RaraNews

प्रकाशित : २०७७/३/३ गते
७२९ पटक

काठमाडौँ — भेरी नदीमा गत जेठ १० गते राति नवराज विकको शव भेटियो । बाँकी पाँच जना बेपत्ता थिए । तीमध्ये एक थिए, सन्देश शाहीका सहोदर भाइ गोविन्द । गोताखोर पुग्नुअगावै सन्देश, सुवर्ण रोकाया, ज्ञानु शर्मासहित जाजरकोट खलंगाका युवा शव खोज्न भेरी किनारमा डुलिरहे ।

२० गते गोविन्दको शव भेटियो । नदीबाट शव निकालेका ज्ञानुले प्रहरीसँगको बयानमा भनेका छन्, ‘गोविन्द शरीरभरि चोटपटक लागेको र दाँत झरेको अवस्थामा फेला परेका थिए ।’

करिब २० दिनपछि जिल्ला अदालतमा दायर भएको अभियोगपत्रको शव जाँच मुचुल्कामा गोविन्दको दाँत झरेको लेखिएको छैन । शव पूरै सुन्निएको र कडा दुर्गन्ध आइरहेको, शरीर सडिगलेको, मलद्वारबाट दिसाजस्तो पदार्थ निस्केको र छाला खुइलिएको उल्लेख छ । ज्ञानु र सन्देशकै समूहले १४ गते भेरी नगरपालिका–१३ राक्सेस्थित नदीमा दुवै हात माछा मार्ने जाली (पासो) ले बाँधिएको अवस्थामा लोकेन्द्र सुनारको शव भेटेको थियो ।

जे चाहिने हो, त्यही छैन

‘लोकेन्द्रको शव बाहिर निकाल्न नदीबाट उठाई ट्युबमा राख्ने क्रममा बाँधेको हात फुस्कियो । एउटा हात पासोमा अल्झेकै अवस्थामा भेरी किनारसम्म ल्याएका थियौं,’ रुकुम पश्चिम प्रहरीसँगको बयानमा सन्देशले भनेका छन् । तर मुचुल्कामा दुवै हात बाँधिएको लेखिएको छैन । हातको नाडीमा प्लास्टिकको पासो अल्झिएको मात्र उल्लेख छ । त्यस्तै, शवको निधारमा खोस्रिएको दाग भएको, दाहिने आँखीभौंको छेउमा काटिएको, अण्डकोष सुन्निएको र ठाउँठाउँको छाला खुलिएको भनिएको छ ।

शरीरको बाहिरी तीन भाग दायाँ तीघ्रा, देब्रे घुँडा र गोलीगाँठोमा चोटपटक देखिएको भनिएको छ । लोकेन्द्रको भने टाउकोको अघिल्लो भागमा डाम परेको, दुवै खुट्टामा ददारिएको घाउ देखिएको उल्लेख छ । अभियोगपत्रमा उल्लेख गरिएको शव जाँच परीक्षण रिपोर्टअनुसार सन्जु विक, टीकाराम नेपाली र गणेश बुढामगर ‘डुबेर’ अनि नवराज, लोकेन्द्र र गोविन्द ‘सम्भवत: डुबेर’ मृत्यु भएको लेखिएको छ । पूर्वन्यायाधीश एकराज आचार्यका अनुसार पानीमा डुबेर मृत्यु हुने व्यक्तिको पेटमा पानी भरिएको हुन्छ । पानीमा डुब्नासाथ श्वास र अन्ननलीमा समेत पानी भरिएर पेटमा पुग्ने उनी बताउँछन् । ‘चिकित्सा विधीशास्त्र’ नामक पुस्तकका लेखकसमेत रहेका उनका अनुसार पोस्टमार्टमका क्रममा आमाशय, फोक्सोमा समेत पानी भेटिन्छ ।

