RaraNews

प्रकाशित : २०७८/२/१ गते
८५४ पटक

कोभिड १९, को नयाँ भ्यारियण्टका कारण दक्षिण एसियाको नेपाल र भारत लगाएतका केही मुलुकमा महामारीको विकराल अवस्था देखिएको छ । भारतीय मुलुकमा यसको प्रभाव ह्वात्तै बढेपछि पछिल्लो समय नेपालमा पनि संक्रमितहरुको संख्या र यसको मृत्यूदर निकै बढिरहेको छ । कोभिड १९को चेन व्रेक गर्न सरकारले गत वैशाष १६ गतेदेखी सुरु गरेको निशेषाज्ञा दोस्रो र तेस्रो पटक गरी जेठ १३ गतेसम्मलाई लम्बाईएको छ । राज्यका सबै खाले शत्ति, स्रोत र साधनहरु परिचालन भएका छन् । तर यसको प्रभाव घट्न सकेको छैन । मुलुकका सबै अस्पतालहरु संक्रमितहरुले भरिएका छन् । अस्पतालहरुमा कतै बेड नपाएका, कतै अक्सिजनको अभाव, त कतै आईसीयु र भेण्टीलेसन नपाइएका खबरहरु सुनिएका छन् । जस्का कारण दिनहु सयौं संक्रमितहरुले उपचारको अभावमा ज्यान गुमाईरहेका छन् । यस विषम परिस्थतीमा मुलुकका विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील नागरीक संघ संस्था र संगठनहरु राज्यलाई सघाउनु महत्वपूर्ण हुन्छ । कहाँ छन् ? ती संघसंस्थाहरु आज हामी ति नागरिक सघंसंस्थाका काम कारवाही र भूमिकालाइ केलाउदै छौं । प्रस्तुत छ यो सामाग्री ।

राज्यले घोषणा गरेको निशेषाज्ञाको पालना गर्दै संस्थाले सबै फिल्डका गतिविधीहरु स्थगित गरेको छ । आफू बचौ र अरुलाई बचाऔं भन्ने अभियानमा आफूलाई समर्पित गर्दै, हामीले संस्थाका बैकल्पीक योजनाहरु घरबाटै गर्ने र अत्यावस्यक काममा मात्रै कार्यालयमा उपस्थित हुने निर्णय गरेका छौं ।

भागीराम चौधरी –कार्यकारी निर्देशक, समाजमा वातावरणीय शिक्षाको विकास (सीड) दाङ

समुदाय तहमा सञ्चालित रिफ्लेक्ट केन्द्र, निगरानी समूह, आमा समूह, यूवा सञ्जाल, बाल क्लब लगायत सरोकारावालाहरुसंग भौतिक रुपमा गरिने सामुहिक भेटघाटका सबै क्रियाकलापहरु वन्द गरी टेलिफोन, एस.एम.एस. र भर्चुअल बैठक र समन्वयलाई मात्रै निरन्तरता दिएका छौं । अहिले कोरोना भाईरसको विषयमा फोन, एस.एम.एस. र सामाजिक सञ्जाल मार्फत व्यक्तिगत सुरक्षा र सावधानीका महत्वपूर्ण सूचना आदान प्रदान गर्ने जस्ता जनचेतनका कामहरु सुरु गरेका छौं । यस आपतकालिन अवस्थामा समाजमा घट्न सक्ने विभिन्न प्रकारका जातिय विभेद, बालविवाह, लैंगिक हिंसा एवं बलात्कारका घटनाको वारेमा निगरानी र यसको खबरदारीका लागि जनचेतनाका अभियानहरुलाई पत्रपत्रिका, फेसबुक, टि.भी. रेडीयो कार्यक्रम, अनलाईन खवर र प्रत्यक्ष खबर लगायत सूचनाहरु निरन्तर रुपमा आदान प्रदान गर्ने कार्यलाई जोड दिन लागि परेका छौं ।

