RaraNews

प्रकाशित : २०७७/३/५ गते
१०६७ पटक

झापा । झापाका स्थानीय तहका दलित जनप्रतिनिधि सङ्गठित भएका छन् ।

बुधवार विर्तामोडमा सम्पन्न जिल्लाभरिका दलित जनप्रतिनिधिको भेलाले मेचीनगरका कार्यपालिका सदस्य टीकाराम मङ्ग्रातीको अध्यक्षतामा स्थानीय तह दलित जनप्रतिनिधि मञ्च गठन गरिएको छ ।

मञ्चको उपाध्यक्षमा हर्कमाया विक, सचिवमा सागर पोर्तेल, सहसचिवमा योगेश परियार, कोषाध्यक्षमा मीना सिन्चेउरी र सदस्यमा निरु परियार, निता घतानी, रोहित तोलाङ्गी, चन्द्रकला विक, देवेन्द्र दर्नाल, रमेश तिखत्री र शर्मिला विक रहेका छन् ।

सो मञ्चले स्थानीय तहहरुमा दलितमैत्री कार्यक्रम निर्माणसँगै समुदायको उत्थानका लागि काम गर्ने उत्पीडित अधिकार मञ्च नेपालका अध्यक्ष सागर पोर्तेलले जानकारी दिए ।

उत्पीडित अधिकार मञ्च झापाले स्थानीय तहका दलित कार्यपालिका सदस्यसँग आयोजना गरेको योजना तर्जुमासम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागीले स्थानीय तहमा रहेका दलित जनप्रतिनिधिलाई समुदायको उत्थानमा प्रभावकारी भूमिका खेल्न नसकिएको स्वीकारेका छन् ।

संविधानले स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व रहे पनि समुदायको उत्थानमा अझै काम हुन नसकेको सहभागीको धारणा थियो । दलित जनप्रतिनिधिले विभिन्न अड्को थापेर पालिकामा दलित लक्षित काम गर्न समस्या भइरहेको गुनासो राखे ।

संविधानले दलित अधिकारको व्यवस्था गरे पनि तल्लो तहमा काम गर्न विगतमा जस्तै अप्ठ्यारो भएको, पालिकाले दलित समुदायको उत्थानमा पर्याप्त बजेटको व्यवस्था गर्न पनि कञ्जुस्याँई गरेको उनीहरुको गुनासो थियो ।

प्रतिकृया दिनुहोस्