फौजदारी अपराधको अनुसन्धानमा शव जाँच प्रतिवेदन (पोस्टमार्टम रिपोर्ट) प्रत्यक्ष र महत्त्वपूर्ण प्रमाण हो । घटनास्थलको मुचुल्काले वरपरको वस्तुस्थिति देखाउँछ भने शव जाँच प्रतिवेदनले शवको अवस्था के थियो भन्ने देखिन्छ । चिकित्सकले घाउचोटको अवस्थादेखि मृत्युको सम्भावित कारणसमेत खुलाएर प्रतिवेदन तयार गर्छन् । सोतीगाउँको घटनामा भने हात बाँधिएको र दाँत झरेको अवस्थालाई पोस्टमार्टम रिपोर्टमा केही उल्लेख नगरी आरोपपत्र दर्ता गरिएको छ । यसले कतै आरोपितलाई सहज हुनेगरी अनुसन्धान त भएको हैन भन्ने पीडितको आशंकालाई बल पुर्‍याएको छ । घटनामा मारिएका सबैको पोस्र्टमार्टम रिपोर्ट हेर्दा उनीहरूको शरीरमा कुनै न कुनै चोट देखिन्छ ।

शव निकाल्नेहरूले भनेजस्तो शव जाँच मुचुल्का छैन । घटनास्थलमा प्रहरी आफैंले ढुंगा, लौरो, हँसियाले हानेको देखेको भए पनि भौतिक सबुतको नाममा दुई–दुई सग्ला र भाँचिएका लौरो मात्र छन् । पोस्टमार्टममा घाउहरू उल्लेख भए पनि मृत्युको कारण डुबेरै लेखिएको छ । पूर्वन्यायाधीश आचार्यका अनुसार घटनाबमोजिमको परिस्थिति फरक हुने भए पनि ठोक्किएको वा घोचिएको अवस्थामा बाहेक पानीमै डुबेका कारण चोटपटक हुँदैन । ‘पानीमा डुबेको शवमा घाउचोट छ, पानी बाहिर आक्रमण भएको वा अन्य कारणले चोटपटक लागेको हुन सक्छ,’ उनले भने, ‘व्यक्तिको पेटमा पानी भेटिएन भने पानीमै डुबेका कारण नभएर अरू कारणले मृत्यु हुन सक्छ ।’ घटनाको परिस्थितिअनुसार कारण भिन्नभिन्नै हुने भन्दै विस्तृत वस्तुस्थिति नबुझी कुनै घटनामा यसो भएको थियो भन्न नसकिने उनले बताए । आरोपपत्र हेर्दा पानीमा डुबेर मृत्यु भएको हुने सम्भवनालाई बल पुग्ने प्रमाणलाई महत्त्व दिइएको देखिन्छ । त्यसको एउटा आधार दसीप्रमाण हो ।

घटनाका घाइतेहरूको बयानअनुसार तीनवटा सामानले आक्रमण गरिएको थियो, लाठो, ढुंगा र घरेलु हँसिया । बयानअनुसार घटनास्थलमा दसीप्रमाण भेटेको भए त्यसलाई स्थापित गर्ने महत्त्वपूर्ण आधार बन्ने थियो । तर प्रहरीले घटनामा एउटा लाठोबाहेक केही पनि दसीप्रमाण भेट्न सकेन । हँसिया नै प्रयोग भएको भए कि त घटनास्थलमा भेटिन्थ्यो । नभए प्रमाण लुकाउन पखालेर घरमा राखेका हुन सक्थे । प्रहरीले प्रमाण जुटाउन आरोपितहरूको घरमा खानतलासी पनि गर्न नसकेको रुकुम पश्चिमका एक कानुन व्यवसायीले बताए ।

‘प्रहरीको अनुसन्धान प्रणाली बयानमुखीभन्दा भौतिक प्रमाणमुखी हुनुपर्छ । विशेषत: कर्तव्य ज्यान मुद्दामा बयानले मात्र मात्र पुग्दैन,’ पीडितका तर्फबाट बहस गरिरहेका अधिवक्ता मोहन साशंकरले भने, ‘राज्य तहबाटै भौतिक प्रमाण कमजोर बनाउने चलखेल भयो ।’ मुचुल्कामा शवको वास्तविक वस्तुस्थिति नदेखिने र प्रतिवादीले स्विकारेको बयान तयार पारेर प्रशासनले पीडितको आक्रोशलाई शान्त पार्न खोजेको उनको आरोप छ ।

आरोप स्वीकार : यथार्थ वा बनावटी ?

