RaraNews

प्रकाशित : २०७७/३/५ गते
१२४४ पटक

सोलुदूधकुण्ड नगरपालिका–९ सिसाखोलाका १६ वर्षीय बालक दीपक विश्वकर्माले आफूलाई जातीय विभेद भएको आरोप लगाउनु भएको छ ।

सोही ठाउँका २७ वर्षीय श्याम थापा मगरले जेठ ३१ गते जातीय गाली–गलौच गरी कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

आरोपितले घर निर्माण गरिरहेको र डकर्मीहरूको केश काट्न जाँदा आफूलाई आरोपितले तल्लो जातको मान्छेले नयाँ घरको ढोका किन छोइस् भन्दै कुटपिट गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनुभयो ।

कुटपिटबाट छोराको निधार,ढाडमा चोट लागेको र ओखलढुङ्गास्थित मिशन अस्पतालमा असार १ गते उपचार गराएको पीडितका बाबु नीरबहादुर विश्वकर्माले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनुभयो ।

नीरबहादुर विश्वकर्माले इन्सेक प्रतिनिधिसँग भन्नुभयो “तिमिहरू तल्लो जातको मान्छै हौँ, जहाँ गए नि कानुन लाग्दैन,बरू उपचार खर्च र यात्रा खर्च बापत २० हजार तीन सय रुपियाँ लिएर मिलापत्र गर ।”

आफूहरूले नमान्दा नमान्दै आरोपितको दबाबमा आएर असार १ गते पत्ताले प्रहरी चौकीमा गएर मिलापत्र गरेको पीडितका बाबुले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनुभयो ।

नीरबहादुरले इन्सेक प्रतिनिधिलाई आफूले मिलापत्र गर्न नमान्दा वडाध्यक्षले एक पटकलाई मिल्नु भनेको र प्रहरीले पनि मिलापत्र गर्न सघाएको बताउनुभयो ।

आरोपित श्याम थापा मगरले इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कमा आफूले जातीय विभेद नगरेको बरू दीपकले चुरोट खाएको देखेपछि विद्यार्थीले कुलतमा लाग्नु हुन्न भन्दै एक थपप्ड हिर्काएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकुनन्द इवा लिम्बूले पीडितहरू जाहेरी बिना नै प्रहरीमा आएको र मिडियामा समाचार आए जसरी प्रहरीले जातीय विभेदको उजुरी नलिएको भन्ने समाचार गलत भएको बताउनुभयो ।

घटनाका प्रत्यक्षदर्शी दीपेन्द्र रानामगरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा आरोपितले मुक्का र हथौँडाले दीपकलाई प्रहार गरेको बताउनुभयो ।

नेपालको संविधानले जातीय विभेदलाई वर्जित गरेको छ । जातीय भेद्भाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कसुर गर्ने व्यक्तिलाई ३ महिनादेखि ३ वर्षसम्म कैद वा १ हजार रुपियाँदेखि २५ हजार रुपियाँसम्म जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था छ ।

Source – Inseconline

प्रतिकृया दिनुहोस्