RaraNews

प्रकाशित : २०७८/२/१३ गते
६९६ पटक

गोरखा : आरुघाट गाउँपालिका अप्रिकका लोकबहादुर गुरुङले १६ वर्षसम्म प्रहरी सेवामा काम गरेको कमाइले गोरखा बजारमा एउटा पक्की घर बनाए। घर बनाउँदा अपुग भएको १५ लाख रुपैयाँ तत्कालीन मनास्लु विकास बैंक (हाल एनएमबी)बाट ऋण लिएका थिए। घातक (खुट्टाको क्यान्सर) रोगबाट थलिएर उनी वीर अस्पतालको शय्यामा पुगेका बेला लगालग तीन किस्ता तिर्न सकेनन्।

बैंकको तारन्तारको ताकेताबाट पार पाउन श्रीमतीले गोरखा बजारका एक सुनचाँदी व्यवसायीसँग सयकडा ३६ रुपैयाँ ब्याज तिर्ने गरी २२ लाख रुपैयाँ ऋण लिइन्। तीन वर्षअघि लिएको २२ लाख रुपैयाँको सावाँ ब्याजबापत उनले हालै ७० लाख रुपैयाँको घर घडेरी गुमाए। अहिले सदरमुकामबाट केही पर डेरामा उनको बास छ। 

‘१६ वर्षसम्म जागिर आएको कमाइले बनाएको त्यै एउटा घर थियो, त्यै पनि साहूले आज पनि खाली गरिदे, भोलि पनि खाली गरिदे भनेर हैरान पार्‍यो। एक महिनाअघि त्यही साहूको नाममा राजीनामा पास गरिदिएँ’, उनले भने, ‘२२ लाख रुपैयाँको सावाँ, ब्याज तीन वर्षमा ७० लाख कसरी भयो ? त्यसमाथि दुई लाख रुपैयाँ नगद पनि दिएको थिएँ। घर पनि गयो, पैसा पनि गयो, सबैथोक गुम्यो। म बरबाद भएको छु।’


 गोरखा नगरपालिका ६ ढाँडगाउँका जुठे विकको हातमा त्यो लालपुर्जा छ, जसको सबै विवरणहरू रातो मसीले काटिएका छन्। छोराहरूलाई मूर्तिकलाको व्यवसाय गर्न भन्दै गोरखा बजारका एक व्यापारीसँग सयकडा ३६ रुपैयाँ ब्याजमा तीन लाख ५० हजार रुपैयाँ र अर्का साहूसँग चार लाख रुपैयाँ ऋण लिए। 

त्यसबापत उनले आफ्नो घरजग्गा उनै साहूको नाममा राजीनामा पास गरेर दिए। पैसा तिरेपछि फिर्ता पाउने भरोसामा अहिले सबै कित्ता नम्बर काटिएको रित्तो लालपुर्जा लिएर बसेका छन्। ‘ऋण तिरेपछि साहूले लालपुर्जा फिर्ता दिन्छु भनेको छ’, उनी भन्छन्, ‘पहिले­–पहिले त दृष्टिबन्धक(धितोबन्धक) मात्र राख्ने चलन थियो। अहिले साहू मानेन। राजीनामा पास गरिदिनुपर्छ भन्यो। त्यही भएर राजीनामा पास गरिदिएँ।’

सावाँ ब्याज जोड्दा त्यति जग्गाले पनि नपुग्ने भइसकेको खबर साहूले पठाएको उनका छोरा दिपेश विकले बताए। ‘यति जग्गाले नपुग्ने भयो। साहूले अब मामाघरको जग्गा दिने भए मात्र पुग्छ भनेको छ’, उनले भने, ‘भन्ने बेलामा ३६ प्रतिशत ब्याज भनेर बोलकबोल गर्छन्। लिने बेलामा ५०, ६० प्रतिशतको दरले हिसाब गरेर लिन्छन्। हाम्रो टाट पल्टिने भयो।’

गोरखा नगरपालिका­–६ ढाँड गाउँका चन्द्रवीर विक र काले विकले २०७१ सालमा गोरखा बजारका एक साहूलाई लालपुर्जा बुझाएर २ लाख रुपैयाँ ऋण लिए। साहूले उनीहरूलाई नपत्याएकाले बिचौलिया प्रयोग गरेका थिए। बिचौलियालाई १० हजार दिएपछि उनीहरूको हातमा जम्मा १ लाख ९० हजारका दरले रकम पायो। तीन वर्षपछि काले विक लालपुर्जा निखन्न जाँदा साहूजीले आनाकानी गरे। 
‘अहिल्यै किन तिर्नुपर्‍यो भनेर सोधे। मैले यो लालपुर्जा राखेर बैंकबाट अल्ली धेरै ऋण झिक्नु पर्‍यो भनेँ’, उनले भने, ‘तर साहूले लालपुर्जा यहाँ छैन, कता परेको छ भनेर निखन्न आलटाल गर्‍यो। बरु अहिलेलाई काम चला भनेर त्यसमाथि २ लाख रुपैयाँ थपेर पठाए।’

