RaraNews

प्रकाशित : २०७७/२/२९ गते
१०२७ पटक

काठमाडौँ — लकडाउनलाई खुकुलो बनाउने मोडालिटीबारे सरकारले तयारी गरिरहेका बेला नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रतिनिधि जस भ्यान्डेलरले नेपालमा संक्रमित निकै बढ्न सक्ने बताएका छन् ।

उनले संक्रमितको संख्या कति पुग्न सक्छ भन्ने अनुमान गर्न नसक्ने उल्लेख गर्दै भने, ‘संकट सकिएको छैन, अझै बढी संक्रमित देखिन सक्छन् ।’ लकडाउनलाई निरन्तरता दिए पनि वा खुकुलो बनाए पनि संक्रमित बढिरहने उनको भनाइ छ ।

नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय प्रमुख भलेरी जुलियान्डसहित बुधबार सञ्चारकर्मीहरुसँगको भिडियो अन्तरक्रियामा भ्यान्डेलरले थपे, ‘यसका लागि मुख्य कुरा मास्क लगाउने, हात धुने र सामाजिक दुरी राख्ने कुरा नै महत्वपूर्ण हो । अब हामीले नयाँ तरिकाले बाँच्न सिक्नुपर्छ ।’

लामो समय लकडाउन हुँदा अर्थतन्त्रमा समेत प्रभाव पार्ने भएकोले अब स्वास्थ्य सुरक्षा र जनताको आर्थिक सुरक्षा दुवैलाई सँगसँगै लैजान सरकारलाई चुनौती रहेको उनले बताए । अहिलेको संकटको बेलामा नेपालमात्र होइन, नेपालभन्दा ३० गुणा बढी आम्दानी गर्ने मुलुकमा पनि उस्तै समस्या रहेको उनको भनाइ थियो ।

नेपालमा परीक्षण क्षमता र दायरा बढाउन पनि उनले सुझाव दिएका छन् । ‘त्यसका लागि मेसिन र किट किन्नेमात्र होइन, त्यसका लागि आवश्यक प्राविधिक मानवसाधन पनि आवश्यक हुन्छ । प्राविधिक ज्ञानबिना परीक्षणलाई अघि बढाउन सकिन्न,’ उनले भने । अन्य मुलुकमा जस्तै कोरोना भाइरसको संक्रमण नेपालमा समुदायभित्र फैलिनसकेको उनले बताए । ‘नेपालमा भारतबाट आएकाहरुमा संक्रमण देखिएको छ । उनीहरुलाई व्यवस्थित क्वारेन्टाइन र आइसोलेसनमा राख्नुपर्छ । उनीहरुसँग सम्पर्कमा आएका मान्छेहरुमा पनि टेस्ट गर्नुपर्छ,’ उनले भने, ‘नेपालमा अन्य मुलुकमा जस्तो बढी मृत्यु नहुनुमा युवाहरुमा देखिनुले हो । बढी उमेरकाहरु काममा निस्केका छैनन्, जसले गर्दा सम्पर्क भएको छैन । युवाहरुमा बढी देखिएका कारण मृत्यु दर कम भएको देखिन्छ ।’

नेपालमा अहिलेसम्म १५ जना मृत्यु भएको छ भने ४ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसको भ्याक्सिन निर्माणको सवालमा डब्लूएचओको सहकार्यमा काम गर्नुपर्ने उनले बताए । भ्याक्सिन आएपछि धनी र गरिब मुलुकबीचमा विभेद नहोस् भनेर डब्लूएचओले त्यहीअनुसार गृहकार्य गरिरहेको पनि उनले जानकारी दिए ।

नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय प्रमुख जुलियान्डले कोभिड–१९ ले स्वास्थ्य क्षेत्रमा मात्र नभएर सम्पूर्ण सामाजिक–आर्थिक क्षेत्रलाई असर पारेको बताइन् । उनले राष्ट्रसंघले सन् २०३० सम्ममा हासिल गर्ने गरी अघि बढाएको सहस्राब्दी विकास लक्ष्यलाई पनि कोरोनाले असर पारेको बताइन् ।

प्रतिकृया दिनुहोस्