RaraNews

प्रकाशित : २०७७/४/८ गते
११४९ पटक

काठमाडौं । दलित अधिकारकर्मीले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । दलित गैरसरकारी संस्था महासङ्घ (डिएनएफ) द्वारा यहाँ आज आयोजित राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालसँगको छलफलमा उनीहरुले पछिल्लो समयमा दलित आन्दोलन विभाजित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै एकीकृत रुपमा अगाडि बढ्नुको विकल्प नरहेको बताएका हुन् । 

दलित अधिकारकर्मी हिरा विश्वकर्माले कोभिड–१९ को समयमा दलित समुदायले विभिन्न विभेद भोग्नु परेको तथ्य प्रस्तुत गर्दै कोभिड–१९ लाई लक्षित गरेर सरकारले दलित समुदायका लागि छुट्टै नीति बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

उनले कोभिड–१९ मा दलित समुदायको अवस्थाबारे गरिएको अध्ययन प्रस्तुत गर्दै राहत वितरणका क्रममा दलित समुदायमाथि विभेद भएको र बन्दाबन्दीमा अझ बढी जातीय भेदभाव तथा छुवाछूत भोग्नु परेको तथ्य प्रस्तुत गरे ।

डिएनएफका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्माले पत्रकारिता क्षेत्र पीडितलाई न्याय दिलाउन सक्ने शक्ति भएको बताउँदै समाजमा अन्यायमा परेका र विभेदमा परेका समुदायलाई न्याय दिने गरी परिवर्तनको पक्षमा अगाडि बढ्न दलित समुदायका पत्रकारलाई आग्रह गरे । डिएनएफकै महासचिव जेबी विश्वकर्माले दलित समुदाय एक अर्कोको प्रतिस्पर्धी भएर होइन, आन्दोलन र समुदायलाई सहयोग गर्ने गरी एकीकृत रुपमा अगाडि बढ्नुपर्ने बताए ।

दलित अधिकारकर्मी तथा अधिवक्ता चक्रमान विश्वकर्माले सरकारी र निजी सञ्चारमाध्यमसमेत विषयवस्तु र भौतिक सहभागिताको हिसाबले नेतृत्व तहदेखि तल्लो सहसम्म समावेशी हुनुपर्नेमा जोड दिए । 

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य गोपाल बराइलीले दलित समुदायका पत्रकार र सङ्घसंस्थाबीच समन्वयको आवश्यकता औँल्याउए । 

प्रतिकृया दिनुहोस्