RaraNews

प्रकाशित : २०७८/३/२५ गते
१२२४ पटक

२०७८ असार २५ गते, काठमाण्डौं – जागरण मिडिया सेन्टर भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७७ बाट सम्मानित भएको छ ।

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस बर्षको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७७बाट जागरण मिडिया सेन्टरलाई पुरस्कृत गरेको हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज आयोजित पुरस्कार वितरण कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट नगद एकलाख रुपैया र सम्मानपत्र सहित पुरस्कार ग्रहण गर्दै जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले संस्कृत, सिप कला शिक्षा साहित्य संस्कृति लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्रतर्फ जातीय छुवाछूत तथा भेदभाव विरुद्ध समाज परिवर्तनका लागि संस्थाले पुर्याएको योगदानको उच्च मुल्याँकन गर्दै नेपाल सरकारले सम्मान गरेको बताउनुभयो ।

उहाँले संस्थाले निर्माण गरेको दलन टेलिश्रृखलाको प्रभावसंगै समाजमा सामाजिक न्याय र समानताको लागि सञ्चार क्षेत्रबाट निरन्तर पैरवी गर्दै आएको परिणाम स्वरुप नेपाल सरकारबाट पुरस्कार प्राप्त गर्न सफल भएको हो, भन्नुभयो ।

जागरण मिडिया सेन्टरका संस्थापक तथा कार्यकारी निर्देशक रेम विश्कर्माले सम्माननिय प्रधानमन्त्री के.पी.शर्मा ओलीको प्रमुख आतिथ्यतामा, नेपाल सरकारद्धारा स्थापित भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७७ बाट जागरण मिडिया सेन्टरलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले सोसल मिडिया मार्फत नेपाल सरकार र भगत सर्वजित स्मृति प्रतिष्ठानलाई धन्यवाद दिदै, जागरण मिडिया सेन्टरलाई विगत देखि वर्तमानसम्म सवै तहवाट सहयोग गर्ने संस्था भित्र र बाहिरका रहेका सवैप्रति यो पुरस्कार र सम्मान समर्पीत गर्न चाहेको उल्लेख गर्नुभयो ।

पुरस्कारका लागि नेपाल सरकारको माननीय मन्त्रिस्तरको निर्णय अनुसार विधागत रुपमा गठित छनौट समितिले सिफारिस गरेको आधारमा जागरण मिडिया सेन्टरलाई भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट पुरिस्कृत गर्ने निर्णय गरेको थियो ।

दलित पत्रकारहरुद्धारा सन २०००मा स्थापित जागरण मिडिया सेन्टर दुई दशक देखी दलित आन्दोलन, सामाजिक न्याय, समानता र लोकतन्त्रका लागि सञ्चार पैरवी गर्दै आईरहेको संस्था हो । 

त्यसैगरी यस वर्षको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७७ बाट मानव अधिकार क्षेत्रमा क्रियाशिल संस्था अनौपचारिक क्षेत्र ईन्सेक र दलित मुक्ति आन्दोलनको क्षेत्रमा योगदान पुर्याउदै आउनुभएका संविधानसभासद पुरनसिंह दयाललाई पनि पुरस्कृत गरिएको छ ।

२०७८ साल बैशाष ५ गते भएको मन्त्रि स्तरको निर्णय अनुसार, विभिन्न क्षेत्रमा क्रियाशील भई समाज रुपान्तरणको भुमिकामा उच्च योगदान पुर्याउने विभिन्न तह तप्काका व्यत्ति तथा संघ संस्थाहरुलाई २०७७ सालको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरेको छ ।

दलित  आन्दोलनका संस्थापक नेता भगत सर्वजित विश्वकर्माको नामबाट स्थापित पुरस्कार सरकारले प्रत्येक वर्ष तीन जनालाई जनही एकलाख रुपैया सहित ताम्रपत्रले सम्मान गर्ने गर्दछ ।

भगत सर्वजित स्मृति प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष पुर्वमन्त्री छविलाल विश्वकर्माको विशेष पहलमा स्थापना गरिएको उक्त पुरस्कार नेपाली दलित आन्दोलनलाई सम्मान गरिएको अहिले सम्मकै ठुलो पुरस्कार हो । भगत सर्वजित विश्वकर्माको नाममा यस अघि सरकारले हुलाक टिकट पनि प्रकाशित गरिसकेको छ ।भगत सर्वजित विश्वकर्माको जन्म १९५० चैत ११ गते अहिलेको बाग्लुङ नगरपालिका -७ गैरागाउँ (ठाडास्वाँरा ) मा भएको थियो । भारतको बनारस बाट संस्कृत पढेर आएर नेपालमा दलित माथिको थिचोमिचो हटाउन पर्छ भनेर राणाकाल मा विद्रोह गर्ने उनी पहिलो दलित नेता हुन । ठुलठुला राजनीतिक परिवर्तन भए पनि उनलाई सधै  ओझेलमा पार्ने काम सरकारी तबरबाट भएको थियो । ७५ वर्ष अघि अर्थात २००३ सालमा सर्वजन संघस्थापना गरि पहिलो दलित मुक्तिको अभियान अगाडी बढाएका थिए । नेपालको सबै भन्दा पुरानो आन्दोलनमा  दलित आन्दोलनमा  भए पनि सबै भन्दा पछाडी यहि समुदाय लाई पारिएको छ ।

प्रतिकृया दिनुहोस्