RaraNews

प्रकाशित : २०७८/१/२३ गते
६५३ पटक

दाङको तुल्सीपुर उपमहानगरपालिका–६, स्वर्गद्वारी टोलमा एकमहिनादेखी पार्किङ्ग गरी राखेको “कारभित्र कसरी भयो ३ बालकको मृत्यू ? ” भन्ने श्रीषकमा अनलाईन खबरमा छापिएको समाचारप्रति गम्भिर ध्यानकर्षण भएको जनाउदै न्याय तथा मानव अधिकारकर्मीहरुको एक समुहले प्रेस विज्ञप्ति जारी गरेका छन् ।
उक्त समाचार गत २०७८ साल वैशाख १९ गते काठमाडौको एक अनलाईनखबरमा कार भित्र कसरी भयो तीन बालकको मृत्यु ? शिर्षकमा प्रकाशित भएको थियो । अनलाईनखबरमा प्रकाशित समाचार अनुसार मृत्यू भएका ३ जना बालकहरु दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका वडा नं ६ स्वर्गद्धारी टोलका भिम बहादुर परियारका १० वर्षिय छोरा सन्देश परियार, सन्तोष परियारका ७ वर्षिय छोरा सुवर्ण परियार र किरण परियारका ७ वर्षिय छोरा करण परियार रहेका छन् ।
३ जना बालकहरु हराउनेवित्तिकै खोजि गर्दा नभेटिएपछि उनका अभिभावकहरुले चार दिन अघि नै बालकहरु हराएको प्रहरीमा उजुरी गरेका थिए । यसरी बालकहरु हराएको उजुरी समयमा नै हुदाहुदै पनि कारमा बालकहरुको शव गन्हाएको अवस्थामा भेटिनु अत्यन्तै दुःखद र निन्दनिय घटना भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ , “अनलाईनमा प्रकाशित समाचारमा उल्लेखित विवरण अनुसार रिमोटबाट बन्द हुने कारको ढोकामा बालकहरु खेल्दाखेल्दै कारको ढोका खुलेकाले बालकहरु कार भित्र गए पश्चात ढोका स्वचालितरुपमा बन्द भएकाले खुल्न नसके पछि बालकहरुको निस्सासिएर मृत्यु भएको हुनसक्ने जस्ता कपोलकल्पित र अवैज्ञानिक अनुमान सहितका समाचारहरु सार्वजनिक भएकोमा हाम्रो ध्यानाकर्षण भएको छ,” ।
त्यसैगरी प्रेस विज्ञप्तिमा, तीनजना बालकको ज्यान गएको भनिएको घट्ना संकाष्पद देखिएकोले यस घट्नाको सुक्ष्म तथा निष्पक्षरुपमा अनुसन्धान गरी दोषीउपर कानूनबमोजिम हदैसम्मको कारबाही गरी कानूनको शासन र न्यायको प्रत्याभुति दिलाउन सरकारसँग जोडदार माग गर्दै, संघ, प्रदेश र सम्वन्धित स्थानीय सरकार लगायत प्रहरी कार्यालय तथा राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय बाल अधिकार परिषद्को समेत ध्यानाकर्षण गराइएको छ ।
साथै यस घटनाबाट पीडित परिवारलाई कानून बमोजिम क्षतिपूर्तिसहित, सुरक्षाको प्रवन्ध मिलाउन पनि मानवअकिार तथा न्यायकर्मीहरुले माग गरेका छन् ।
प्रेस विज्ञप्तिमा गृह मन्त्रालय काठमाण्डौ, मुख्य मन्त्रीको कार्यालय, लुम्बिनी प्रदेश, बुटवल, सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश, बुटवल, राष्ट्रिय मानव अधिकार आयोग, हरिहरभवन ललितपुर, राष्ट्रिय दलित आयोग, काठमाण्डौं, राष्ट्रिय बाल अधिकार परिषद्, जिल्ला प्रशासन कार्यालय, दाङ, जिल्ला प्रहरी कार्यालय, दाङ, ईलाका प्रहरी कार्यालय तुल्सीपुर दाङ, तुल्सीपुर उपमहानगरपालिका, तुल्सीपुर दाङ लगाएत सम्वन्धित प्रशाषनिक कार्यालयहरुको ध्यानकर्षण गराउदै, न्याय तथा अधिकार संस्था (जुरी नेपाल), ललितपुरका कार्यकारी निर्देशक, तथा अधिवक्ता मोहनलाल आचार्य, नेशनल दलित लयर्स फोरम, काठमाडौका सचिव तथा अधिवक्ता भोजमान लाम्गादे, दलित अधिकार तथा सञ्चार अभियान नेपाल, दाङका अध्यक्ष, निर्मल नेपाली, मुक्त कमलरी विकास मञ्च, दाङका अध्यक्ष, शान्ति चौधरी, समाजमा वातावरणीय शिक्षाको विकास (सिड), दाङका कार्यकारी निर्देशक, भागीराम चौधरी, सोसाइटी फर एक्सन, नेपाल (स्वान), दाङका अध्यक्ष, कृष्ण चौधरी लगाएतले हस्ताक्षर गरेका छन् ।