प्रहरीसँगको बयानमा रुकुम पश्चिमको चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्लबाहेक सबैजसो प्रतिवादीले ती युवालाई मारेर भेरीमा बगाएको स्विकारेका छन् । आक्रमण परी ज्यान जोगाएका घाइतेहरूले पनि नदी किनारसम्म नवराजको समूहलाई नदेखकाले उनीहरूलाई घेरा हाली मारेर नदीमा बगाएको बताउँदै आएका छन् । प्रहरीमा गरेको बयान अदालतमा अधिकारप्राप्त अधिकारीसम्म पुग्दा नफेरिए त्यो महत्त्वपूर्ण प्रमाण बन्छ । प्रहरीमा गरेको बयान फेर्ने सुरुवात घटनामा जोडिएकी ती किशोरीबाट भएको देखिन्छ । घटनामा आफ्नो बाबुआमाको नाम जोडेकी उनले अदालतमा भने त्यसको इन्कार गरेकी थिइन् ।

आरोपित सबैको बयान र घाइतेको विवरण हुबहु मिल्छ । के सबै आरोपितले हुबहु कसुर स्वीकार गरे त ? ‘कि त प्रहरीले बल प्रयोग गरेर बयान लिएको हुनुपर्छ, होइन भने अर्को आश्चर्य भयो,’ पीडितका तर्फबाट मुद्दा हेरिरहेका एक कानुन व्यवसायीले भने, ‘हुबहु कसुर स्विकारेका छन् । त्यसलाई पुष्टि हुने दसीप्रमाणमा प्रहरी चुकेको छ । केन्द्रबाट निगरानी भए पनि अनुसन्धानमा पर्याप्त त्रुटि भेटिन्छन् ।’

पीडितको अविश्वास

पोस्टमार्टम र अन्य अनुसन्धान प्रक्रियामा प्रहरीले सुरुवातबाटै पीडितको विश्वास जित्न सकेको थिएन । नवराजको शव १० गते राति नै पहिचान भए पनि पीडित परिवार र स्थानीय अधिकारकर्मीले पोस्टमार्टम गर्न मानेनन् । प्रशासन र अन्य सरोकारवालाको दबाब र अनुरोधमा दुई दिनपछि मात्र पोस्टमार्टम भयो । नवराजभन्दा अगाडि टीकारामको पोस्टमार्टम भएको थियो ।

पीडितहरूले पोस्टमार्टम रिपोर्टको यथार्थ थाहा पाएपछि सोमबार जिल्ला अस्पताल जाजरकोटको गेटमा तोडफोड गरे भने शवगृहमा आगो लगाए । प्रहरीले ५ राउन्ड हवाई फायर गरेको थियो । मंगलबार पनि उनीहरूले प्रदर्शन गरेका छन् । सोती हत्याकाण्ड संघर्ष समितिले शवको वास्तविकता लुकाएर दोहोरो अर्थ लाग्ने रिपोर्ट दिएर आरोपितहरूलाई जोगाउन खेल भएको आशंका गरेको छ ।

