RaraNews

प्रकाशित : २०७७/६/१ गते
१०५४ पटक

रौतहटका मनोज रामको हिरासतमा मृत्यु प्रकरणमा एसपीसहित ६ जना प्रहरीमाथि अनुसन्धान सुरु भएको छ । पीडित परिवारको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी रविराज खड्का, इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन प्रमुख एवं डिएसपी ज्ञानकुमार महतो, इन्सपेक्टर नविनकुमार सिंह, सई विरेन्द्र यादव, प्रहरी हवलदारद्वय मुन्नुकुमार सिंह र हिरोज धुनियाविरुद्धमाथि अनुसंन्धान सुरु भएको हो ।

उनीहरुमाथि यातना र ज्यान सम्बन्धी कसुरमा पीडित पनिलाल महरा ९राम० ले सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता गराएपछि अनुसंन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पीडितले दिएको जाहेरी प्रहरीले दर्ता नगरेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी भएको थियो ।

गत साउन ३१ गते राति जिल्लाको गरुडा नगरपालिका वडा नम्वर ८ जिगडियाका २० वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले विजय रामसहित सात जनालाई हिरासतमा लिएको थियो ।

हिरासतमा रहेका विजयलाई चरम यातना दिएको र अवस्था गम्भिर भएपछि उपचारका लागि बिरगंज अस्पताल पठाइएको थियो । बिरगंजको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा उनको भदौ १० गते मृत्यु भएको थियो ।

मनोजको हिरासतमा प्रहरीको कुटाईबाट मृत्यु भएको भन्दै रौतहट लगायत देशैभरी दलित समुदाय आन्दोलित छ । मनोजको न्यायका लागि पूर्वमन्त्री विश्वेन्द्र पासवान समेत अनसन बसेका थिए । रौतहट लगायत मधेसका अन्य जिल्लाहरुमा मनोजको न्यायका लागि आन्दोलन जारी छ । मनोजको हत्यामा संलग्नहरुलाई कारवाही नभएसम्म परिवारले शव नबुझ्ने बताउँदै आएका छन् ।

प्रहरीले आत्महत्याबाट मृत्यु भएको बताएपछि मनोजको शवलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगंजमा पोष्टमार्टम गर्दा कुटाईबाट मृत्यु भएको पुष्टि भएका थियो । विजयको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्