RaraNews

प्रकाशित : २०७७/४/१४ गते
१२२७ पटक

पंखबहादुर शाही – चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ स्थित देउती आधारभूत विद्यालयमा छात्रवृत्तिको रकम दुरूपयोग भएको छ । विद्यालयमा अध्ययनरत दलित विद्यार्थीका लागि आएको छात्रवृत्तिको रकम सरोकारवालालाई थाहै नदिई खाताबाट झिकेर हिनामिना गरिएको पाइएको छ ।

करीब रू. ५० हजार हिनामिना गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले विद्यालयका प्रधानाध्यापक अनिताकुमारी न्यौपाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मीलाई ३ दिनभित्र स्पष्टीकरण सहित बैंक स्टेटमेन्ट पठाउन पत्र पठाएको छ ।

प्रशासनले विद्यालयका दलित बालबालिकाका नाममा आएको छात्रवृत्तिको रकम प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितले खाताबाट झिकेर हिनामिना गरेको आरोपसहित कारबाहीका लागि उजुरीसमेत परेको बताएको छ ।

चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ का अध्यक्ष समेत रहेका उक्त विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण रेग्मीले २०७६ फागुनमा उक्त छात्रवृत्तिको करीब रू. ५० हजार रकम निकाल्ने विद्यालय व्यवस्थापन समितिको निर्णय भएको बताए । ‘मेरो जानकारीमा भए अनुसार उक्त रकम चैतमा निकालेर प्रधानाध्यापकले राख्नुभएको छ भन्ने सुनेको छु । लकडाउनको कारण वितरण नगरिएको भन्ने कुरा छ’, रेग्मीले भने । उक्त छात्रवृत्तिको रकम प्रधानाध्यापक न्यौपानेसँग रहेको उनको भनाइ छ ।

उनका अनुसार शनिवार अभिभावकले उक्त छात्रवृत्तिको बारेमा बुझ्न भेला गरेका थिए । भेलामा प्रधानाध्यापक न्यौपाने उपस्थित भइनन् । अभिभावकले उनलाई शनिवार नै प्रधानाध्यापक पदबाट निष्कासन गर्ने घोषणा पनि गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्