RaraNews

प्रकाशित : २०७८/२/१३ गते
९४८ पटक

चितवन । रुकुम घटना भएको एक वर्ष पुरा भएको भोलिपल्ट अर्थात जेठ ११ गते मंगलबार चितवनमा दलित परिवार माथि निर्घात कुटपीट भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ९ स्थित स्थानीय सेते श्रेष्ठ र उनकी श्रीमती चिनीमाया श्रेष्ठले जातीय गालीगलौज गर्दै सोही वडाकी कल्पना परियार र उनका छोरा अमृत परियारलाइ निर्घात कुटपीट गरेको पीडित परियारले बताइन ।

पीडित परियारले घटनाका बारेमा जानकारी दिँदै भनिन्, “कुरा मंगलबार साँझको हो । साँझतिर म बारीतिर जाँदै थिए । चोरीको हल्ला सुनेर म त्यतातिर गए । त्यहाँ जाने बित्तिकै सेतेको श्रीमतीले मलाई हेर्दै रिसले मुरमुर्दै, ‘थुक्क दमिनी । आज फेरि दमिनीको अनुहार हेर्नुपर्यो ।’ भन्दै जातीय गाली गलौज गरिन् ।”


“किन यसरी गाली गरिएको भन्ने पनि मलाई थाहा थिएन । मलाई अचम्म लाग्यो । मेरो केही गल्ती पनि थिएन । मलाई एक्कासी दमिनी भन्दै गाली गरेको देखेर मलाई नमज्जा लाग्यो । मैले किन यस्तो भन्नुभएको, मैले तपाईको के बिगारेकी छु र? मात्र के भनेकी थिएँ, उनी म माथि झम्टिइन् । मेरो कपाल समातेर मलाई भुँइमा पछारिन् । म उनीबाट उम्किन बल गर्दै थिए । मलाई पिटेको देखेरे मेरो छोरा अमृत छुटाउन आए । त्यसपछि मेरो छोरालाई समेत सेतेका छोरा राजकुमार श्रेष्ठले लछारपछार गर्दै कुटपिट गर्न थाले ।” उनले भनिन् ।

सेते श्रेष्ठकी श्रीमती चिनीमाया श्रेष्ठले कल्पनालाई घटना हुनुभन्दा पहिले पनि पटक पटक “श्रीमान टोकुवा, तँ दमिनी, अछुत” भन्दै गालि गलौज र धम्कि दिँदै आएको स्थानियले बताए ।

दुई छोरी र एक छोराकी आमा कल्पना परियार एकल महिला हुन । श्रीमानको मृत्युपछि घरको आर्थिक कारोबारसहित छोराछोरीको पढाई लगायत सबै जिम्मेवारी उनी एक्लैले हेर्दै आएकी छिन् । पीडित कल्पना र अमृतको भरतपुरस्थित ‘अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर’मा उपचार भइरहेको कल्पनाकी छोरी पुजा परियारले जानकारी दिइन् । अमृतको कुमनेरको जोर्नी भाँचिएको छ भने कल्पना सामान्य घाइते भएकी छिन् ।

आफुहरुलाई बिना कारण कुटपीट र दलित भन्दै अपमान गरिएको भन्दै पीडित परियारले घटनामा संलग्न दोपीलाई कानुन अनुसार कावाहीको माग गरेकी छन् । तर, वडा कार्यलयले भने गाँउघरको सानोतिनो घटना भनेर मिलापत्रमा जानुपर्ने भन्दै दवाव दिइरहेको कल्पनाले बताइन् । आफुहरु कुनै पनि हालतमा मिला पत्रमा नजाने उनकोे भनाई छ ।

नेपालमा जातीय भेदभाव, छुवाछुत कसुर र सजाँय ऐन २०६८ समेत पारित भइसकेको छ । संबिधानले जातीय बिभेदको अन्त्य घोषणा गर्दै अपराधीलाई कानुनी सजाँयको समेत ब्यवस्था गरेको अवस्थामा यस्ता खाले जातीय बिभेद र कुटपीटजस्ता अमानवीय घटना हुनु कानुन बिपरित भएको राप्ती नगरपालिकाका कार्यपालिका सदस्य आइतीदेवी दराइले बताइन् । उनले घटनाप्रति दुख व्यक्त गर्दै जातिय विभेदको कारण समुदाय स्तरमा भएको यस किसिमको घटनालाइ क्षमा दिन नसकिने जानकारी दिईन् । सेतेका परिवारलाई प्रहरीले पक्राउ नगरेको र सामान्य घटना भनेर छोडिदिएकाले अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन आफुहरुले पहल गर्ने उनको भनाई छ ।

