RaraNews

प्रकाशित : २०७७/३/८ गते
७८२ पटक

 दलित गैर सरकारी संस्था महासंघ (डीएनएफ) ले संविधान र दलित मानव अधिकारको कार्यन्वयनमा मिडियाको भुमिका बिषयमा पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । महाससंघले क्रियाशिल दलित पत्रकार संघ नेपाल (आडजोन) सँगको संयुक्त आयोजनामा शनिबार दलित समुदायका पत्रकारहरुसँग जुम मार्फत उक्त अन्तरक्रिया गरेको हो । 
अन्तरक्रियामा अधिकांश पत्रकार तथा अधिकारकर्मीहरुले दलित मानव अधिकार सम्बन्धी नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न मिडियाको महत्वपूर्ण भुमिका रहेको बताए । सरकारी निकायहरुले मिडियामा आएका बिषयका आधारमा नीति निर्माण तथा कार्यान्वयन गर्ने गरेको अवस्थामा दलितका मद्दालाई पनि मिडिया मार्फत नै उठाउन आवश्यक रहेको उनीहरुको भनाइ । 
तर, दलितका सवालले राष्ट्रिय स्तरको मिडियामा उचित स्थान पाउन नसकेको उनीहरू बताउछन् । पछिल्लो समय दलित मुद्दाले राष्ट्रिय स्तरका मिडियामा स्थान पाउन थाले पनि त्यो गहिराईमा नभएको उनीहरुको भनाइ छ । 
यस अवस्थामा राष्ट्रिय स्तरका मिडियामा दलित समुदायका पत्रकारलाई नै प्रवेश गराउन आवश्यक रहेको उनीहरु बताउछन् । ‘पछिल्लो समय राष्ट्रिय मिडियामा दलित समुदायका पत्रकारहरु पनि देखिन थालेका छन् । तर, त्यतिले मात्रा पुग्दैन । राष्ट्रिय मिडियामा दलित पत्रकारको पहुँच अझै बढाउन आवश्यक छ,’ एक वक्ताले भने, ‘तब मात्रा दलित सम्बन्धी मुद्दाले मिडियामा उचित स्थान पाउन सक्छन् । ’
अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै संघकी अध्यक्ष पवित्रा सुनारले दलित मुद्दा अझै पनि सञ्चार माध्यमको प्राथमिकतामा नपरेको बताइन । ‘पछिल्लो समय मिडियामा दलित मुद्दाले पाउने स्थान सख्यात्मक रुपमा बढ्दै गएको छ । तर, उनीहरुले त्यसको गहिराईमा रिपोर्टीङ गरेको पाइदैन ।साथै, सम्बन्धीत घटना फलोअप गरेको पनि देखिदै,’ उनले भनिन्, ‘दलित मुद्दामा औपचारिक समाचार मात्र आउने गरेको छ ।’ 
यद्यपि, जातिय बिभेदकै कारण गत जेठ १० गते रुकुम भएको घटना भन मिडियाहरुको प्राथमिकतामा परेको उनको भनाइ छ । साथै, सामाजिक सञ्चालले पनि दलित मुद्दालाई उठाउन सहयोग पुगेको उनी बताउछिन् । उनले भनिन्, ‘यद्यपि, अझै राष्ट्रिय मिडियाहरु समग्र दलित मुद्दाप्रति अझै गम्भिर छैनन । यदि, मिडियाले दलित समुदायको बिषयलाई गम्भिर रुपमा नलिए यो समस्या यथावत  हुने देखिन्छ ।’
यस्तै, अधिकारकर्मी हिरा विश्वकर्माले मिडियाले चाहेमा दलित अधिकार सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न सकिने बताए । ‘मिडियाकै कारण तत्कालिन सुचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिनु परेको थियो । भ्रष्टाचार सम्बन्धी अन्य घटनाहरु पनि मिडियाकै कारण बाहिर आएका  छन् र त्यस बिषयमा उचित निर्णयहरु पनि हुने गरेका छन्,’ उनले भने, ‘मिडियाले दलित मुद्दालाई पनि यसरी नै प्राथमिकतामा राख्ने हो भने दलित अधिकार सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सम्भव छ ।’
यस्तै, महासंघका कार्यावाहक अध्यक्ष भक्त विश्वकर्माले दलित मानव अधिकार सम्बन्धी व्यवस्थालाई स्थापित गर्न मिडियाको अत्यन्त महत्वपूर्ण भुमिका हुने बताए । तर, दलित मुद्दालाई स्थापित गर्न मिडियाको भुमिका भने न्यून देखिएको उनको भनाइ छ । 
‘अहिले रुकुम घटनाको विरुद्धमा काठामडौंमा दलित आन्दोलन भइरहेको छ । तर, त्यहाँ दलित समुदायको पत्रकारहरुको उपस्थीति नै न्यून भएको गुनासाहरु आइरहेका छन्,’ उनले भने, ‘त्यसमा दलित समुदायका पत्रकारहरु पेशागत रुपमा नै उपस्थीति भएको आन्दोलनको प्रभावकारिता बढ्ने थियो ।’ यद्यपि, आगामी दिनमा पत्रकारहरुसँग सहकार्य गरेर दलित मानव अधिकार सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न आफुहरु तयार रहेको उनको भनाइ छ । 
अन्तरक्रियामा महासंघका धन बहादुर मिजार, कमल विश्वकर्मा लगायतका प्रतिनिध संघका केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरु र बिभिन्न जिल्लाका दलित पत्रकारको उपस्थीति रहेको थियो । उनीहरुले पनि दलित मानव अधिकार कार्यान्वयनमा मिडियाले महत्वपुर्ण भुमिका निभाउनुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्