RaraNews

प्रकाशित : २०७७/३/३ गते
९२८ पटक

राजविराज : सप्तरीको तिरहुत गाउँपालिका–४ डिमनस्थित राम टोलका ५० घरधुरी दलित परिवारले नाकाबन्दी खोल्न अल्टिमेटम दिएका छन् । स्थानीय विशेश्वर यादवले जनप्रतिनिधीहरूको अगाडि जेठ मसान्तभित्र बाटो खुला गर्ने भनी गरेको प्रतिवद्धता पूरा नगरेपछि दलित अगुवाहरूले आन्दोलनको चेतावनी दिदै अल्टिमेटम दिएका हुन् । संघर्ष समितिका संयोजक सुकराती रामको नेतृत्वमा मंगलबार राजविराज आएको दलित अगुवाहरूको टोलीले सीडीओ शंकरहरी आचार्यसँग भेंटी अविलम्ब बाटो खोल्न माग गरे । यसअघि उनीहरूले वडा र गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

बस्तीको समस्याबारे जनप्रतिनिधिले ध्यान नदिएको आरोप लगाउँदै स्थानीय दलितहरूले असार १० गतेभित्र नाकाबन्दी नखोले वडा कार्यालय अगाडि अनशन बस्ने चेतावनी दिए । दलितहरूले अविलम्ब बाटो खुल्ला गरी ठोसरुपमा बाटो निर्माण गर्न, नाप नक्सा किटान गर्न, बिजुलीको व्यवस्था गर्न र पछिल्लो बैठकबाट बाटो सम्बन्धी भएको निर्णय सार्वजनिक गर्न माग गरेका छन् । बस्ती जोड्ने गाउँ ब्लकमा रहेको दलितहरूको राम टोल जाने बाटोको मुखैमा केही स्थानीयबासीले एक महिनाअघि छेकबार गरेका कारण समस्यामा परेको भन्दै चमार समुदायका अगुवाहरूले गुनासो गरे ।

अघोषित नाकाबन्दीले गाईबस्तु थुनिएको, उपचारका लागि बिरामीलाई बाहिर लैजान नसकेकोले दलित समुदाय समस्यामा परेको भोला रामले दुखेसो सुनाए । ‘कोही बिरामी पर्दा, गर्भवती महिलालाई व्यथा लागे वा सर्पदंशले कोही पीडित भएमा उनीहरूलाई बोकेरै सडकसम्म पु¥याउनु पर्ने हुन्छ,’ भोल्बीदेबी रामले भनिन्, ‘सडकसम्म पुग्ने बाटो बन्द गरिएकाले आगलागी वा प्राकृतिक प्रकोपका बेला झनै जोखिम हुन्छ ।’

‘वडा तथा गाउँपालिका कार्यालय धाएर थाक्यौँ, बाटो थुनिएपछि बस्तीछेउको खाली खेत, छिमेकीको घर–आँगनबाट हिँड्दै आए पनि वर्षात् लागेकाले कहाँबाट हिँड्ने चिन्तामा छौँ,’ रामसेवक रामले भने, ‘पानी नपर्दा त छिमेकीको घर–आँगन र खाली खेतबाट हिँडौँला, वर्षातमा त निक्लन पाइदैन ।’ 

पुस्तौदेखि कायम रहेको बाटोमा धनीहरूले बेला–बेलामा ‘आफ्नो जग्गा’ भन्दै सडक थुन्ने गरेका छन् । संघर्षपछि बाटो खोल्ने फेरी बन्द गर्ने धनी किसानहरूले लकडाउनको मौका छोपी यसपटक जेठ ५ गतेदेखि पूर्ण रुपले चारैतिरबाट नाकाबन्दी गरेको उनीहरूले जानकारी दिए । यसअघि ०७५ साउन÷भदौमा समेत अघोषित नाकाबन्दी हुँदा संघर्षपछि खुलेको उनीहरूले सुनाए ।

सप्तरीका प्रजिअ आचार्यले दलित बस्तीले भोग्नु परेको समस्या समाधान गर्न आफूले तत्काल पहल थाल्ने आश्वासन दिए । पुस्तौदेखि हिँड्दै आएको बाटो थुन्न नहुने भन्दै प्रजिअ आचार्यले बाटो खुलाउन गाउँपालिका, वडा कार्यालय र प्रहरीसँगको समन्वयमा पहल गर्ने बताए । 

स्थानीय विजय यादवका अनुसार विकास र समृद्धिका लागि बाटोघाटो जरुरी भएपनि दलित बस्तीमा जीवनयापन नै असहज बनाउने गरी मान्छेलाई आउजाउ गर्ने बाटोघाटो नै बन्द गरिएको छ । बस्तीमा बाटोघाटो खुल्ला होलान् र आफूहरूको जीवनयापन सहज होला भने आशामा दुःख कष्ठ गरेर वर्षौँदेखि दलितहरू प्रतीक्षामा बसेका छन् । पुस्तौदेखि प्रयोग गर्दै आएको बाटोसमेत बन्द भएपछि झनै दुःख बढेको शान्तिदेबी रामले बताइन् ।

Source – Annapurnapost Daily

प्रतिकृया दिनुहोस्