अहिलेको अवस्थामा हाम्रा सबै कार्यक्रमहरुलाई कोरोना भाईरसका कारण हुन सक्ने मानवीय क्षति घटाउन र यसको रोकथामका लागि क्वारेन्टाईन व्यवस्थापन, आईसोलेसन, अक्सिजन, बेडरुम, डाक्टर, औषधी र खाद्यान्न लगायतका आवश्यक सम्पूर्ण सरसामाग्री र बस्तु औजारहरुको यर्थाशीघ्र व्यवस्थापन गर्न, समन्वय र सहकार्य गर्दै स्थानीय सरकारहरुलाई सक्दो सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ । त्यसैले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारका सांसदहरुलाई कोरोना भाईरस रोकथामको लागि ध्यानाकर्षण गराउने, खबरदारी गर्ने, दवाव सृजना गर्ने र जति सक छिटो विरामीहरुको स्वास्थ्य उपचार सेवामा विशेष व्यवस्थापन र आवश्यक सहयोगका लागि पैरवी गर्ने छौं ।

शान्ति चौधरी– अध्यक्ष, मुक्त कमलरी विकास मञ्च (एफ के डिएफ) दाङ

घरमै बसेर सरकारलाई सहयोग गर्नुको विकल्प छैन । यतिखेर समुदायलाई सुचना प्रदान गर्ने, समन्वय गर्ने र सहयोग गर्ने हो । राज्यले लगाएको नियमको पालना गराउन आफू सुरक्षित हुन, घरमै वस्न आग्रह गर्ने कुरामा हामीले सन्देश जारी गर्ने गरेका छौं । अहिले कोभिड १९को महामारीको प्रभाव झन बरिहेको छ, यस्तो वेला राज्यको नियम उल्लंघन गरेर हिड्ने अवस्था छैन । आफै संक्रमणको जोखिममा पर्न सक्ने भएकाले घरमै बस्ने र सुरक्षित हुने कुरा महत्वपूर्ण छ । र यसको विकल्प छैन ।

स्थानीय निकायहरुले कोभिडको संक्रमणको जोखिम घटउन हस्पिटलहरुमा सहयोग गर्ने कामहरु गरिरहेका छन् । हामी नागरीक समाजको भूमिकालाई पनि सरकारलाई सघाउने नै हो । त्यसैले साझेदार संस्थाहरुसँग पनि के सहयोग गर्न सकिन्छ भनेर यो विषयमा कुराकानी गरिरहेका छौं । बाँकी कुरा त आफ्नो कार्यक्रमको बजेटलाई परि आएको खण्डमा आर्थिक सहयोग पनि गर्न पर्ने हुन्छ ।

कृष्ण चौधरी – अध्यक्ष, स्वान नेपाल दाङ

यस्तो वेला घरबाहिर जान सक्ने आँट गर्न सक्दैनौं । फिल्डमा जाने, भेट गर्ने, काम छोडेर, भन्नुपर्ने, सिकाउनु पर्ने सबै कुरा फोनबाटै घरबाटै गरिरहेका छौं । पहिला जस्तो चामल, नुन, तेल, दाल बाँडने काम अहिले कसैले नगरे पनि सबैको जिविका चलिरहेकै छ । मुख्य कुरा हस्पिटलहरुमा वेड, अक्सिजन, आईसीयु र भेण्टिलेसनको अभावका बारेमा सहयोग जुटाउनु अहिलेको आवश्यकता रहेको छ, त्यतातिर हामी सोच्दै छौं । दाङमा मात्रै एकै दिनमा १७ जनाको ज्यान गुमाएको अवस्था छ । त्यसैले यो विकराल परिस्थितीमा थप मानवीय क्षति हुन नदिन समन्वय र सहकार्यलाई जोड दिएका छौ । मान्छे वाँच्नलाई के गर्नुपर्छ त्यसको बारेमा सोचिरहेका छौं । मुख्य कुरा परियोजनाका वजेटहरु दाताको स्वीकृतिविना चलाउन सक्ने अवस्था रहदैन । यस विषयमा साझेदार सँस्थाहरुसँग, दाताहरुसँग भर्चियुल मिटिङ्गबाटै पनि छलफल गर्न आवस्यक छ ।

