RaraNews

प्रकाशित : २०७७/५/६ गते
९६४ पटक

बर्दिया — दुई सातायता बबई नदीको कटानले सदरमुकाम गुलरिया—१०स्थित दुई वटा गाउँ उच्च जोखिममा परेका छन् । बबई कटानले रंगीपुर र जयरामपुरको ३० विघा बढी खेतीयोग्य जमिन बगाएको स्थानीय दिपक चौधरीले बताए ।

पाल भारत सीमा नजिक रहेको उक्त गाउँका बासिन्दा विगत दुई वर्षदेखि कटान रोक्न बबई,भादा,ओराही नदी व्यवस्थापन कार्यालयसँग माग गर्दै आएको चौधरीले बताए । नदी कटानले धान र मकै बाली समेत बगाएको छ ।

नदी कटान नरोकिदा करिब २ सय घरधुरी उच्च जोखिममा रहेको स्थानीय रघुवीर मल्लाहले बताए । नदी कटान रोक्न कतैबाट पहल नभएको गाउँलेहरुको गुनासो छ । दक्षिणबाट नदी कटानले धार परिवर्तन गरि रहेकोले उच्च जोखिम बढेको छ ।

स्थानीय रमेश लोधले ०७१ र ०७४ जस्तो बाढी आए रंगीपुर र जयरामपुर लगायत रत्नापुरमा समेत धेरै क्षति हुने जोखिम बढेको बताए । चार वर्ष यता यसै गाउँ नजिक रहेको नेपाल भारत सीमामा रहेको तीन वटा सीमा स्तम्भ बगाएको थियो । नदी कटान नरोक्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् ।

यस सम्बन्धमा बबई,भादा,ओराही नदी व्यवस्थापन कार्यालयका प्रमुख जितबहादुर थापाले नदी कटान रोक्न अस्थायी रुपमा आपातकालीन अस्थायी तटबन्ध गर्ने बताए । प्राविधिक टोलीले कटान क्षेत्रमा पुगेपनि अस्थायी तटबन्धको काम नभएको चौधरीले गुनासो पोखे ।

प्रतिकृया दिनुहोस्