RaraNews

प्रकाशित : २०७७/२/३० गते
१०७५ पटक

पाल्पा : जिल्लाको रिब्दीकोट गाउँपालिका–८ फेकमा जनप्रतिनिधिमाथि नै जातीय विभेद भएको छ। वडाको नयाँ भवन शिलान्यास कार्यक्रममा दलित समुदायबाट प्रतिनिधित्व गरेकी जनप्रतिनिधि सुमित्रा हिताङ जातीय विभेदकाे सिकार भएकी हुन्।  बिहीबार बिहान ८ बजे भवनको शिलान्यासपछि टीका लगाइदिने क्रममा आफूमाथि जातीय विभेद भएको हिताङले बताइन्। भवन शिलान्यासमा पुरोहितको काम गरेका कुलप्रसाद उपाध्यायले सबैलाई टीका लगाइदिए पनि हिताङलाई भने लगाइदिएनन्। 

विशेष पूजाआजका साथ भवन शिलान्यास गरेर टीका लगाउने क्रममा सहभागी सबैलाई टीका लगाइदिएपछि पुराेहितले टीका राखिएको थाली भुइँमा राखेर आफैंले टीका लगाउन भनेका उनले बताइन्। ‘वरिपरि सबै कथित गैह्रदलित साथीहरू थिए। उनीहरू सबैलाई उपाध्याय आफैंले टीका लगाइदिनुभयो’, हिताङले भनिन्, ‘मलाई टीका लगाइदिने बेलामा टीका भएको थाली भुइँमा राखेर आफैं टीका लगाऊ भन्नुभयो। र उहाँ त्यहाँबाट निस्कनुभयो।’ आफूलाई उपाध्यायको व्यवहारले मन दुखेको र टीका नलगाई हिँडेको उनले प्रतिक्रिया दिइन्।  वडा जनप्रतिनिधि हिताङलाई वडाध्यक्षले कार्यक्रमको फोटो खिच्न भनेका थिए। उनले कार्यक्रम अवधिभर फोटो खिचिरहेकी थिइन्। सार्वजनिक स्थलमा जिम्मेवार पाटीको स्थानीय नेताबाट भएको जातीय विभेदले आफूलाई दुःख लागेको उनी बताउँछिन्।

समाज परिवर्तनका लागि भूमिका खेल्ने नेताले आफूलाई अपमानित गरेको उनकाे तर्क छ। न्यायका लागि सम्बन्धित निकायमा जाने हिताङले बताइन्। पुरोहित उपाध्यायले टीका नलगाइदिएको कुरा स्वीकार गरेका छन्। ‘मलाई हतार भएको थियो’, उनले भने, ‘सबैलाई टीका लगाउन भ्याइनँ, त्यसैले हिताङलाई टीका आफैं लगाउनु भनेर हिँडेको हुँ,’ उनले बताए।  तर याे नियतवश नभएको उपाध्यायले जिकिर गरेका छन्। ‘मेरो व्यवहारले उनको मन दुखेको रहेछ। म माफी माग्न चाहन्छु’, उनले भने, ‘आगामी दिनमा यस्तोे व्यवहार मबाट हुने छैन। एक पटकलाई माफ माग्न चाहन्छु, हतार भएकोले थाल भुइँमा राखेर हिंडेको हुँ,’ उपाध्यायले गल्ती स्विकार्दै भनेका छन्।  कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी, उपाध्यक्ष लक्ष्मी खनाल, वडाध्यक्ष नारायणबहादुर लामटांगेसहित अन्य जनप्रतिनिधि र स्थानीय उपस्थित थिए। सार्वजनिक स्थलमा भएको कार्यक्रममा दलित समुदायबाट प्रतिनिधित्व गरेकी जनप्रतिनिधिलाई जातीय विभेदकै आधारमा टीका नदिएका दोषीलाई कारबाही हुनुपर्ने वडाध्यक्ष लामटांगेले बताए। 

सार्वजनिक स्थल र स्थानीय सरकारले आयोजना गरेको कार्यक्रममा गरिएको जातीय विभेद सामाजिक अपराध भएको गाउँपालिका अध्यक्ष जिसीले बताए। घट्नाबारे बुझ्ने र पीडितको न्यायका लागि आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाए। पीडित हिताङले तत्काल कार्यक्रमस्थलमै नभनेको हुनाले घट्नाबारे आफूले थप बुझिरहेको जिसीले बताए। ‘पीडित र पीडक दुवैलाई एकै ठाउँ राखेर एकपटक सोध्ने छु’, उनले भने, ‘यदि पीडितलाई अन्याय नै भएको रहेछ भने न्यायको लागि सहयोग गर्ने छु।’ घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही हुनुपर्ने दलित अधिकारका लागि साझा अभियान पाल्पाका पूर्वअध्यक्ष तीर्थप्रसाद गौतमले बताए। उपाध्याय नेपाली कांग्रेसका वडा सभापति पनि हुन्। एक महिनाअघि जिल्लाको बगनासकाली गाउँपालिका १ चिर्तुङधारामा दलित समुदायकी महिलासँग विवाह गरेको भन्दै घरमा आमाको किरिया बस्न नदिएको घटना बाहिरिएको थियो। अन्तरजातीय विभेद गरेका ती जोडी बारीमा छाप्रो हालेर किरिया बस्नु परेको थियो।

Source – Thahakhabar 

प्रतिकृया दिनुहोस्