RaraNews

प्रकाशित : २०७७/२/३२ गते
९३२ पटक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । घटनाको छानबिनका लागि संघीय संसदले गठन गरेको सांसद देवेन्द्र पौडेल नेतृत्वको समितिसँगको छलफलमा प्रचण्डले सत्यतथ्य पत्ता लगाएर हदैसम्मको कारबाहीको सिफारिस गर्न समितिलाई आग्रह गरे ।

जनयुद्धको आधार इलाकामा भएको दुखत तथा अमानवीय घटनाले आफूलाई लज्जाबोध भएको बताउँदै प्रचण्डले छानबिन समितिलाई आफू र आफ्नो पार्टीले सम्पूर्ण सहयोग गर्ने बताए ।

पौडेल नेतृत्वको छानबिन समिति स्थलगत अध्ययनका लागि रुकुम जाँदैछ । जाजरकोटको भेरी नगरपालिका-४ का नवराज विक रुकुम चौरजहारी नगरपालिका-८ सोती गाउँकी एक मल्ल थरकी किशोरीसँग प्रेममा थिए।

विकले १९ जना साथीसहित केटी भगाउन खोजेपछि घटनाक्रमले विकसित रुप लिएको थियो। केटा पक्षले केटीले बोलाएपछि आफूहरु लिन आएको बताएका थिए। तर परिवार र गाउँलेले दलितलाई छोरी लिन नदिने भन्दै धपाएका मात्र नभई कुटपिट गरी हत्या गरेर भेरी नदीमा फालिदिएका थिए ।

केटी पक्षले भने लकडाउनको समयमा १९/२० जना आएर गाउँमा होहल्ला गरेका र गाउँलेहरुले सोधपुछ गर्दा भागदौड मच्चिएर घटना भएको दाबी गरेका छन्। घटनामा नवराजसहित ६ जनाको मृत्यु भएको थियो ।

घटनाबारे सत्य, तथ्य र निष्पक्ष छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिले घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिसकेको छ । घटनामा संलग्न रहेको आशंकामा १८ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सदनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगायतका दलले निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरेपछि सभामुख अग्नि सापकोटाले पौडेल नेतृत्वको समिति गठन गरेर ३० दिनभित्र सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका थिए ।

प्रतिकृया दिनुहोस्