अहिले तिन तहको सरकार हामीसँग छ । पहिलो प्राथमिकता सरकारले जनता बचाउनुतिर लाग्नुपर्छ । अहिले मान्छे वचाउन सके, भौतिक विकासका काम अर्काे वर्ष पनि गर्न सकिन्छ । त्यसकारण मेरो विचारमा अहिलेका स्थानीय निकाय, प्रान्तिय सरकार र केन्द्रिय सरकारहरु, संघसंस्थाहरु सबै मिलेर मान्छेको जिबन वचाउन लाग्नुपर्छ । तर स्थानीय निकायहरु अलमलमा परिरहेका छन् । त्यसैले समुदायमा फैलिएको घातक कोभिडको प्रभाव कम गर्न र संक्रमण रोक्न हामीले सरकारलाई सहयोग गर्नुको विकल्प छैन । सहकार्य र समन्वयमा हातेमालो गरौं ।

तेज प्रसाद आचार्य – अध्यक्ष, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु

कपिलवस्तु जिल्लामा पनि कोभिड १९ को संक्रमण बढ्दो अवस्थामा नै छ । यो बेला जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको मिति २०७८ वैशाख २९ गतेको निर्णयले निषेद्याज्ञाको समय सिमा बढाउदै जेठ १० गते सोमबार राती १२ बजेसम्म लम्बाईएको छ । गत मंगलबारसम्म जिल्लामा सकृय संक्रमितको संख्या १२ सय ४८ पुगेको छ । बुधबारसम्म १ सय २ जनाले ज्यान गुमाएका छन् । जिल्लाको अस्थायी कोरोना अस्पतालमा कोरोना संक्रमितहरुको चाप अत्यधिक बढेको छ । अस्पतालमा वेड आईसीयु, स्वास्थ्य सामग्री र अक्सिजनको अभावमा गम्भिर विरामीहरुले ज्यान गुमाइरहेका छन् ।

पहिलो बर्षको कोरोना महामारीमा सिद्धार्थ सामाजिक विकास केन्द्रले खाद्यान्न राहत सहयोग, क्वारेन्टाइन व्यवस्थापन तथा अत्यावश्यक स्वास्थ्य सामग्री वितरण, स्वास्थ्य सूचनाका सामाग्रीहरु जनचेतनामूलक रेडियो कार्यक्रम, जोखिममा परेका बालबालिकालाई सहयोग र संरक्षण, हेल्पलाइन सहयोग, मनोसामाजिक परामर्श, औषधी उपचारमा सहयोग, स्थानीय सरकारसँगको समन्वय र सहकार्य, लगाएतका अत्यावश्यक स्वास्थ्य सामग्री वितरण तथा सहयोग लगाएतका सहयोगका कार्यक्रमहरु गरेको थियो ।

यसवर्ष पनि स्थानीय सरकारहरुसँग समन्वय र सहकार्यका विभिन्न कार्यहरु गर्दै आइरहेको छ । वाणगंगा नगरपालिका स्तरीय विपद् व्यवस्थापन समितिमा रहेर नगरपालिकालाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री व्यवस्थापनमा जुटिरहेको छ । वाणगंगा अक्सिजन वैंकको शुरुवात गरी स्थानीय पालिकालाई सहयोग र संक्रमित विरामीको उपचारमा निशुल्क वितरण गरेका छौं ।
संस्थाले खासगरी लुम्बिनी प्रदेशमा साझेदारी कार्यक्रम अन्तरगत कोरोना विशेष जनचेतनामूलक रेडियो कार्यक्रम, सूचना सन्देश प्रसारण, जोखिममा परेका बालबालिकाको सहयोग, बाल संरक्षण, लैगिंक हिंसा, मनोसामाजिक परामर्श सेवा तथा सहयोगका विभिन्न सवालमा काम गरिरहेको छ । कोरोना महामारीका बेला समुदाय तहमा गर्नुपर्ने अत्यावश्यक सहयोगका कार्यक्रमहरुको योजना बनाई स्थानीय साझेदार संस्थाहरुमा पनि पेश गरेका छौं ।