३२ प्रतिवादीमध्ये ६ जनालाई क्रूरतापूर्वक ज्यान मारेको अभियोग लगाइएको छ । महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार आवेशप्रेरित रूपमा घटना भएको अर्थ लाग्ने गरी आरोपपत्रको तयारी गरिरहेको प्रहरीले पछि बाध्य भएर क्रूरतापूर्वक हत्या भएको भनी प्रतिवेदन तयार गरेको हो । तर कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त पन्त यो तथ्य स्वीकार गर्न चाहँदैनन् । ‘हामीले अनुसन्धानमा जे देखियो, त्यही आधारमा मुद्दा तयार पारेका हौं,’ उनले भने, ‘बाहिर आएका सबै कुराको जवाफ दिन प्रहरीले जरुरी ठानेको छैन ।’

आरोपपत्रका लागि कतिसम्म हतारो थियो भने प्रहरीले भिसेरा प्रतिवेदन र साइबर ब्युरोको विवरणसमेत पर्खेन । घटनाको अनुसन्धान गर्न प्रहरी हेडक्वार्टरबाट रुकुम पश्चिम खटाइएका एसएसपी पोषराज पोखरेलले हरेक कोणबाट केलाएर अनुसन्धान गरेको दाबी गरे । ‘हामीले थाहा पाएसम्म सबै काम गरेकै छौं । अभियोग बयानमुखीभन्दा अनुसन्धानमुखी छ,’ उनले भने । मुद्दा दर्ता गर्नुपर्ने समयसीमा सकिन लागेकाले दुईवटा प्रतिवेदन पछि पेस गर्ने तयारी भएको उनले बताए ।

के आधारमा आरोप ?

सामूहिक आक्रमण र झडपका घटनामा को–कसरी त्यसमा संलग्न थिए भनी केलाउनु अनुसन्धान अधिकृतको प्रमुख चुनौती हो । सोती घटनामा प्रहरीले घटनास्थलमा सामेल सबैमाथि एकमुष्ट आरोप लगाउँदै सजायको मागदाबी गरेको छ, तर कसको के भूमिका थियो, उनीहरू के कारणले घटनामा संलग्न भए, उनीहरूमाथि सजाय मागदाबी हुनुपर्ने आधार के हो भन्ने खुलाएको छैन ।

प्रमाण संकलनमा प्रहरी चुकेको तथ्य ती किशोरीमाथिको छुट्टै अभियोगपत्रबाट समेत खुल्छ । उनीमाथि हत्या, ज्यान मार्ने प्रयास अनि जातीय छुवाछूतको आरोपमा प्रहरीले मुद्दा चलाए पनि जातीय छुवाछूतको विषय पुष्टि हुनेबाहेकका प्रत्यक्ष प्रमाण प्रहरीले भेट्न सकेको छैन । ती किशोरीले नवराजलाई आफ्नो मोबाइलबाट म्यासेजमा ‘ठकुरीसँग कुरा गर्ने…’ भनी जातीय अपमानजनक म्यासेज पठाएको देखिन्छ । आरोपपत्रअनुसार, ‘देख्लास्,.. ड्याडी ममीलाई भन्दिन्छु’ भन्ने म्यासेज पठाएको देखिन्छ भनी आरोपपत्रमा उल्लेख गरिएको छ ।

प्रहरीले जाहेरी दरखास्तमा किशोरीको नाम पोलेको र जातीय अपमान हुने गरी आमाले गालीगलौज गर्दा सँगै रहेको भन्ने आधारमा मात्रै तीनवटा मुद्दा दायर गरेको हो । बयानअनुसार उनीहरूबीचको सम्बन्ध टुंगिइसकेको देखिन्छ । प्रहरीले यसै विषयलाई आधार बनाई मुद्दा चलाएको देखिन्छ । उनीहरूबीच सम्बन्ध टुंगिएकाले रिसइबी भएको र त्यही कारणले ती किशोरीले नवराजलगायतको हत्याको योजना बनाएको आरोपपत्रमा उल्लेख छ ।

प्रहरीको भूमिका कस्तो ?

