RaraNews

प्रकाशित : २०७७/३/१२ गते
१०५१ पटक

प्रदेश नं. ५ मा अहिले असारे विकासको चटारो छ। हिँउद भरी सुस्ताएका ठेक्केदारहरू कोरोनालाई कारण देखाउदै असारे विकासमा व्यस्त छन्। ववर्षा लागेपछि बाटो पुल,पुलेसाहरू धमाधम खोस्रीदै छन । मर्मत सम्भारको नाममा भएका बाटाघाटा जेसीवीले कोतारेर झन बिजोक बनाइएका छन्। खोलामा बाढी आउने बेला पुल बनाउन कम्मर कसेर लागेका छन्।  

साढे ८ करोडको लगाानीमा रुपन्देहीको छपिया स्थित दानव नदिमा बन्दै गरेको पुल असारे विकासको त्यस्तै एउटा ज्वलन्त नमुना हो । जुन पुल ढलान भएको १३ औं दिनमा वर्षे भेलले भाँचिदियो ।  सियारी र मायादेवि गाँउपालिका जोड्ने पुल असार ६ गते भत्कीएको हो । इन्जिनीयरहरूका अनुसार प्रिस्ट्रेसिङ प्रविधिबाट ढलान भएको दुइ सातामा पुलमा राखिएका फलामका लठ्ठा तन्काउनु पथ्र्यो ।

त्यसकालागि शनिबार मेसीन सहित इन्जिनीयर प्राविधिकको टोली पानीको तहरो मै पुल क्षेत्र पुगेको थियो । तर लठठा तन्काउन नपाउँदै खोलामा आएको बाढीले टेका खल्बल्याइदियो र पुल भाँचियो । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इ. मेघराज मरासीनीले बाढीकै कारण पुल भाँचिएको भन्दै गुणस्तरमा त्रुटी नभेटिएको बताए । हिँउदभरी सुस्ताएर वर्षामा खोलामा पुल हाल्न तम्सीएको निर्माण कम्पनीलाई नै मर्का परेको प्रतिक्रिया मरासीनीले दिए ।

संघीय सरकारको लगानीमा निर्माणाधिन ६० मिटर लम्बाई र ११ मिटर चौडाई पुलको ठेक्का निलगिरी नेशनल जेभिले पाएको हो । २०७६ सालमै निर्माण सक्ने गरी २०७३ असारमा सम्झौता भएको थियो । तोकीएको समयमा पुरा नभएपनि पोहोर फेरी एक वर्ष म्याद थपीयो । चालु वर्षको वैशाख १५ सम्म निर्माण सक्नु पर्ने आयोजनाको कार्य प्रगती अहिले ६० प्रतिशत छ । तर अनुगमन नियमन गर्ने निकायका प्रमुख मरासीनीले भने निर्माणमा ढिलाइ हुनु र पुल भत्कनुको मुख्य कारण कोरोना र वर्षे बाढी भएको बताए।

संघीय आयोजनाहरू मात्रै हैन प्रदेश र स्थानीय सरकारको लगानीमा संचालित आयोजनाहरूको अवस्था पनि उस्तै छ । चालु वर्षका आठ महिना सम्म सुस्ताएका सडकका ठेक्केदारहरू असार लागे पछि र्जुमुराएका छन्। रातसाँझमा ढुगागिट्टी मिस्कट ओसारीरहेका छन्। दुइ÷तीन साता भित्रै कार्य प्रगती देखाएर निकासा लिने हतारोमा छन्। बिगतमा जस्तै पानीको तहरो मै भएपनि सडक पिच गर्न तम्सीएका छन्।  

रुपन्देहीको सम्मरीमाई गाँउपालिका–५ खडोरदेखि लुम्बिनी साँस्कृतिक नगरपालिकाको भर्तापुर जोडने साढे तीन सय मिटरको बाटोमा अहिले मिस्कटका रास छन्। यो बाटोको ठेक्का असारमा सक्ने गरी गत पुसमा मनिस बाउन्नकोटी निर्माण सेवाले पाएको हो । तर सम्झौताको साढे दुई महिना ठेक्केदारले सिन्को भाचेन । चैत पहिलो साता देखि लकडाउन सुरु भयो । असार लागेपछि धमाधम काम भएको छ ।

सम्मरीमाइमै पहँुच मार्ग अन्तर्गतको हगेनी नाला देखि फरेना सम्मको जम्मा आठ सय मिटर बाटोको सम्झौता पुसमै भयो । तर ठेकेदारले चैत सम्म कामै गरेन । असार लागेपछि  बाटो कोतारेर हिलाम्मे बनाइएको छ । मर्चवारकै प्रदेश सांसद अष्टभुजा पाठकले आठ महिना सम्म सिन्को नभाच्ने ठेक्केदारले तीन÷चार सय मिटरका साना सडककालागि समेत असार नै पर्खेको बताए ।

कम लागतमा कमसल काम गरेर भुक्तानी पुरा लिन पल्केका ठेक्केदारलाई दण्ड जरिवाना गर्नुको साटो कमिसनको चक्करमा नियामक निकायले नै छुट दिदा बेथिति बढेको सांसद पाठकको दावी छ। सम्बन्धित मन्त्रालयका मन्त्री, नेता, जनप्रतिनिधि र कार्मचारीहरूको मिलेमतो बिना ठेक्केदारले एक्लै असारे विकासलाइ निरन्तरता दिन नसक्ने पाठकले बताए ।  

