RaraNews

प्रकाशित : २०७७/१२/८ गते
२४५७ पटक

बुटवल, चैत ८ । जातीय भेदभाव र छुवाछुत मानव जातीकै कंलक भएकाले यसको अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।

५६ औं अन्र्तराष्ट्रिय जाती तथा रंगभेद उन्मूलन दिवसका सन्दर्भमा आईतबार बुटवलमा आयोजित ‘विभेद कहिलेसम्म ?’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले अब पनि जातीय भेदभाव र छुवाछुतका घटनाका बारेमा बहस गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

जागरण मिडिया सेन्टर, मानव अधिकार तथा शान्ति समाज रुपन्देही, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल रुपन्देही, परियार सेवा समाज रुपन्देही तथा सृजनशिल सहयात्री समाज बुटवल रुपन्देहीले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रम मार्फत सरकार, नागरिक समाज तथा सरोकार राख्नेलाई विभेद अन्त्यका लागि व्यक्तिगत र संस्थागत प्रतिबद्धता गराइएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद दीपा विश्वकर्माले जातीय भेदभाव अन्त्यका लागि बनेका कानुनको समेत कार्यान्वयन हुन नसकेको बताउनु भयो । उनले प्रदेश सांसदको हिसाबले आफूहरुले सदनमा कुरा उठाइरहेको बताउँदै जातीय भेदभाव र छुवाछुत अन्त्य बिना मूलूकको विकास हुन नसक्ने वताउनु भयो ।

संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले दक्षिण अफ्रिकामा काला र गोराविचको विभेद अन्त्य भएपनि नेपालमा अझै पनि जातका आधारमा भेदभाव कायम रहेकाले विरोधमा दिवस मनाउनुपरेको वताउनु भयो ।

उनले विश्वका कयौं देशमा जातीय नरसंहार भएकाले राज्यले भेदभाव अन्त्यका लागि समयमै नसोचे नेपालमा पनि जातीय नरसंहार हुनसक्ने खतरा औल्याउनु भयो । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनालले दलित समुदायले भोगेको पिडा सह्य हुन नसक्ने बताउदै सामाजिक आन्दोलन गर्नुपर्ने वताउनु भयो ।

उनले मानव अधिकार तथा शान्ति समाजले रुकुम घटनादेखि देशका जातीय भेदभाव विरुद्धका अभियानमा सामेल गराएको बताउँदै मानव जातीकै कलंक छुवाछुत विरुद्ध निरन्तर लाग्नुपर्ने बताए । कार्यक्रममा राजनितिक दलका तर्फबाट काँगेस नेतृ गंगा शाही, एमाले नेतृ देवी वाग्लेले जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा जागरण मिडिया सेन्टरका अध्यक्ष तथा संविधानसभा सदस्य कमला विश्वकर्मा, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौर, संयुक्त दलित संघर्ष समिति रुपन्देहीका संयोजक हरिओम विश्वकर्मा, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम, बुटवल उद्योग बाणिज्य संघका महासचिव विमलराज भट्टराई, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष डिपि खनाल, दलित अभियान्ता नर बहादुर सुनार, बुटवल उपमहानगरका जनप्रतिनिधि सरस्वती परियार, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली, ख्रिष्टियन समाज लुम्बिनी प्रदेश संयोजक चित्र गुरुङ, सृजनशिल सहयात्री समाजका सिता रोका, पत्रकार विनोद परियार लगायतले बोल्दै अब विभेद अन्त्यका लागि सहने समय समाप्त भएको बताउनु भयो ।

प्रतिकृया दिनुहोस्