RaraNews

प्रकाशित : २०७८/३/१० गते
८७९ पटक

काठमाडौं । जातीय विभेद तथा छुवाछुतलाई संरक्षण गरेको भन्दै दलित अधिकारकर्मी र विद्यार्थीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गरेका छन् ।

नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन र दलित अधिकारकर्मीले बिहिबार साँझ मन्त्री श्रेष्ठको पुत्ला दहन गरेका हुन् ।

‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित दिउसो माइतिघरमा प्रदर्शन गरेका विद्यार्थी र अधिकारकर्मीले साँझपख पुत्ला दहन गरिएको हो ।

पुत्ला दहन गरिरहेका विद्यार्थी र अधिकारकर्मीलाई प्रहरीले तितरवितर पारेको थियो ।

संरक्षित विभेदविरुद्ध आम प्रदर्शन तथा हस्ताक्षर अभियान नाम दिएर गरिएको प्रदर्शनमा ‘हाम्रो वर्ण, गोत्र अनि जातभन्दा माथि सबै अट्ने अलिकति ठाउँ खोजौं साथी’, जातिवादी राज्यसत्ता मूर्दावाद लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो ।

प्रदर्शनका सहभागीले हस्ताक्षर गर्दै जातिय विभेद विरुद्धको अभियानप्रति पनि ऐक्यवद्धता जनाएका छन् ।

दलित भएकै कारण काठमाडौं महानगरपालिका–११ बबरमहलकी सरस्वती प्रधानले दलित भएकै कारण आफूलाई कोठा दिन अस्वीकार गरेको आरोप लगाउँदै सञ्चारकर्मी रुपा सुनारले असार ३ गते महानगरीय प्रहरी वृत सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।

रुपाको जाहेरीको आधारमा घरधनी असार ६ गते पक्राउ परेकी थिइन् । पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ नै सरकारी गाडीसहित बुधबार महानगरीय प्रहरी वृत्त सिंहदरवारमा पुगेपछि मन्त्री श्रेष्ठको सामाजिक सञ्जालदेखि जताततै चर्को आलोचना भइरहेको छ ।

नेपालप्रेस डटकमबाट साभार

प्रतिकृया दिनुहोस्