RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/२८ गते
१२३८ पटक

राजकुमार गोले/नयाँ पत्रिका काभ्रे, २८ पुस

भूकम्पपीडितलाई ८९ घर हस्तान्तरण

काभ्रेको मण्डन देउपुर नगरपालिका– ९ जितरपोखरीको दलित समुदाय हिजोआज दंग छ । वषौँदेखिको खानेपानी अभाव र ०७२ वैशाख १२ को भूकम्पले वासस्थान भत्काएपछि यहाँको दलित समुदाय पीडामा थियो ।

दातृ निकाय र स्थानीय संस्थाको सहयोगमा घरको पुनर्निर्माण र घर–घरमा खानेपानीको धारासहितको शुद्ध पिउने पानीको सुविधा पाएपछि त्यहाँको समुदाय खुसी भएको हो । जर्मन सरकारको सहयोगमा लुथ्रन वर्ल्ड फेडरेसनमार्फत शान्ति जनआदर्श सेवा केन्द्रको समन्वयमा त्यहाँका ८९ घरपरिवारलाई भूकम्पप्रतिरोधी नयाँ घर बनाइएको हो ।

गाउँभर खुसीको लहर
जितरपोखरी– ९ की संगीता तोलांगेले आफ्नो गाउँमा अचेल खुसीको लहर आएको बताइन् । ‘हाम्रो गाउँमा यसअघि पानी थिएन, ०७२ वैशाखमा गएको भूकम्पले घरहरू सबै भत्काएपछि हामी झन् ठूलो समस्यामा थियौँ,’ तोलांगेले भनिन्, ‘अहिले घर पनि राम्रो चिटिक्कको बनिसकेको छ, त्यससँगै खानेपानीको धारा पनि आँगन–आँगनमा नै भएकाले झन् बढी खुसी थपिएको छ ।’

गाउँकै डेडीथुम्का माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत तोलांगेको यसअघि विद्यालय जानुअघि र पछि पानी लिन जाने दैनिकी बनेको थियो । ‘हामी यहाँका बासिन्दा दुई–साढे दुई घन्टाको लामो बाटो हिँडेर कुन्ताबेसी या कुवापानी भन्ने ठाउँमा पानी लिन जानुपर्थ्यो ,’ संगीताले भनिन्, ‘त्यसरी जाने वेलामा गाउँभरिका मान्छे त्यहीँ जम्मा हुने भएकाले जो पहिला हुन्थ्यो, त्यसैले गाग्री भर्न पाउने भएकाले धेरै बेर कुर्नुपर्थ्यो ।’ अहिले घरको आँगनमा नै आएको पानी थाप्न पाएकोमा धेरै खुसी भएको उनको भनाइ छ ।

संगीतालगायत त्यस गाउँका बासिन्दाले त्यसरी ओसारेको पानी पिउनलाई मात्र ठिक्क हुन्थ्यो । बस्तुभाउका लागि पानीको अभाव थियो । ‘म, दिदी र ममीले गरेर पानी ओसाथ्र्याैं, त्यही पनि सधैँ अभाव नै हुन्थ्यो,’ संगीताले भनिन्, ‘अहिले आँगनमै धारमा पानी आउँदा समस्या हल भएको छ ।’
अहिले त्यहाँका स्थानीयले करेसाबारीमा तरकारीखेतीसमेत गर्न थालेका छन् ।

सुशीला रम्तेल विगतमा परिवारको एक सदस्यको दैनिकी पानी ओसार्नमै बित्ने गरेको सुनाउँछिन् । ‘एक महिनाअघिदेखि बस्ती तल रहेको ठूलो खोलाबाट पानी लिफ्ट गरी ल्याएपछि अहिले निकै सुविधा भएको छ,’ उनले भिनन्, ‘त्यसरी पानी ल्याउनुअघि घर बनाउन वा अन्य आवश्यक कामका लागि लिटरको १ रुपैयाँ तिरेर गाडीबाट ओसार्नुपर्थ्यो ।’

३० लाखको आयोजना

आयोजनाले त्यहाँका जितरपोखरीमा रहेका ५५ घरधुरीका दुई सय ४४ बासिन्दा लाभान्वित भएका छन् । समुदायको श्रमदानसहित गरी कुल ३९ लाख ७२ हजार सात सय ९५ रुपैयाँको लागतमा सो आयोजना निर्माण सम्पन्न भएको आयोजकले जनाएको छ । दुई मुहान, दुई ट्यांकी र ५५ धारा निर्माण कार्य सम्पन्न गरी मंगलबार नै समुदायलाई हस्तान्तरण गरिएको छ ।
स्थानीय ठूलो खोला लिफ्ट खानेपानी उपभोक्ता समितिका अध्यक्ष कान्छा सार्की यसअघि खानेपानी नभएकै कारण त्यहाँका स्थानीयले बस्तुभाउ नै पाल्न छाडेको बताउँछन् । ‘खानेपानीका लागि यहाँका रातोमाटोमा लड्दै पानी ओसार्नुपर्थ्यो , त्यस्तो गर्दा कहिले लडेर गाग्री नै कुच्चिने र कहिले मान्छे नै घाइते हुने अवस्था हुन्थ्यो,’ उनले भने, ‘अब त्यो अवस्था रहेन, खानेपानी पाएकामा खुसी छौँ ।’

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्ड बोर्ड)को आर्थिक सहयोगमा शान्ति जनआर्दश सेवा केन्द्रको समन्वयमा ५५ घरमा खानेपानीको धारा निर्माण गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. सुनीलबाबु श्रेष्ठले समुदायको सक्रियतामा भएको खानेपानी आयोजना ग्रामीण बस्तीको नमुना कार्य भएको बताए ।

‘यो गाउँको सबै अवस्था हेर्दा देशभरकै सिकाइ केन्द्र बन्ने देखेको छु,’ उनले भने, ‘तपार्इं सहयोगी संस्थाहरूले समेत यहाँको बासिन्दाबाट नयाँ पाठ सिकेर यसलाई सिकाइ केन्द्रका रूपमा विकास गर्नुहोस् ।’ उनले त्यहाँको समुदायलाई अब खानेपानीको सँगसँगै आर्थिक उपार्जनको काममा लाग्नसमेत सुझाब दिए ।

सो क्रममा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्ड बोर्ड) का सदस्य मुना दाहालले उक्त आयोजना तोकिएको समयभन्दा अघि नै सम्पन्न हुनुमा समुदायको निकै सक्रियता भएको बताइन् । कार्यक्रममा शान्ति जनआर्दश सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले स्थानीय समुदायको समस्यामा साथ दिन पाएकोमा आफू र संस्था निकै खुसी रहेको बताए । मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले नगरवासीको समस्याको समाधान गर्न नगरपालिका सधैँ साथमा रहेको बताए ।

साभार ,http://www.enayapatrika.com/2018/01/12/14407/

प्रतिकृया दिनुहोस्