RaraNews

बिरेन्द्र जैरु प्रकाशित : २०७४/१०/१ गते
१८०२ पटक

डडेल्धुरा ।

नागरिकका आधारभुत आवश्यकता पुरा गर्नु राज्यको दायित्व भित्र पर्दछ । तर, देशका धेरै नागरिकहरु सामान्य कुराबाट पनि बञ्चित छन । गास बास, कपाल यि तिन कुरा हरेक नागरिकको नैसर्गिक अधिकार हुन तर, यसकै अभावमा अधिकांस नागरिकले निकै दयनिय जीवन बाँच्नु परिरहेको छ ।
आधारभुत आवश्यकता संगै अनेक सामाजिक अन्धविश्वास र कुरितीका कारण यहाँ देशको ठुलो जनसंख्या मानव भएर पनि अमानविय जीवन जिइरहेका छन् ।
राज्यले दिने सेवा सुविधा सबै नागरिकलाई समानरुपले दिइनु पर्छ । त्यस्तो नभएर विभिन्न विभेद र अन्यायपुर्ण ढंगले राज्य र त्यसका शासकहरुले मनोमानी गर्दै आएका छन् । यहाँ, दुख र समस्या बाडेर समाधान गर्नु पर्नेमा दुख र सुखको बाँडफाड भैरहेको हुन्छ । सुख, सुविधा जति ठुला बडा कहलिएका र पहुँच भएकाको भागमा दुख, अभाव र समस्या जति गरिब, पछिपारिएकाहरुको भागमा ।

नेपाली समाज जात प्रथा र बर्ण ब्यवस्थामा आधारित भएकाले यहाँ जात, लिँग , धर्मका नाउँ चरम विभेद र अन्याय छ । बिशेषगरि, नेपालको सुदूरपश्चिम क्षेत्र हालको सात नम्बर प्रदेश, जहाँ दलित समुदायका उत्पिडन र दुःख भनि साध्य छैन । चरम विभेद, छुवाछूत, गरिबी, अशिक्षा, अभाव, बेराजगारी आदी । यहाँका दलित बस्तीहरुमा तिनै गास बास कपासको चरम अभाव छ । राज्यले दिने सेवा सुविधा दलितले सहजै पाएका छैनन् । यस्तै एक शसतm उदाहरण डडेल्धुराको अमरगढी नगरपालीका ११ लिटिरी गाउँका ४० घर दलित समुदाय लामो समय देखि खानेपानीको चर्को अभाव झेल्दै आएका छन् ।

खानेपानीको अभावमा त्यस गाउँका ४० घर दलित परिवार एउटा कुवाको पानीमा निर्भर छन् । कुवालाई स्थानीय भाषामा नाउलो भनिन्छ । पर्याप्त पानीको अभावमा गाउँका दलित समुदायमा शौचालय देखी सरसफाईमा समेत समस्या छ । ‘नेताहरु चुनावको समयमा भोट माग्न आउंछन्, चुनाव जितेपछि सबै विकासका पूर्वाधार ल्याईदिने बचन दिन्छन्, तर घर–घरमा धारा बनाइदिने आश्वासन दिएर गएका नेता चुनाव पछि कहिल्यै यो दलीत बस्तिमा नफर्किने स्थानिय जसु देवी सार्किको गुनासो छ ।

गाउँलेको चरम दवाव र हैरानीपछि हतार हतार गाउँमा केहि धारा पनि जडान गरिएको छ । तर धारामा कहिल्यै पानी आएन । यो खानेपानी योजनाको विस्तृत अध्ययन नगरि योजनाको बजेट सिध्याईंदाको परिणाम हो । जसले केहि समय उत्साहीत बनेका दलित समुदायलाई निराश बनाएको छ । उनिहरु पालैपालो गाउँ नजिकैको नाउलाको पानी संकलन गरेर जिविका चलाउन बाध्य छन् । स्थानिय नन्दा देवी सार्कि भन्छिन् ‘बैकल्पीक पानीको श्रोत पहिचान र व्यवस्थापन नहुंदा मान्छेलाई पीउने पानी छैन, सरसफाई–पशुपालन तथा तरकारी खेतीको आवाश्यकता परको बिषय हो’ ।

पानी नपाएर मान्छे नै मर्ने अवस्था आएपछि गाउँमा सानो टंकी बनाइएको छ । त्यही टंकीमा दिनभरी जम्मा हुने पानी दिनमा एक पटक खोलेर परिवारको संख्या अनुसार नापी नापी एक गाग्री पानी वितरण गरिन्छ । लुगा धुन र नुहाउनका साथै गाईबस्तुका लागि नाउलामा जम्मा हुने पानी कै भर छ । सोही समुदायकि डम्मरी पार्कीले भन्छिन् ‘पर्याप्त पानी नहुंदा घरको अरु धेरै काममा बाधा पुगरिरहकोे छ’ ।

गाउँमा विहे–व्रतवन्ध अथवा ठूलो सामाजीक काम गर्नुपर्दा सबैभन्दा पहिले पानीको जोहो गर्नुपर्छ । यो अवस्था अन्त्यका लागि पटक पटक सरोकारवाला निकाय संग आग्रह गरेपनि कसैले वास्ता नगरेको त्यहाँ बासिन्दाको गुनासो छ ।

स्वास्थ्यको महत्वपुर्ण नारा पानी नै जीवन हो भने जस्तै त्यहि पानीको अभावमा यस क्षेत्रका दलित समुदायको स्वास्थ्यमा पनि नराम्रो असर परिरहेको छ । जीवनका लागि शुद्ध पानी अत्याआवश्यक भएपनि शुद्ध पानी त परै जाओस सामान्य पानी समेत आवश्यकता अनुसार यहाँका दलितहरुले उपभोग गर्न पाइरहेका छैनन । जसले गर्दा उनिहरुको जीवनस्तरमा गम्भिर असर परिरहेको छ ।

जिल्ला सदरमुकाम खलँगामा समेत बेला बेला खाने पानीको समस्या भइरहदा त्यसको सामाधानका उपायको प्रभावकारी खोजी हुन सकेको छैन । हुन त, डडेल्धुरा जिल्ला बर्तमान प्रधानमन्त्रि शेर बहादुर देउवाको गृह जिल्ला र हरेक निर्वाचनमा उनि यहाँबाट निर्वाचित समेत हुँदै आएका छन् । तर, बिड्म्बना प्रधानमन्त्रिकै गृह जिल्लामा एक सिंगो गाँउका ४० घर दलित परिवार एउटा कुवाको भरमा बाँचिरहेका छन् भन्ने खबर सुन्दा अचम्म र लज्जित हुनु पर्ने बिषय होइन र ?
नगरपालीका भित्रको यो लिटिरी गाउँका दलितहरुले धेरै माग गरेका छैनन् बस, उनिहरुसंग चुनावका बेला दिइएका आश्वासन पुरा गरि दिउन र आफुलाई आवश्यक पानीको बन्दोबस्त गरियोस ।

प्रतिकृया दिनुहोस्