RaraNews

प्रकाशित : २०७७/५/२४ गते
१०६६ पटक

इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा युवकको मृत्यु भएको घटनाका पीडित परिवारले रौतहटका तत्कालिन जिल्ला प्रहरी प्रमुख सहित ६ जना विरुद्ध बुधबार जाहेरी दिएको छ ।

हिरासतमा रहेको दलित युवाको प्रहरी यातनाको कारण मृत्यु भएको भन्दै विजय रामका बाबु पनिलाल रामले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न रौतहटका तत्कालिन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा जाहेर दिन दिनुभएको हो ।


पनिलालले इलाका प्रहरी कार्यालय गरुडाका तत्कालिन डीएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीन सिंह, सई वीरेन्द्र यादव, हवल्दार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध जाहेरी दिनुभएको छ ।


महतो विजय रामको मृत्यु हुँदा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख हुनुहुन्थ्यो । वीरेन्द्र यादव गरुडामै कार्यरत हुनुहुन्छ । त्यस्तै प्रहरी निरीक्षक नवीन सिह र हवल्दारद्वय मियाँ र सिंह निरन्जन रामको हत्याको घटनापछि उक्त घटनाको अनुसन्धानका लागि गरुडा आउनुभएको थियो ।

गाउँकै युवक निरन्जन राम हत्या आरोपमा ३२ साउनमा पक्राउ परेका विजय रामको हिरासतमै रहेका बेला उपचारका क्रममा वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । दोषीलाई कारबाहीको माग गर्दै गरुडामा निरन्तर प्रदर्शन समेत भइरहेको छ ।

प्रतिकृया दिनुहोस्