RaraNews

प्रकाशित : २०७७/३/९ गते
११३८ पटक

तिलोत्तमा — गत जेठ १० गते देवदहमा बलात्कारपछि मृत्यु भएकी अंगिरा पासीको मृत्यु प्रकरणमा संलग्नलाई कारबाही गरी अंगिरालाई न्याय दिनुपर्ने भन्दै संयुक्त दलित संघर्ष समिति रुपन्देहीले मंगलबार जिल्ला अदालत अगाडि प्रदर्शन गरेको छ । 

विभिन्न प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरुले अंगिरालाई न्याय देउ, हत्यारालाई कारबाही गर, मुलुकभर भएका जातीय विभेदका घटना पहिचान गर जस्ता नारा लगाएका थिए । यसअघि पनि दलित हत्याका सवालमा न्यायालय र प्रशासनले उचित न्याय नदिएकाले अंगिराको मुद्दामा सही फैसला होस् भनी ध्यानाकर्षण गराइएको समितिका जिल्ला अध्यक्ष हरिओम विकले बताए ।

अंगिरा पासीसँगै रुकुम घटना समेत जातीयताकै कारण भएकाले सो घटनामा समेत न्यायालयले पीडित परिवारलाई उचित न्याय दिनुपर्ने आफूहरुको माग रहेको अभियन्ता विनोद पहाडीले बताए । दलितका सन्दर्भमा जताततैबाट हत्यारा उम्काउने प्रयास गर्नु र सही तरिकाले अनुसन्धान नहुँदा पीडितले न्याय नपाएको सन्दर्भमा दबाबमूलक ध्यानाकर्षण गर्न विरोध प्रदर्शन गरिएको उनले बताए ।

यसैबीच, मंगलबार नै हत्याका आरोपित विरेन्द्र भर, उनकी आमा र ठूली आमालाई अभियोजन पेशपश्चात बयानका लागि जिल्ला अदालत लगिएको छ । समय रहे मंगलबारबाटै थुनछेक बहस सुरु हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्