छ वर्षपछि ऋण चुक्ता गरी लालपुर्जा माग्न जाँदा दुई लाख रुपैयाँको १० लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हिसाब देखाएका चन्द्रवीर विकले बताए। ‘सुरुमै साहूले १० आना जग्गा राजीनामा पास गरेर देऊ, भनेका थिए। मैले मानिन। दृष्टिबन्धक मात्र गरेर दिएँ’, उनले भने, ‘छ वर्षपछि हिसाब गर्न जाँदा १० लाख ५० हजार रुपैयाँ मागे। छ वर्षमै पाँच दोब्बरभन्दा बढी कुन हिसाबले हुन्छ ?’ सुरुमा २४ प्रतिशतका दरले तिर्ने भनेर समझदारी गरेको तर हिसाब गर्दा ५०, ६० प्रतिशतका दरले गरेको उनले बताए।  

गोरखा नगरपालिका–६ पोखराथोकको दलित बस्ती र घरजग्गा सबै गुमाएका जुठे विकको लालपुर्जा ।  तस्बिर : शिव उप्रेती

साहूको नाममा घरजग्गा राजीनामा पास गरेर ऋण लिएको केही वर्षमै टाट पल्टेको गोरखा सदरमुकाममा धेरै उदाहरणहरू भेटिन्छन्। विशेषगरी बजार काँठका दलितहरू यस्तो समस्याका शिकार भएका छन्। साहूले पत्याउँदैमा खुशी भएर ऋण लिने र फुर्मास गर्ने गर्दा आफ्नो र सन्तानको भविष्य बिगारेका घटना घरैपिच्छे रहेको पोखराथोकका बाबुराम सिर्मल बताउँछन्। ‘पत्यायो भन्दैमा साहूसँग सयकडा ३६ ब्याजमा ऋण लिन्छन्। फुर्मास गरेर उडाउँछन्। अनि पाँच, छ वर्षपछि ब्याज र स्याज गरेर साहूले घरजग्गा खाइदिएको धेरै उदाहरण यो गाउँमा छ’, २० वर्षसम्म वडाअध्यक्ष भएर काम गरेका सिर्मलले भने, ‘ऋण लिएर कसैले छोराछोरीको बिहे गर्छन्, कसैले खाएर, लाएर उडाउँछन्। हामीले जति अर्ती उपदेश दिए पनि गाउँलेले सुन्दैनन्।’

साहूहरूले पहिले मालपोतबाट घरजग्गा पास गरेर लिने अनि मात्र चर्को ब्याजमा ऋण दिने परम्पराले यहाँका दलित समुदाय घरजग्गाविहीन हुने अबस्थामा पुगिसकेका छन्। साहू रिसाउने र ऋण नपत्याउने डरले आफन्त र छरछिमेकलाई समेत थाह नदिई उनीहरू पहिले साहूको नाममा जग्गा नामसारी गर्ने र ऋण लिने गर्छन्।  ‘हरेक वर्षको ब्याज सावाँमा जोडेर त्यसलाई पनि सावाँ बनाउँदा हामी पनि हाम्रो समुदायका धेरैको टाट पल्टिएको छ’, ढाँडगाउँमा चन्द्रवीर विकले भने, ‘ढाँड गाउँमा १८ घर छन्। १३ वटा घरका घरधनीसँग लालपुर्जा छैन। कसैले साहूकोमा दृष्टिबन्धक राखेका छन्, कसैले राजीनामा पास गरेर दिएका छन्। 

दुई वर्षमै तीन दोब्बर, चार दोब्बर हुँदै गएको ऋण तिरेर लालपुर्जा फिर्ता गर्न सक्ने खुबी कसैको छैन। यो गाउँको मान्छे भित्रभित्रै सबै टाट पल्टिसकेका छन्।’ गाउँलेहरू समस्याको उचित समाधानको खोजीमा रहेको उनी बताउँछन्। गोरखा बजार छेउछाउका अनपढ दलित समुदायको घरजग्गा दृष्टिबन्धक राख्ने भनेर साहूहरूले झुक्याएर राजीनामा पास गरेको धेरै उदाहरण रहेको मालपोत कार्यालयका लेखापढी व्यवसायीहरूको भनाइ छ। ‘हामी त यस्तो पाप काम गर्दैनौँ। तर, कतिपय लेखापढी व्यवसायी साथीहरू साहूको इशारामा दृष्टिबन्धक गर्ने भनेर ढाँटछल गरी रजिस्ट्रेसन पास गर्ने कागजात बनाइदिन्छन्’, नाम नखुलाइदिन अनुरोध गर्दै केही लेखापढी व्यवसायीहरू भन्छन्, ‘कतिपयको बास उठेर जिल्लै छोडेर गएका छन्। कतिपय घरबारी छोडेर डेरा लिएर बसेका छन्।’

http://annapurnapost.com/news/180397
प्रतिकृया दिनुहोस्