प्रदिप शाह – कार्यकारी निर्देशक,ईन्द्रेणी ग्रामिण विकास केन्द्र (आईआरडीसी) नेपाल

ईन्द्रनी ग्रामिण विकास केन्द्र (आईआरडीसि) नेपालले कपिलवस्तु जिल्लाको विजयनगर ग्रामीण नगरपालिका र शिवराज नगरपालिकामा काम गरिरहेको छ । कोभिडको पहिलो पछि दोस्रो लहरको घातक महामारी नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेपछि हाम्रा परियोजनाका नियमित गतिविधिहरूलाई स्थगित गरेका छौं । फोनवार्ता, ईमेल इन्टरनेटका माध्यमबाट जुम मार्फत सरोकारवाला निकायसँग समन्वय गर्ने कामहरु अगाडी बढाएका छौं ।
निशेषाज्ञाका वेला कोभिड १९ को महामारीसँग जुँध्न घरबाटै आवस्यक कागजाज नीति, नियम र कार्यक्रमहरुको समीक्षा गर्ने गर्ने दस्तावेज तयार गर्ने कामहरुसँगै स्थानीय निकाय, संघसंस्थाहरु भुमि अधिकार मञ्च, आर्थिक सामाजिक साँस्कृतिक अधिकार सञ्जाल, र विभिन्न क्रियाशील संघसंस्थाहरुसँग सहकार्य र समन्वयका कामलाई अगाडी बढाउदै आएका छौं ।
संघीय र प्रान्तीय तहका सरकारको आर्थिक बर्ष ०७८÷७९को बजेटलाई लैगिंक मैत्री बजेट बनाउन, राष्ट्रिय र स्थानीय तहका साझेदारहरुको विचमा भर्चियुल बैठक मार्फत ज्ञापनपत्र तयार गर्ने बुझाउने काम पनि हामीले गरेका छौं । मानव अधिकार प्रवद्र्धन विषयक सही सुचना र जानकारी प्राप्त गर्न, गराउन कोभिड १९को विषयमा तयार पारिएका कटुवाल रेडियो कार्यक्रम सुन्न स्थानीय समुदायलाई प्रोत्साहित गरिएको छ ।
आईआरडीसी÷आईएसईई परियोजनाको सहयोगमा सञ्चालित युवा क्लबहरूको सूचना केन्द्रलाई सक्रिय बनाउनुका साथै जनचेतना अभिवृद्धिका कामहरु गरिरहेका छौं । यसको अलावा जिल्ला र प्रान्तिय तहमा अक्सिजन सिलिन्डर सहज रुपमा उपलब्ध गराउन र मानवअधिकार प्रवर्द्धनको कार्यमा नागरीक समाजहरुको भूमिकालाई प्रभावकारी बनाउन वकालत सम्बन्धी कामहरुमा अझ जोड दिनेछौं ।

मोहन आचार्य : कार्यकारी निर्देशक, न्याय तथा अधिकार संस्था नेपाल (जुरी) नेपाल)

यतिखेर सरकारद्धारा लागु गरिएका निषेधाज्ञाको पालना गर्नुको विकल्प छैन । फिल्डका सबै कामहरु स्थगित छन । नियमित कामहरु, बैठकहरु, समन्वय र सहकार्यका सबै कामहरु घरबाटै भर्चुयुल माध्यमबाटै गरीरहेका छौ । हामीले कोभिडको प्रभाव र जोखिम घटाउन, आगामी बजेटका धेरै जसो कार्यक्रमहरुलाई स्वास्थ्यमा केन्द्रित गर्न, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय संञ्जालद्धारा ध्यानार्कषण पत्रलाई अर्थ मन्त्रालयमा पठाएका छौ । त्यस्तै लुम्बिनी प्रदेशमा पनि बजेट निर्माणको काम भैरहकाले हामीले भर्चुअल बैठक बसी लुम्विनी प्रदेशलाई ध्यानार्कषण पत्र बुझाउने तयारीमा छौ ।

