RaraNews

प्रकाशित : २०७७/५/२६ गते
१२३३ पटक

गुल्मी जिल्ला अदालतले जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी मुद्दामा तीन महिना जेल सजायसहित क्षतिपूर्ती र जरिवानाको फैसला गरेको छ । जातीय भेदभावको मुद्दामा कैद सजाय नै निकै कम हुने गरेकोमा जरिवाना र क्षतिपूर्ती समेत भराउने यो नेपालमै पहिला र दुर्लव फैसलाका रुपमा न्याय क्षेत्रमा हेरिएको छ ।

गत जेठ २३ गते कालिगण्डकी गाउँपालिका ५ फोक्सिभका नेत्रबहादुर काउछा मगरले स्थानीय श्यामबहादुर नेपाली परियारलाई घरभित्र पसेको भन्दै जातीय भेदभाव गरेका थिए ।

पीडित नेपालीले जेठ ३० गते आफूमाथि जातीय छुवाछुत भएकाले काउछाविरुद्ध गुल्मी जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलाशले जातीय विभेद गर्ने नेत्रबहादुर काउछालाई ३ महिना कैद, ५० हजार जरिवाना र १० हजार रुपैयाँ क्षतिपूर्तीको फैसला गरेको हो। फैसला भने साउन २९ गते भएको गुल्मी जिल्ला अदालतका श्रेष्तेदार एंव सूचना अधिकारी भीमप्रसाद भुसालले जानकारी दिनुभयो ।
मगरले गत जेठ २३ गते दिउँसो मलामी गएर फर्किने क्रममा अविरल वर्षा भएको बेला ओत लाग्न भन्दै परियारलाई घरभित्र पसेको आरोप लगाउँदै घर चोख्याएर १५ सय रुपैयाँ जरिवाना तिराएका थिए। मगरले आफ्ना दाजुभाइको हुल्जथ्था जुटाइ बलपूर्वक परियारलाई लछारपछार गर्दै ब्राहमण बोलाएर घर चोख्याएपछि घटना सार्वजनिक भएको थियो।

घटना सार्वजनिक भएपछि दलित अधिकारकर्मीहरुको पहलमा अदालतमा मुद्दा दर्ता गरिएको थियो। थुनछेक बहसमा भने काउछालाई ६० हजार रुपैयाँ धरौटीमा छाडिएको थियो।

जातीय विभेदको घटनामा न्यायलयले कैद, जरिवाना र क्षतिपूर्ती भराउनेसम्मको फैसला गरेकाले न्यायको अनूभुती भएको दलित अधिकारकर्मी गणेश विश्वकर्माले बताउनु भयो । उहाँले दलित समुदायमाथि पाइलै पिच्छे यस्ता विभेदका घटना हुने गरेकाले यो फैसलाले सन्देशका रुपमा जाने बताउनु भयो । यो फैसलाले जातीय आधारमा भेदभाव भए कानुन अनुसार कारवाही हुने विश्वास पलाएको विश्वकर्माको भनाई छ।

प्रतिकृया दिनुहोस्