कुनै पनि घटनामा सुरक्षाकर्मीले ज्यान जोखिममा परेका नागरिकको जीवनरक्षा पहिलो प्राथमिकतामा राखेको हुनुपर्छ । सोतीगाउँमा घटनास्थल पुगेको प्रहरीले घटनालाई आफ्नो नियन्त्रणमा लिन त सकेन नै, प्रमाण जोगाउनसमेत चुक्यो । त्यसमाथि चौरजहारी इलाका प्रहरी कार्यालय वडाध्यक्षको ‘आदेश’ मा चलिरहेको देखिन्छ ।

घटनास्थल पुगेर १२ घाइतेको उद्धार गरेको दाबी गरेको प्रहरीले घरेलु हतियारसहित जम्मा भएका आक्रमणकारी पक्राउ गर्न र प्रमाण संकलन गर्न सकेन । घटनास्थलमै चौरजहारी इलाकाका प्रहरी प्रमुख प्रहरी निरीक्षक धर्मसिंह विष्टले घाइते सामुन्ने वडाध्यक्षलाई देखेको भए पनि सामान्य सोधपुछसमेत गरेनन् । बरु आक्रमणकारी समूहले जसो–जसो भन्यो, प्रहरीले त्यही पत्याएको देखिन्छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी हुलुखोला जाजरकोटबाट पनि २ जना प्रहरी घटनास्थल नजिकको झोलुंगे पुलमा पुगेका थिए । ‘प्रहरी आए पनि साम्य पार्न केही पहल गरेनन्, सिटी फुकेर हेरिरहे,’ घाइते सरोज खड्काले भनेका थिए, ‘सोतीका गाउँलेले प्रहरीकै अगाडि हामीलाई कुट्न छाडेका थिएनन् ।’

प्रादेशिक प्रहरी कार्यालय स्रोतका अनुसार चौरजहारी प्रहरीले भीडलाई नियन्त्रणमा लिन नसकेको स्विकारेको छ । त्यत्रो घटनामा प्रहरीले स्थिति साम्य पार्न आफूले सक्नेजति काम नगरेको प्रत्यक्षदर्शीले बताएका थिए । आरोपपत्रमा अरू ‘जुनियर’ प्रहरीहरूलाई साक्षी बनाएकामा प्रहरी निरीक्षक विष्टसँग बयान वा मौकाको कागजसमेत गराइएको छैन । त्यत्रो ठूलो झडप देखेको प्रहरीले माथि गाउँदेखि नै नवराजको समूह लखेटिएको र कुटाइ खाएको थाहा पाएन । भेरीको भँगालोमा अलि बढी कुटाइ खाएकाहरूलाई मात्रै लिएर प्रहरीको गाडी चौरजहारीतिर गयो ।

अधिकारकर्मीहरूले विष्टसहित चौरजहारी इलाकाका प्रहरी अधिकारमाथि छानबिन हुनुपर्ने माग गरिरहेका छन् । तर उनीहरूमाथि आन्तरिक अनुसन्धान नहुने भएको छ । ‘प्रहरीको भूमिकामा समस्या छैन । खबर आउनेबित्तिकै प्रहरी घटनास्थल दौडेको छ,’ कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त पन्तले भने, ‘घटनास्थलमा सम्भव भएसम्मका प्रमाण राखेका छौं । नदीका किनारमा भएका ढुंगा संकलन गरेर त भएन, सबै ढुंगैढुंगा छन् । काल्पनिक प्रमाण त प्रहरीले राख्दैन ।’

पन्तले मान्छे कसरी जम्मा भए, कल डिटेल, पोलिग्राफ टेस्ट, देख्ने, जान्ने, सुन्ने सबै मान्छेको भनाइ प्रमाणका रूपमा राखेको दाबी गरे । यही अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित अन्य भेगमा काम गरिरहेका दक्ष अनुसन्धान अधिकृत र प्राविधिकलाई खटाइएको थियो । पन्तले भने, ‘प्रहरीले गहिरो अनुसन्धान गरेको छ ।’

Source – Kantipur Daily

प्रतिकृया दिनुहोस्