हामीले अनलाईनबाटै मिडिया मोनिटरीङ्गको काम गर्दै आएका छौ । त्यस्तै अन्य संघसंस्था, नेटवर्कहरुसँग समन्वय गरेर सरोकारवाला निकायलाई झकझकाउने, दवाद दिने र सहकार्य गर्ने सवालमा हामी छलफलमै जुटीरहेका छौ । कोभिडको बेलामा आधारभुत स्वास्थ्य उपचार नपाएका खबर देखी सिमान्तकृत समुदायलाई खाद्यान्न लगाएतका आधारभुत सेवाबाट बञ्चित भएका खबरहरु आईरहेका छन् । हाम्रो ध्यान यतातिर केन्द्रित गर्न हामी वकालतका काममा जोड दिएका छौं । यो परिस्थितीमा आफु,आफ्ना परिवार र समाजलाई बचाउन हाम्रा योजनाहरु निर्माण भएका छन् । सरकारका बिभिन्न निकाय,अस्पतालहरुले हात उठाउदै गर्दा, नागरीकको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न नागरीक समाजको भूमीकालाई सक्रिय बनाउन लागि परेका छौं ।

श्रद्धा थापा : कार्यकारी निर्देशक, स्वच्छ व्यवसायी समुह नेपाल (फेयर ट्रेड गु्रप –एफटिजी)

आफु सुरक्षित हुने वेला छ । हामी भर्चियुल बैठक बस्ने, योजना बनाउने र सरोकारवालाहरुसँग समन्वय गर्ने काम घरैबाट गरिरहेका छौं । गत शनिवार विश्व स्वच्छ व्यवसायी दिवसलाई भर्चियूल कार्यक्रम गरी मनायौं । कोभिडले गर्दा लक्षित समुहलाई फिल्डमा दिने तालिमहरु रोकिएका छन् । परिस्थितीले काम गर्ने शैली फेरीएको छ । फोन,ईमेल र भर्चुअलि माध्यमलाई जोड दिएका छौं । फिल्डमा सहभागी जुटाएर दिने सीपमुलक तालिमहरु रोकिएपनि फिल्डको काम प्रभावित हुन दिनछैनौ । कामको गति बढाउन सक्रियताका साथ साझेदार संस्थाहरुसंग मिलेर पैरवी गर्ने काममा निरन्तर लागि पर्ने छौं । साना उद्यमी व्यवसायीका कामहरु ठप्प छन्, उहाँहरुलाई परेको समस्या र यसको समाधानका उपाएका बारेमा सरकारसँग पनि छलफल गर्ने, पैरवी गर्ने तयारी छ ।

