RaraNews

प्रकाशित : २०७७/३/११ गते
८९५ पटक

रुपन्देही जिल्ला अदालतले देवदहकी १३ वर्षिया बालिका अंगिरा पासीको मुद्धामा पक्राउ परेका तीनै जनालाई थुनामा राख्ने आदेश दिएको छ । बिहीबार भएको थुनछेक बहसमा जिल्ला न्यायधिश कृष्णप्रसाद पौडेलको एकल इजलाशले प्रतिवादी देवदह नगरपालिका का ११ बड्कीगुम्मीका २५ वर्षिय कोइला भन्ने विरेन्द्र भर, आमा ५० वर्षिया अकाली र ५५ वर्षिया ठूलीआमा शितलीलाई थुनामा राख्ने आदेश गरेको हो ।  

जिल्ला सरकारी वकिल कार्यालयले तीन जनाविरुद्ध बलात्कार, जातीय भेदभाव र आत्महत्या दुरुत्साहन मुद्धा दर्ता गराएको छ । बुधबारदेखि थुनछेक बहस सुरु भएको हो । पीडितका तर्फबाट ४ जना सरकारी वकिल र १४ जना गरि १६ र प्रतिवादीका तर्फबाट २ जना अधिवक्ताहरुले थुनछेक बहसमा भाग लिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी गंगाप्रसाद अधिकारीले जानकारी दिए ।  

बादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता डम्बरप्रसाद काफ्ले, सहन्यायधिवक्ता विष्णुप्रसाद भट्टराई डिल्लिराज ज्ञवाली, कमल कोइराला थुनछेक बहसमा सहभागी थिए । यसैगरि पीडितका तर्फबाट निःशुल्क रुपमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु शैलैन्द्रप्रसाद हरिजन, श्यामकुमार विश्वकर्मा, त्रिलोकचन्द विश्वास, सुन्दरबहादुर सेन, सूर्यराज अधिकारी, लोकनाथ पन्थ, गिरीजाबहादुर सुनार, युवराज रेग्मी, मनोज श्रेष्ठ, पदम कार्की र इन्दु अर्याल बहसमा भाग लिएका थिए । प्रतिवादीका तर्फबाट अधिवक्ता राममणि भूर्तेल र कुलानान्द ज्ञवालीले थुनछेक बहस गरेका हुन ।  

देवदह ११ का २५ वर्षिय कोइला भन्ने विरेन्द्र भरले जेठ ९ गते जबरजस्तीकरणी गरेको, त्यसपछि विरेन्द्रसहित उनका आमा अकाली र ठूलीआमा शितलीले जातीय विभेद गरि अंगिरालाई आत्महत्या गर्ने अवस्थामा पुर्‍याएको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले तीन वटा मुद्धा अदालतमा पेश गरेको हो । जेठ १० गते जनप्रतिनिधि र समाजका अगुवाहरुले १३ वर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने विरेन्द्रको जिम्मा लगाइदिएपछि घटना भएको थियो ।  

जातीय छुवाछुतको पृष्ठभूमिबाट सृजित अपराध भएको भन्दै स्वत स्फूर्त रुपमा काठमाडौंबाट समेत पीडितका तर्फबाट बहसमा भाग लिन अधिवक्ताहरु रुपन्देही जिल्ला अदालतमा आएका छन् । घटनामा संलग्नलाई कारवाही गर्न र न्यायको माग गर्दै ५ दिनदेखि भैरहवामा दलित अधिकारकर्मीहरुले आन्दोलन गर्दै आएका थिए । बिहीबार पनि जिल्ला अदालत अघि धर्नासहित अंगिराको न्यायको माग गरेको संयुक्त दलित संघर्ष समितिका सहसंयोजक बुद्धिराम हरिजनले बताए । 

प्रतिकृया दिनुहोस्