RaraNews

प्रकाशित : २०७७/९/२ गते
७८७ पटक

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म बिश्व भरि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान दिवसका रुपमा मनाइने गरिन्छ । यसै सन्दर्भमा नेपालमा पनि बिभिन्न कार्यक्रम गरि यो अभियान सम्पन्न गरिएको छ । तर, नेपालका दलित महिलाले लैङ्गिक हिंसासंगै जातीय बिभेदको सामना गर्नु परेकाले उनीहरु दोहोरो हिंसामा परेको र अभियानलाई दिवसको रुपमा मात्रै सिमित राखिएको प्रति दलित अधिकारकर्मी तथा मिडियाकर्मीको आरोप लगाएका छन ।

जागरण मिडिया सेन्टर र शान्तिका लागि साझा अभियान कोक्यापको संयुक्त पहलमा बुधबार राजधानीमा आयोजित “लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान तथा अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा सबै प्रकारका बिभेद बिरुद्ध मिडियाको भुमिका” बिषयक अन्र्तकृया कार्यक्रमका सहभागीले महिला हिंसाको सवाल उठ्दा दलित महिलाका सवाल ओझेलमा परेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै जागरण मिडिया सेन्टरका अध्यक्ष कमला बिश्वकर्माले दलित महिला माथि हुने गरेका जातीय, यौन र घरेलु हिंसा मानव अधिकारका मुद्धामा समावेश नगरिएको प्रति राज्य जिम्मेवार हुनु पर्ने बताउनु भयो । दलितका मुद्धा राज्यसमक्ष ल्याउन मिडियाको भुमिका महत्वपूर्ण हुने भन्दै अध्यक्ष बिश्वकर्माले दलितका सवालमा गैर दलित पत्रकारले पनि कलम चलाउनु पर्ने आवश्यकता औल्याउनु भयो । मिडिया आम शोषित पीडित र ओझेलमा पारिएका समुदायका पक्षमा हुनु पर्ने भएता पनि आम मिडियाहरु शासक वर्गमा पक्षमा भएको प्रति खेद जनाउँदै उहाँले भन्नु भयो, “बिभिन्न सन्धि तथा महासन्धिमा नेपालले हस्ताक्षर गर्छ, कानुन बन्छ तर कानुन कार्यान्वयनको अभावमा सम्पूर्ण दलित समुदायले मुक्तिको आभास गर्न पाएका छैनन्, यसतर्फ दलित समुदायका मिडियाकर्मीले मिडियामा पहुँच बढाउनु आबश्यक छ ।” दलितका मुद्धालाई मिडियामार्फत सम्बोधन नगरिएको खण्डमा आम दलित तथा दलित महिलाको मुक्ति सम्भव नरहेको उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै गोरखा पत्र दैनिकका पत्रकार तथा दलित पत्रकार संघका केन्द्रिय महासचिव लक्ष्मण दर्नालले दलित महिलाका सवाललाई १६ दिने अभिभयानले समेट्न नसकेको बताउनु भयो । जातीय आधारमा हुने गरेका बिभेदका घटनालाई कतिपय मिडियाले तोडमोड गरेर प्रस्तुत गरेकोप्रति खेद जनाउँदै पत्रकार दर्नालले कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउन अबधिमा मात्रै दुई दर्जनभन्दा बढी दलितको हत्या भएको प्रति राज्य बेखवर भएको बताउनु भयो । हत्या, हिंसा, बलात्कार र बिभेदका घटनामा दलितहरु सबै भन्दा बढी पीडित हुने भएता पनि उनीहरुले कानुन बमोजिम न्याय पाउन नसकेको उहाँको भनाई थियो ।

रेडियो नेपालका समाचार वाचक तथा दलित पत्रकार संघका केन्द्रिय उपाध्यक्ष कमला रसाइलीले दलित महिलाका मुद्धामा राज्य जिम्मेवार हुनु पर्ने बताउनु भयो । उहाँले मिडियामा दलित महिला मिडिया कर्मीको उपस्थिती न्यून रहेका औल्याउँदै महिला हिंसा बिरुद्दका सबै आले अभियानहरु बर्षैभरि जारी राखिनु पर्नेका ध्यानाकर्षण गराउनु भयो । कार्यक्रममा रेडियो नेपालका कार्यक्रम संचालक रीता बुढाथोकी, दलित खबर डट कमका पत्रकार शोभा सेन्चुरी, गोरखा पत्रका पोखरास्थित संवाददाता तारा चापागाई तथा जागरण मिडिया सेन्टरका बीरु नेपाली लगायतले मिडियामा दलितको अवस्था र उनीहरुको भुमिका बिषयमा आफ्नो धारणा ब्यक्त गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्