RaraNews

प्रकाशित : २०७७/३/४ गते
११६४ पटक

किशोर अवस्था मै गहिरो प्रेम सम्बन्धमा बाँधिएका थिए जाजरकोटको भेरी नगरपालिका, मोटेला टोलकी सुनिता सुनार र वारी रुकुम पश्चिमको चौरजाहरी नगरपालिका–१, लामिछाने गाउँका टीकाराम विकको जोडी । उनीहरुले सरकारी कामकाजमा भने थर नेपाली लेखाउने गरेका छन् ।

सुनिता पनि बाबुआमाकी एकमात्र छोरी, यता टिकाराम पनि एकमात्र छोरा थिए । ४ वर्षअघि १४ वर्षकै उमेर सुनिताको सिउँदो रङ्गियो, जतिबेला टीकाराम १६ वर्षका थिए । दुवैले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।

छोराले प्रेम विवाह गरि बुहारी भित्र्याउँदा शेभे विक (नेपाली) र उनकी श्रीमती गीता कम खुशी थिएनन् । धुमधाम रमाइलो गरेर बुहारी भित्र्याए । बिहेको दुई वर्षमै सुनिता र टीकाराम दम्पत्तीले छोरी जन्माए ।

अहिले घरपरिवारमा छाएको यो खुशीयाली हालै भताभुङ्ग भएको छ । जेठ १० गते राति चौरजाहरी–८, सोती गाउँको घटनामा टीकारामको मृत्यु भयो । टीकारामको शव जेठ ११ गते भेरी नदीमा फेला परेको थियो । बाबु शोभबहादुर भन्छन्, ‘छोराको शव के हेरिसक्नु थियो र ? घरेलु हतियारले हानेर टाउकोमा चिरैचिरा थियो ।’

उक्त घटनाले सुनिताको सिउँदोमात्र उजाडिएन, दुई वर्षकी अवोध बालिकाले पिताको महत्त्व बुझ्न नपाउँदै टुहुरो हुनुप-यो । बुढेसकालमा सहारा बन्ला भन्ने आशा गरेको एकमात्र छोरालाई शेभे र गीता दम्पत्तिले गुमाए ।

यतिमात्र होइन, घर खर्च चलाउन पनि त्यो परिवार टीकाराममै निर्भर थियो । ११ कक्षा पास गरेका टिकारामले मोबाइल मर्मतको काम थालेका थिए । घर खर्चका अतिरिक्त बहिनी सुमित्राको पढाइ खर्च, ऋण लगायतको दायित्व पनि टिकारामकै काँधमा सरेको थियो ।

शुरुमा भेरीमा डुबेर टीकारामको मृत्यु भएकोमा सुनितालाई पटक्कै विश्वास थिएन । ‘नदी बढेको बेलामा त पुलबाटै हाम्फालेर पौडी खेल्ने उहाँ, त्यसरात भेरीमा बेपत्ता भएको भनेर हल्ला चल्यो मलाई भने कति बेला टुप्लुक्क आउनुहुन्छ जस्तो लागेको थियो ।’

घटनाको छानविनबाट वास्तविकता बाहिर आउने र दोषीले सजाय पाउने टीकारामको परिवारको विश्वास छ ।

Source – Ratopati/प्रेम सुनार

प्रतिकृया दिनुहोस्