आठ सय मिटर सडककालागि असार नै पर्खने अर्को प्रतिनिधि आयोजना हो पाल्पाको अर्गली स्थित ऋषिकेश मन्दिर पुग्ने बाटो । प्रदेशको एक करोड बजेटमा बन्न लागेको यो सडक चालु असार १५ भित्र निर्माण गरीसक्ने गरी मंसिरमा ठेक्का सम्झौता भयो । तर ठेक्केदार राजेश्वरी निर्माण सेवाले तीन महिना कामै गरेन । चैतमा कोरोना कहर सुरु भयो । असार लागेपछि धमाधम ग्राभेल गरिदैछ ।

आर्थिक वर्ष सकिने बेला बल्ल विकासे आयोजनालाई तिब्रता दिने सरकारी संयन्त्र र निर्माण व्यवसायीहरूकै कारण अर्घाखाँचीमा अधिकांश योजनाहरू हिँउदभरी अलपत्र परे । असार लागेपछि काम सुरु भएको छ । सन्धिखर्क धरमपानी सडक खण्डको काम वर्षा लागेपछि बल्ल सुरु गरिएको स्थानीयको गुनासो छ । जिल्लामा यो वर्ष प्रदेश सरकारका सडक तथा पुलका ३३ वटा योजनाहरू छन् । मर्मतका ११ वटा । सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीका सूचना अधिकारी शरद अधिकारीले कोरोनाका कारण आयोजनाहरू प्रभावित भएको बताए  ।  

दोश्रो चौमासिक सम्म नगन्य बजेट खर्च भएको प्रदेशमा असारे विकासले बजेटको खर्च दर बढाउने अपेक्षा गरिएको छ । त्यसकालागि केही आयोजनाहरू असार लागेपछि धमाधम टेण्डर गरिदैछ । बल्कोट तम्घास सडकखण्डको  टेण्डर असार ७ गते खुलाइएको छ । असार लागेपछि नै सम्झौता गरिएको बल्कोट नेटा सडक खण्डको काम सुरु हुने तयारीमा छ ।  

अघिल्ला वर्षमा भएका असारे विकासले करोडौंका आयोजनाको लगानी दिगो हुन नसकेका थुप्रै उदाहरण छन्। तैपनि यसलाई रोक्न सम्बन्धीत निकायले ध्यान दिएको देखिदैन । गुल्मी मुसिकोटको बडीघाट खोलामा निर्माणधीन मोटरेवल पुल दुईपटक भत्कियो । गतवर्ष ढलानकै क्रममा वर्षे बाढीले भत्केको पुल पुनःढलान गर्दा गत वैशाखमा फेरी बाढीले भत्काइदियो । वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले पुलको ठेक्का लिएको हो । ठेकेदारको लापरवाही, कमसल सामाग्री र हिँउदमा काम नगर्ने परिपाटीले  क्षती भएको स्थानीयको दावी छ । तर नियमक निकाय यस बारेमा बोलेको छैन ।  

यी प्रतिनिधि आयोजना हुन्। प्रदेशका बाह्रै जिल्लामा अहिले असारे विकासको चटारो छ । कपिलवस्तुको तौलीहवाका स्थानीय रबि ठाकुरले जिल्लामा ठुला साना सबैखाले आयोजनाहरू असार लागेपछि धमाधम सुचारु भएको बताए । आर्थिक वर्षको अन्तिमका दुइ महिना काम गरेर निकासा लिन पल्केका ठेक्केदारहरूले कोेरोनाकै नाममा असारे विकासलाई झन तिब्रता दिएको ठाकुरको दावी छ ।  

पुँजीगत खर्च ४६.४७ प्रतिशत

असारे विकासको प्रवृत्ति दोहोरीन नदिन आर्थिक वर्षको सुरुदेखि नै बजेट कार्यान्वयनलाई गती दिइने प्रतिवद्धता चालु वर्षको बजेट भाषणमा मुख्य मन्त्री शंकर पोखरेलले गरेका थिए । तर मुख्यमन्त्रीले भने झै प्रदेशमा न चालु वर्षको दुई वटा चौमासिकमा बजेट खर्चदर बढ्यो न असारे विकास रोकीयो ।  

प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार चालु वर्षको ११ महिनामा ४६.४७ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ । यो वर्ष बजेट खर्च हुन नसक्नुको मुख्य कारण कोरोना भएको बताएपनि फागुन सम्मका आठ महिनाको पुँजीगत खर्च जम्मा ३०.५४ प्रतिशत हो । कोरोना कहर सुरु भएपछिका तीन महिनाको पुँजीगत खर्च १६ प्रतिशत छ । असार लागेपछि निर्माण जन्य कामका साथै केही कोठे र अनलाइन अन्तरक्रिया छलफल तथा अनुदानका कार्यक्रम गरेरै भएपनि खर्चदर ६० प्रतिशत पुर्याउने लक्ष्य अनुरुप सम्बन्धित मन्त्रालय तथा मातहतका निकायहरू अहिले तीनै कार्यक्रममा व्यस्त छन्।

प्रतिकृया दिनुहोस्