RaraNews

प्रकाशित : २०७७/८/८ गते
९२२ पटक

तिलोत्तमा नगरपालिकाले मातृशिशु स्वास्थ्य प्रवद्र्धनको लागि ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’ सञ्चालन गरेको छ । नगरपालिकाले गत वर्षबाट सुरु गरेको कार्यक्रमलाई थप प्रभावकारी बनाउन परिमार्जनसहित चालू आर्थिक वर्षमा निरन्तरता दिएको हो । परिमार्जित कार्यक्रमअनुसार गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलालाई विभिन्न ‘उपहार’ दिने व्यवस्था मिलाइएको छ । जसअनुसार गर्भवती महिलाले ४ महिनामा स्वास्थ्य जाँच गराउँदा सुपानेट झुलसहित सन्देशमुलक क्यालेण्डर, ६ महिनामा पोषण सेट, ८ महिनामा सरसफाई सेट र ९ महिनामा मसला सेट प्राप्त गर्नेछन् ।


यस्तै नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलाले शिशु–स्याहार सेट तथा संघीय सरकारले उपलब्ध गराउने यातायात रकमको अतिरिक्त थप एक हजार रुपैंयाँ प्रोत्साहन रकम प्राप्त गर्नेछन् । यस्तै नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने आइरन चक्कीसँगै आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर गर्भवती महिलालाई निःशुल्क रुपमा क्यालसियम समेत दिने गरेको छ ।
गर्भावस्था विशेषावस्था भएकोले यो समयमा महिलालाई अतिरिक्त स्वास्थ्य सेवा, पोषण, स्याहार, सरसफाई आवश्यक हुनेहुँदा त्यसको सन्देश प्रवाहको लागि यो कार्यक्रम सुरु गरिएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले जानकारी दिनुभयो । यो कार्यक्रमले गर्भवती महिलाको स्वास्थ्यमा विशेष ख्याल राख्न सबैको ध्यानाकर्षण गराउने र त्यसबाट गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य राम्रो हुने उहाँको विश्वास छ ।


कार्यक्रमको प्रभावकारी कार्यान्वयनले नियमित गर्भजाँच गराउन सरकारी स्वास्थ्य संस्थामा जाने महिलाको संख्यामा वृद्धि भइ मातृशिशु स्वास्थ्य प्रवद्र्धनमा टेवा मिल्ने उहाँले बताउनुभयो । नगरपालिकामा वार्षिक तीन हजार महिलाले गर्भवती सेवा लिने अनुमान छ । यो कार्यक्रमले सरकारी स्वास्थ्य संस्थाप्रतिको आकर्षण बढाउने नगरपालिकाको भनाइ छ ।
तिलोत्तमा नगरपालिकाले ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’ कार्यक्रम नगरका सबै सरकारी स्वास्थ्य संस्थाबाट उपलब्ध हुने जनाएको छ । सबै वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार हाल तिलोत्तमाका १४ वडामा सरकारी स्वास्थ्य संस्था पुगेका छन् । गर्भवती महिलालाई पहिलो जाँचमा उपलब्ध गराइने सन्देशमुलक क्यालेण्डरमा खोप, आइरन चक्की, क्यालसियम चक्की, गर्भ जाँचलगायतका विषयमा रुजुसूचीको साथैं गर्भावस्थामा गर्नुपर्ने सावधानीको विषयमा जानकारी गराइएको छ । यो क्यालेण्डर गर्भवती महिलाको घरमा सबैले देख्नेगरी राख्न लगाइने स्वास्थ्य शाखाको भनाइ छ ।


आइतबार मधवलिया स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुलाई उपहार सेट प्रदान गरी कार्यक्रमको सुभारम्भ गरिएको छ । कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले स्वास्थ्य नैं मानिसको पहिलो धन भएकोले नागरिकको स्वास्थ्य सेवा प्रवद्र्धनको लागि यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । नगरभित्रका सरकारी स्वास्थ्य संस्थाहरुलाई प्रभावकारी बनाउँदै लगिएको बताउँदै उहाँले त्यसको लाभ उठाउन नगरबासीलाई आग्रह गर्नुभयो । सरकारी स्वास्थ्य संस्थामा पनि गुणस्तरीय सेवा पाइन्छ भन्ने कुराको अनुभूति गर्नेगरी काम भैरहेको उहाँको भनाइ छ । त्यसअवसरमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरी, वडाध्यक्ष झविलाल भुसाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा, स्वास्थ्य शाखा संयोजक मोतीप्रसाद पौडेल, सिनियर अहेव अधिकृत गणेश गौतम, स्वास्थ्य चौकी ईञ्चार्ज रामेश्वर ढकाललगायतले कार्यक्रमको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्