RaraNews

प्रकाशित : २०७७/३/१२ गते
६२७ पटक

दाङ – गलत विवरण पेस गरेर दाङमा एक जना भारतीय नागरिकले जिल्ला प्रशासन कार्यालय दाङबाट वंशजको नागरिकता प्राप्त गरेको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ । नागरिकता लिएको डेढ वर्षपछि याे रहस्य खुलेको हो ।

नेपाली नागरिकता लिने भारतको उत्तर प्रदेश बलरामपुर जिल्लाका श्रीदत्तगञ्ज उत्रौला घर भएका २५ वर्षीय विशाल गुप्ता पटवाल अहिले पुर्पक्षको लागि कारागार चलान भएका छन् । २०७७ जेठ १३ गते उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

असार ८ गते गुप्तालाई जिल्ला अदालतले पुर्पक्षको लागि कारागार चलान गरेको हाे । भारतीय नागरिक गुप्ताले मितबहादुर दमाईको नामबाट २०७५ मङ्सिर २५ गते ५२–०१–०७५–०४०५२ वंशजको नागरिकता प्राप्त गरेका थिए ।

उनले घोराही उपमहानगरपालिका ३ वर्गदा निवासी हिरालाल दमाईको छोरा बनेर नागरिकता लिएको पाइएको छ । गुप्ताबाट भारतीय विशिष्ट पहिचान प्राधिकरणले जारी गरेको कार्डसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिनुभयो ।

हिरालाल अहिले भारतमा छन्, उनले गुप्तालाई आफ्नो छोरा बनाएर नागरिकता दिलाएका थिए । प्रहरीले हिरालाल दमाईसहित घोराही उपमहानगरपालिका ३ का वडाध्यक्ष माधव चौधरी, वडा सचिव पद्मप्रसाद रेग्मी, कर्मचारी त्रिपुरा खड्का र सामाजिक परिचालक लिला अधिकारीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

नागरिकता लिने विशाल गुप्ताबाहेक अन्य पाँचै जना फरारको सूचीमा छन् । आरोपित विशालले आफू भारतीय नागरिक भएको र गलत विवरण पेस गरेर नागरिकता लिएको प्रहरीसमक्ष बयान दिएका छन् । घोराही उपमहानगरपालिका ३ को सिफारिसको आधारमा नागरिकता प्राप्त गरेका थिए । उनले बङ्गलाचुली गाउँपालिका ३ बाट बसाइसराइ विवरण पेस गरेर सिफारिस बनाएका थिए । 

घोराहीमा मजदुरी गर्दै आएका विशालले चार वर्षअघि सम्झना नेपालीसँग बिहे गरेका थिए । बिहेपछि एउटा बच्चा जन्मियो । अनि बच्चाको जन्म दर्ता गराउन र आफ्नो विवाह दर्ता गराउन खोज्दा नभएपछि सम्झनाले मित मामा नाता पर्ने हिरालाल नेपालीलाई जसरी पनि नागरिकता बनाइदिन अनुरोध गरिन् । अनि हिरालाले गुप्तालाई आफ्नो छोरा बनाएर नागरिकता दिलाइ दिए । 

प्रतिकृया दिनुहोस्