RaraNews

प्रकाशित : २०७७/३/१८ गते
१९७४ पटक

रुकुम पश्‍चिम । रुकुम पश्‍चिमको मुसीकोट नगरपालिका ११ का नरीभान कामी काठको ठेकी बनाउन सिकिरहेका छन् ।  दूधबाट दही बनाउन प्रयोग हुने काठको ठेकी बनाउने सीप सिक्न उनी केही दिनदेखि व्यस्त छन् । उनीजस्तै मुसीकोट ६ का भूपेन्द्र विकले पनि ठेकी बनाउने सीप सिकिरहेका छन् । कामी र विकजस्तै नगरका १० वडाबाट एक-एक गरी १० युवालाई मुसीकोट नगरपालिका २, रातामाटाका ६९ वर्षीय चन्द्रबहादुर चँदाराले ठेकी बनाउन सिकाइरहेका छन् ।

दही जमाउन प्रयोग हुने काठको ठेकी बनाउने सीप जिल्लामा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । विशेषगरी दलित समुदायका व्यक्तिले बनाउने ठेकी पछिल्लो समय प्रयोगमा कमी आएको छ । बजारीकरण र दूध उत्पादनमा समेत कमी आउँदा ठेकीको प्रयोगमा कमी आएको हो भने ठेकी बनाउन जान्‍ने मान्छेमा पनि कमी आएको छ । सीप पुस्तान्तरण नहुँदा युवापुस्ताको यसमा आकर्षण छैन ।

यसैलाई मध्यनजर गरेर जिल्लाको मुसीकोट नगरपालिका काठको ठेकी बनाउने सीपलाई पुस्तान्तरण गर्न लागेको हो । नगरपालिकाले नगरका विभिन्‍न वडाका युवालाई ठेकी बनाउने सीप सिकाइरहेको छ । दलित लक्षित बजेटबाट ठेकी बनाउने तालिम सञ्चालन गरिरहेको नगर उपप्रमुख प्रेमकुमार सुनारले जानकारी दिए । ठेकी बनाउन जान्ने सीप भएका व्यक्तिबाट युवाहरुलाई सीप सिकाइरहेको उनको भनाइ छ । 

ठेकी बनाउने कला लोप हुने अवस्थामा पुगेपछि युवाहरुलाई ठेकी बनाउने सीप सिकाइ ठेकी उत्पादन उद्योग सञ्चालन गर्नेसम्मको लक्ष्य लिएको उपप्रमुख सुनारले बताए । “जिल्लामा पछिल्लो समय काठका ठेकी लोप हुने अवस्थामा पुगेका छन्, युवाहरुको यसमा आकर्षण नै छैन,” उनले भने, “जानेका बूढापाकाले आफूमा भएको सीप युवामा हस्तान्तरण गर्ने वातावरणसमेत बनेको छैन, अब हाम्रो लक्ष्य भनेको युवालाई सीप सिकाउने र जिल्लामा ठेकी उद्योग सञ्चालन गर्ने रहेको छ ।” 

जिल्लामा रहेका डेरीहरुमा पनि काठको ठेकीको प्रयोगलाई बढाई जिल्लामा ठेकीको खपतलाई बढाउने गरी आफूहरुले युवाहरुलाई सीप सिकाइरहेको उनले बताए । यसका लागि नगरपालिकाले तीन लाख रुपैयाँ बजेट खर्च गर्दै छ । दलित लक्षित बजेटबाट दलित समुदायका युवाहरुलाई ठेकी बनाउने सीप नगरपालिकाले सिकाइरहेको छ । 

जिल्लामा परम्परागतरूपमा हाते सामग्रीबाटै ठेकी बनाउने गरिन्छ । अहिले नगरपालिकाले पनि युवाहरुलाई सोही विधिबाट ठेकी बनाउन सिकाइरहेको छ । काठबाट बनाइएका ठेकी गाउँघरमा अहिले पनि उत्तिकै मात्रामा प्रयोग भइरहेका भए पनि बजार क्षेत्रमा भने प्रयोग हुन छाडेका छन् । 

काठको ठेकीमा बनाएको दही अन्य विधिबाट बनाइएको भन्दा मीठो हुने भए पनि ठेकी उत्पादनमा कमी आएका कारण यसको प्रयोग बढ्न नसकेको देखिएकाले पनि ठेकी बनाउने सीपमूलक कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिएको नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्