादुरको पालामा मुलुकी ऐना लागु गरेर बिभेद शुरुभएको ईतिहास रहेको बताउदै अहिले कानुन बनाएरै हटाउदा पनि सोचमा परिर्वतन नहुदा दलित समुदायले बिभेद सहनु परेको बताउनु भयो । दलित समुदाय सबै भन्दा शिल्पी र स्वाभिमानी समुदाय भएकाले राज्यले नै उनीहरुलाई गरिब बनाउँन भुमिका खेलेको आक्रोस व्यक्त गर्नु भयो । उहाँले लेखन मार्फत सोच परिवर्तन गराउन समावेशी मिडिया,दलित सम्बन्धी अध्ययन,अनुसन्धान ,खोजमुलक लेख लेख्न सीप,प्रेरणा तालिमको व्यवस्थापन गर्नुका साथै मिडियाहरुले पनि संवेदनशील भएर प्राथमिकतामा राख्नु पर्ने तर्क गर्नु भयो । जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माको अध्यक्षता कार्यकारी निर्देशक रेम विश्कर्माको संचालनमा भएको कार्यक्रमको कार्यक्रममा लेखकहरु गोकर्ण भट्ट,सचिन घिमिरे,दिनेश पन्त,रवि सेन्चुरी लगायतले आ आफ्ना धारणा राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्