RaraNews

प्रकाशित : २०७७/११/२१ गते
९९९ पटक

मुस्कान खातुन यो वर्षको प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज (आईडब्ल्यूओसी) अवार्डबाट सम्मानित हुनुहुने भएको छ । महिलाहरुमाथि हुने एसिड आक्रमण अन्त्य गर्नका लागि खेलेको भूमिकालाई कदर गर्दै खातुनलाई उक्त अवार्डबाट सम्मानित गर्न लागिएको बताईएको छ ।तेजाब हमला अन्त्यतर्फ लक्षित उहाँको कार्यका लागि यो पुरस्कार दिइने पनि विज्ञप्तिमा उल्लेख छ । मुस्कान यो पुरस्कार पाउने पहिलो नेपाली र सबैभन्दा कम उमेरकी व्यक्ति पनि हुनुहुन्छ । ८ मार्चमा एक भर्चुअल पुरस्कार समारोहमा अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङ्कन सहभागी हुनेछन् ।

१५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ । यसका अघिल्ला विजेतामध्ये पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि सम्मानित मलाला युसुफजई पनि हुनुहुन्छ ।

१५ वर्ष उमेर छँदा एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गर्दा मुस्कानमाथि एसिड प्रहार भएको थियो । उहाँको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो । उहाँले अहिले पनि विभिन्न समस्या भोगि रहनु भएको छ । यसका बाबजुद मुस्कानले एक दुखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गर्नु भयो । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि वकालत गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एसिड आक्रमणकारीलाई कडा सजायको व्यवस्था गर्न माग गर्नुभयो । त्यसपछि सरकारले तेजाब हमलासम्बन्धी अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गर्‍यो । यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो ।

प्रतिकृया दिनुहोस्