गत २०७८ साल वैशाख १९ गते, काठमाडौंको अनलाईनखबरमा प्रकाशित समाचार यस प्रकार रहेको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका–६, स्वर्गद्वारी टोलमा एउटा कार माघ महिनादेखि पार्किङ गरेर राखिएको थियो । बिग्रिएपछि मर्मत नगरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको कार वरिपरि खासै मान्छे गएको पनि देखिँदैनथे ।
तर, शनिबार राति साढे ७ बजेतिर चाहिँ नजिकै रहेका अरुण बुढामगरले कारमा बत्ती बलेको जस्तो देखे । उनका अनुसार छेऊमा गएर हेर्दा एकदमै दुर्गन्ध आइरहेको थियो, झिँगा भन्किरहेको थियो ।
‘मलाई हेर्न डर लाग्यो अनि अरुलाई पनि बोलाएँ, त्यसपछि प्रहरीलाई खबर गरेका हौं’ मगर भन्छन्, ‘प्रहरी आएपछि मात्रै गाडीमा शव भएको थाहा पायौं ।’
इलाका प्रहरी कार्यालय, तुलसीपुरको टोली पुगेर हेर्दा गाडीभित्र तीन जना बालकको शव थियो । घटना गम्भीर हुनसक्ने आशंकामा जिल्ला प्रहरी कार्यालय, दाङका प्रमुख एसपी गणेश चन्द आफैं घटनास्थलमा पुगे । प्रदेश प्रहरी कार्यालयबाट पनि तालिम प्राप्त कुकुर बोलाइयो, जिल्लाबाट फरेन्सिक विज्ञ डाक्टरको टोलीले पनि घटनास्थल पुगेर जाँच थाल्यो ।
चोटपटक छैन, झ्याल फुटाउने प्रयास
जिल्ला प्रहरी प्रमुख चन्दका अनुसार मृत्यु हुनेको राति नै सनाखत भएको छ । ज्यान गुमाउनेमा घटनास्थल नजिकै घर भएका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीया छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण छन् । उनीहरु चार दिनअघिबाट हराएको भन्दै परिवारले प्रहरीमा खबर गरेको थियो ।
प्रहरीका अनुसार घटनास्थलमा भएको फरेन्सिक जाँचका क्रममा तीनजनाकै शवमा कुनै बाहिरी चोटपटक देखिएको छैन । यद्यपि पोष्टमार्टम रिपोर्ट आएपछि नै विस्तृतमा थाहा हुने जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी मुकुन्द रिजाल बताउँछन् ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार मृतकमध्ये दुईजनाको कपडा खोलेको पाइएको छ भने कारको सीसा फुटाउने प्रयास गरेको पनि देखिएको छ । ‘एउटा झ्यालमा सीसा चर्किएको छ, बाहिर निस्किने प्रयास गरेको जस्तो देखिन्छ’ एक अधिकारीले अनलाइनखबरसँग सुनाए, ‘प्रारम्भिक जाँचमा घटनामा कोही तेस्रो पक्ष संलग्न छ जस्तो देखिँदैन ।’
निसासिएर मृत्यु भएको आशंका
प्रहरीले सोधपुछका लागि बेलुकी नै कारका मालिक यादवप्रसाद गैरेलाई नियन्त्रणमा लिएको थियो । उनले पनि शव भेटिएका बालकहरुलाई नचिनेको बयान दिएका छन् ।

‘रुट परमिट पनि थिएन, त्यसमाथि बिग्रिएपछि थन्क्याएको थिएँ’, गैरेले प्रहरीसँग भनेका छन्, ‘गाडीको ढोका रिमोटबाट खुल्ने हो, बच्चाहरु कसरी छिरे थाहा छैन ।’
एक प्रहरी अधिकृत भन्छन्, ‘चिकित्सकहरुले पनि प्रारम्भिक जाँचमा निसासिएर मृत्यु भएको हुनसक्ने भनेका छन् ।’
प्रहरी गरेको प्राविधिक पक्षको अनुसन्धानबाट पनि गैरे र मृतकबीच कुनै सम्बन्ध भेटिएको छैन । हत्या गर्नुपर्ने कुनै कारण पनि नदेखिएको अवस्थामा चोटपटक पनि नदेखिएपछि प्रहरीले घटना भवितव्य भएको हुनसक्ने आशंका गरेको छ ।
त्यसैले अनुसन्धान अधिकृतहरुले बालबालिका खेल्ने क्रममा कारको ढोका खुलेको र बाहिर निस्किने बेला चाहिँ बन्द भएको हुनसक्ने अनुमान गरेका छन् । र, निस्किन नसक्दा निस्सासिएर मृत्यु भएको हुनसक्ने उनीहरुको अनुमान छ ।

प्रतिकृया दिनुहोस्