RaraNews

प्रकाशित : २०७७/३/२ गते
१०५५ पटक

गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले रुकुम पश्चिम चौरजहारी–८ सोतीमा छ जनाको ज्यान जाने गरी भएको घटना ‘क्रूर हत्या’ भएको निष्कर्ष निकालेको छ । समितिले घटनामा संलग्नमाथि जघन्य अपराध तथा जातीय छुवाछूत कसुरअन्तर्गत कानुनी कारबाहीको सिफारिससमेत गरेको छ ।
गृह मन्त्रालयले रुकुम पश्चिमको घटना छानबिनका लागि सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको थियो । सो समितिको प्रतिवेदनमा दुई वालिगसहित ३४ जनालाई हत्या घटनाको प्रतिवादी बनाएको छ ।

हत्या घटनाको विस्तृत छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाहीका लागि सिफारिससहितको प्रतिवेदन मन्त्रालयमा पेस गरिएको मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तैं, नेपाल प्रहरीले समेत प्रस्तुत जघन्य अपराध घटनाको छानबिन र अनुसन्धान गरी दोषी देखिएका डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, प्रेम ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्र मल्लसहित ३४ जनालाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरेको छ ।

सार्वजनिक पद धारण गरेको व्यक्ति जननिर्वाचित चौरजहारी नगरपालिका–८ का अध्यक्ष डम्बरबहादुर मल्लले टोपबहादुर मल्ल, मानबहादुर मल्ल र नेत्रबहादुर मल्ललगायतलाई फोन गरी कुटपिट गर्न युवा भेला पार्ने तथा चार किलोमिटर टाढा भागेका युवामाथि आक्रमण गर्न उत्प्रेरित गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

वडाध्यक्ष मल्लसहित १२ जनामाथि जातीय विभेद तथा छुवाछूत कसुर अनुसारको थप कानुनी कारबाहीको माग गरिएको छ । नवराज विककी प्रेमिका भनिएकी किशोरी नावालिग भएकाले परिचय गोप्य राखी ज्यान मार्ने उद्योगका साथै जातीय विभेद तथा छुवाछूत कसुरमा समेत कारबाहीको सिफारिस गरिएको छ ।

सो घटनामा संलग्न तुलाराम घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, भीम बुढा, डिल्ली घर्ती र शौरभ पुनः फरार भएकाले पक्राउका लागि जिल्ला अदालतबाट आवश्यक पुर्जी जारी भइसकेको छ । जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक रुकुम पश्चिम चौरजहारी–८ सोतीमा रहेकी प्रेमिका (केटी) भगाउन जाँदै गर्दा जेठ १० गते दिउँसो केटी पक्षले दलित भएकै कारण छ जना युवाको हत्या गरी भेरी नदीमा फालेको र कुटपिट गरी १२ जनालाई घाइते बनाएको समितिको प्रतिवेदनमा जनाइएको छ ।  

Source – Gorkhapatra

प्रतिकृया दिनुहोस्