RaraNews

प्रकाशित : २०७७/२/३१ गते
९४८ पटक

रुकुम पश्चिम — सदरमुकाम खलंगामा सोती घटनाको विरोधमा भव्य प्रदर्शन गरिएको छ । संयुक्त दलित अधिकार मञ्चको संयोजनमा भएको प्रदर्शनको क्रममा नाराबाजीसहित बजार परिक्रमा गरिएको थियो ।

‘सोती हत्याकाण्डमा मारिएकालाई सांस्कृतिक सहिद घोषणा गर’, ‘दोषीलाई कारबाही गर’, ‘विभेद गर्न पाइन्न, छुवाछुत बन्द गर’ लगायत नारा लगाउँदै ठूलो संख्यामा अधिकारकर्मी र स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।

कालिकास्थानबाट सुरु भएको प्रदर्शन पुष्पलालचोक, मुख्य बजार, जिल्ला प्रहरी, प्रशासन, समन्वय समितिको कार्यालय हुँदै पुन: कालिकास्थानमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनका लागि मुसीकोट नगरपालिकासहित त्रिवेणी, बाँफिकोट, सानीभेरी, चौरजहारीलगायत स्थानीय तहबाट मानिसहरु आएका थिए । पीडितले न्याय पाउनुपर्ने र दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै दवावस्वरुप प्रदर्शन गरिएको मञ्चका संयोजक उपेन्द्रलाल कामीले बताए । कथित माथिल्लो जातको भनिएकालाई प्रेम गर्नु नै अपराध हुने गरी भएको हत्याकाण्डको जति भर्त्सना गरे पनि कमै हुने उनको भनाइ छ ।

सदरमुकाम खलंगामा कांग्रेस र जनता समाजवादी पार्टीका भातृ संगठनले पनि दैनिक विरोधका कार्यक्रम गरिरहेका छन् । जेठ १० गते जाजरकोटबाट आएका युवामाथि चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयले आक्रमण गरेका थिए । आक्रमणबाट ६ युवाको ज्यान गएको छ भने १२ घाइते छन् । सोतीकी १७ वर्षीया किशोरीलाई बिहे गरेर लैजाने भन्दै जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु सोती आएको बेला आक्रमणमा परेका हुन् । घटनामा संलग्न भएको भन्दै चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित २८ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

प्रतिकृया दिनुहोस्