RaraNews

प्रकाशित : २०७७/३/१ गते
९६८ पटक

समाजमा पुनःस्थापित गराउन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रशासनलाई निर्देशन दिएपछि पनि खोटाङका ७७ वर्षीय टंकप्रसाद आचार्य र उनको परिवारलाई अझै आफन्तले सामाजिक संस्कारमा वञ्चित गरिरहेका छन् ।

छुवाछुत हटाउन १८ जेठ ०७६ मा सदरमुकाम दिक्तेलमा जिल्ला समन्वय समितिले आयोजना गरेको सहभोजमा सहभागीपछि सामाजिक बहिष्कारमा परेका रूपाकोट मजुवावेसी नगरपालिका–१ कोलावारी टोलका वृद्ध टंकप्रसाद र उनको परिवारलाई सामाजिक पुनःस्थापना गराउन ४ भदौ ०७६ मा खोटाङ प्रशासनलाई ठाडो निर्देशन दिएका थिए ।

तर, मुख्यमन्त्रीले निर्देशन गरे पनि सोअनुसार प्रशासनले पुनःस्थापनाका लागि पहल नगर्दा टंकप्रसाद र उनको परिवारलाई अझै आफन्तले निरन्तर सामाजिक बहिष्कार गर्न छाडेका छैनन् ।

वृद्ध टंकप्रसादका अनुसार अझै आफन्तले जन्म, मृत्यु, पूजाआजा, बिहे, ब्रतबन्धलगायत कुनै पनि धार्मिक र सामाजिक संस्कारमा सहभागी हुनबाट वञ्चित गराइरहेका छन् । उनलाई कथित तल्लो जातिसँग बसेर खाएको र उनीहरूले ओढाएको सम्मान ग्रहण गरेर जात फालेको भन्दै समाजले अघोषित बहिष्कार गरिहेको छ । अझै उनलाई समाजमा आफन्त र छिमेकी कसैले पनि मरिमराउ, पूजाआजा र अन्य सामाजिक कार्यमा बोलाउँदैनन् र उनको घरमा कोही पनि आफन्त जाँदैनन् ।

सहभोज खाएकै कारण जात काढिएको भन्दै आफन्तले पटक–पटक छुवाछुतको व्यवहार गर्दै आएका टंकप्रसादलाई ३० जेठ २०७७ मा पनि मरिमराउ कार्जेमा सहभागी हुनबाट समाजले वञ्चित गराएको छ । उनी राजविराजमा मृत्यु भएका ४५ वर्षीय सोमप्रसादको मृत्यु संस्कारमा सहभागी हुन पुगेका थिए । तर, ४७ र ५५ वर्षीय झमप्रसाद आचार्यद्वय र ७० वर्षीय धनपति आचार्यको निर्देशनमा उनलाई मृत्यु संस्कारमा सहभागी हुन रोक लगाइएको हो । उनलाई समाजले कि सबै कार्जे जिम्मा लिन कि कार्जेस्थलमा जाँदै नजान चेतावनी दिँदै पुगेमा किरियापुत्रीलाई सेतो लुगा फुकाल्न लगाएर धान रोप्न पठाइदिन्छौ भन्दै सहभागिताबाट वञ्चित गराइएको थियो ।

दलितसँग खाएर जात फालेको व्यक्ति मृत्यु संस्कारमा सहभागी भए कार्जे गराउने पुरोहित र आफन्त कोही पनि सहभागी नहुने चेतावनी समाजले दिइरहेको छ ।

जातीय छुवाछुत हटाउन सरकारले आयोजना गरेको सहभोज कार्यक्रममा सहभागी हुँदा सामाजिक बहिष्कारमा परेपछि २९ साउनमा टंकप्रसाद न्याय खोज्दै एक नम्बर प्रदेश सभामा सांसदहरूलाई आफ्ना कुरा सुनाउन आएका थिए । सांसद राजन राई, उमिता बराइली, जसमाया गजमेरलगायतले टंकप्रसादमाथि जातीय विभेद र छुवाछुत गर्न संसद्मार्फत सरकारलाई आग्रह गरेका थिए ।

त्यसपछि ४ भदौ २०७६ मा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खोटाङका प्रमुख जिल्ला अधिकारीलाई फोनमार्फत टंकप्रसादलाई पुनःस्थापना गराउन ठाडो निर्देशन दिएका थिए । तर, मुख्यमन्त्रीको निर्देशनअनुसार प्रशासनले केही पनि पहल नगरको र आफूहरू अझै सामाजिक बहिष्कारमा परिरहेको वृद्ध टंकप्रसादले बताए ।

मुख्यमन्त्रीको निर्देशनपछि ५ पुस २०७६ मा गाउँमा आयोजना भएको सार्वजनिक भागवत पुराणमा पनि सहभागी हुनबाट पनि वञ्चित गराइएको थियो । न्याय खोज्दै मुख्यमन्त्री र सांसदहरूकोमा पुगेको भन्दै आफन्तहरूले खै तेरो मुख्यमन्त्री र सांसदहरूले के लछारपाटो लगाए भन्दै झन् चर्को विभेद गर्न थालेका छन् ।

जातीय विभेद र छुवाछुत अन्त्य गराउनका लागि सरकारले आयोजना गरेको सहभोज कार्यक्रममा सहभागी भएकै कारणले सामाजिक बहिष्कारमा परेका वृद्ध टंकप्र्रसादले दोषीलाई कानुनअनुसार कारबाही गरेर आफूलाई सम्मानपूर्वक समाजमा बस्न पाउने अधिकार सुनिश्चित गराउन माग गरेका छन् ।

www.janaaastha.com

प्रतिकृया दिनुहोस्