राप्ती नगर स्तरिय दलित समन्वय समितिले घटनाको बिरोध तथा भत्सर्ना गरेको छ । समितीका अध्यक्ष श्यामलाल विकले यस किसिमको घटनालाइ क्षमा दिन नसकिने र यस विषयमा कानुनी कारवाहीको लागि माग गरे । राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाका अनुसार उक्त घटना फौजदारी मुद्दा भएकोले कानुन अनुसारलाई पिडकलाई कारबाही हुने बताए । जातीय बिभेद र कुटपीट जस्तो अमानवीय घटनाका पिडकलाई कानुन अनुसार कारबाही गरिने र मिलापत्र गर्नै नमिल्ने लामाको भनाई छ ।

पीडित कल्पना परियारको बयान :-
“सेते श्रेष्ठ मेरो छिमेकी हुन् । हामी बीच पैसा लेनदेनको कारोवार भइरहन्थ्यो । केही समय पहिले पनि मैले सेते श्रेष्ठसंग पैसा सापटी लिएर फिर्ता गरिसकेकी थिएँ । केही वर्ष पहिले मेरो श्रीमानको मृत्यु भयो । त्यसपछि तीन जना छोराछोरीलाई मैले एक्लैले सम्हाल्दै आएकी छु ।
घटना मंगलबार साँझ भएको हो । मंगलबार साँझ गाँउमा पैसा चोरी भएको भन्दै एक्कासी गाँउमा हल्ला भयो । पैसा हराएका ब्यक्ति पनि मेरै छिमेकी थिए । सेते श्रेष्ठको घर र पैसा हराएका ब्यक्तिको घर नजिकै थियो ।

कुरा मंगलबार साँझको हो । त्यो साँझ मैले छोरीलाई बाख्रा खोरमा हुल्नु भन्दै बारीतिर जाँदै थिए । चोरीको हल्ला सुनेर म त्यतातिर गए । त्यहा जाने बित्तिकै सेतेको श्रीमतीले मलाई हेर्दै रिसले मुरमुर्दै, थुक्क दमिनी । आज फेरि दमिनीको अनुहार हेर्नुपर्यो ।’ भन्दै जातीय गाली गलौज गरिन् ।


मलाई अचम्म लाग्यो । मेरो केही गल्ती थिएन । मलाई एक्कासी दमिनी भन्दै गाली गरेको देखेर मलाई नमज्जा लाग्यो । मैले किन यस्तो भन्नुभएको, मैले तपाईको के बिगारेकी छु र? मात्र के भनेकी थिएँ, उनी म माथि झम्टिइन् । मेरो कपाल समातेर मलाई भुँइमा पछारिन् । म उनीबाट उम्किन बल गर्दै थिए । मलाई पिटेको देखेरे मेरो छोरा अमृत छुटाउन आए । त्यसपछि मेरो छोरालाई समेत सेतेका छोरा राजकुमार श्रेष्ठले लछारपछार गर्दै कुटपिट गर्न थाले ।

मलाई छोड, बिना कसुर मलाई किन कुटेको भन्दै मैले गुहार मागे तर कसैले छुटाउन आएनन् । सबैले रमिता हेरेर बसे । पछि गाँउका केही व्यक्तिहरु मिलेर छुट्याउने कोसिस गर्दै थिए । त्यतीबेलासम्म मेरो छोरी पुजा पनि त्यहाँ आइसकेकी थिइन् । उनी घटनास्थलमा आइ पुग्दा मेरो अवस्था गम्भिर भईसकेको थियो । त्यसपछि मेरो छोरीेले प्रहरीलाई खबर गरिछन् । प्रहरीलाई खबर गरेको थाहा पाए पछि उनीहरु पछि हटे । नत्र मलाई मारिसक्थे । पुजाले एम्बुलेन्स बोलाइछन् । त्यसपछि हामीलाई एम्बुलेन्समा राखेर अस्पताल पुर्याइयो ।

डाक्टरको सल्लाह अनुसार मेरो अवस्था सामान्य नै छ । तर छोराको बिना कारण हात भाँचिदिए । हामी दलित भएकै कारण कहिलेसम्म कुटपीट र अपमान सहनु पर्ने हो? अब त दलित भएकै कारण बाँच्न पनि मुस्किल भइसक्यो । अहिले सुन्दैछु, वडामा हाम्रो मुद्धा मिलापत्रमा टुङ्ग्याउने कुरा भइरहेको छ रे । के हामीले दलित भएकै कारण न्याय नपाइने हो? के दलितले बाँच्ने अधिकार छैन?”

Copied from : www.diyopost.com

प्रतिकृया दिनुहोस्