सुनिता गुरुङ – कार्यक्रम व्यवस्थापक, आई एम स्वीडिस डेभलोपमेण्ट पार्टनर नेपाल

आई एम र यसका साझेदार संस्थाहरुको कार्यशैली परिर्वतन गरेका छौं । हाम्रा सबै साझेदार संस्थाहरु कर्मचारी स्थानिय तह र समुदाय बिचमा सुचना आदान प्रदान गर्ने कामहरु घरबाटै समन्व गर्दै आउनु भएको छ । हामीले हाम्रा कार्यक्रम, समुदाय र आफै पनि जोखिममा पर्न सक्ने खतरा भएकाले, यो परिस्थितीको मुल्याङ्कन गर्दैछौ । यो जोखिमलाई व्यवस्थापन गर्न सबै साझेदार संस्थाहरुले योजना बनाउदै हुनुहुन्छ । आई एमले पनि त्यसैमा सहजीकरण गर्ने सहयोग गर्ने कामलाई जोड दिएको् छ ।
यतिखेर सुचना प्रविधी र डिजिटल माध्यमहरुको प्रयोगबाटै हाम्रा साझेदार संस्थाहरुले गर्न सक्ने पैरवी र वकालतका विषयमा समय सान्दर्भिक छलफल र बैठकहरु पनि गरिरहेका छौ । आई एम नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघ (एआईएन) मा आवद्ध एक संस्था हो । त्यहाँ पनि यो आपतकालिन अवस्थामा समन्वय र सहकार्य कसरी गर्ने भन्न बारेमा छलफल भईरहेको छ ।

समाज कल्याण परिषदले पनि गैरसरकारी संस्थाहरुलाई सहयोगका लागि बैठकको अनुरोध गरिरहेको छ । हामी पनि उहाँहरुको कार्यक्रममा सहभागी हुदैछौं । तत्काल सहयोग गर्न सक्ने कुनै कार्यक्रम नभए पनि जोखिमपुर्ण अवस्थामा काम गर्न हेड अफिसमा समन्वय गरिरहेका छौ । स्वास्थ्यका सवालमा केहि सहयोग गर्न सक्यौ भने हाम्रा साझेदार संस्था मार्फत, हामी समुदायमा जान्छौ । हाम्रो प्राथमिकता, कोभिड भन्दा पहिले बनाईएका परियोजनाका केही गतिविधीहरु कोभिडको उच्च जोखिम घटाउन र समुदायलाई सहयोग पु¥याउनैमा केन्द्रित हुनेछन् ।

कमला विश्वकर्मा- अध्यक्ष, जागरण मिडिया सेन्टर

यतिखेर मिडियासँग सम्वन्धित हाम्रा सबै कामहरु परिचालित छन् । कोभिडको विषम परिस्थितमा राज्यको दायित्व, भूमिका, र नागरीक समाजको भूमिकालाई कट्वाल रेडियो कार्यक्रममा केन्द्रित गरेका छौं । तीन तहको सरकारलाई उनीहरुको भुमीकाबारे रेडियो कार्यक्रममार्फत खबरदारी गरिरहेका छौं । हाम्रा सबै कामहरु अहिले कोभिड विरुद्धको सञ्चार अभियानमा केन्द्रित छन् ।
कोभिडको उच्च जोखिम र खतराप्रति समुदायलाई सचेत गराउन र राज्यले घोषणा गरेका नियम पालना गर्न गराउन मिडियाद्धारा हामीले सुचना दिने काम गरेका छौं । कोभिड युजर न्यूज पोर्टल र जागरण मिडिया डटकम अनलाईनमा कोभिडसम्बन्धिका सुचना निरन्तर अपडेट गरिरहेका छौं ।

दलित तथा सिमान्तकृत समुदायलाई सुसुचित गराउने काममा साझेदार संस्थाहरुसँग निरन्तर छलफलमा जुटिरहेका छौं । नागरीक संघसंगठनहरुसँग निरन्तर समन्वय र सहकार्यमा छौं । साँसदहरुको भूमिका खोज्ने, छलफल गराउने, खबरदारी गर्ने राज्यसँग जनताको समस्यालाई समाधान गर्न पुलको माध्यमको काम गरिरहेका छौं । नागरीक समाज, पत्रकारहरुसँगको नेटवर्क र हाम्रो सहकार्यलाई निरन्तर जोडिरहेका छौं ।

सरकारका प्रयासहरुमा नागरीक समाज, संघसंस्थाका आफ्नो परियोजना वा कार्यक्रमहरुलाई यतातिर केन्द्रित गर्नुपर्ने हामीले महसुस गरेका छौं । यस विषयमा हामी मिडिया एडभोकेसी गर्नेछौं ।

प्रतिकृया दिनुहोस्